जाजरकोट 'ख' मा नेपाली कांग्रेसका राजीवबिक्रम शाह निर्वाचित
जाजरकोट : जाजरकोट प्रदेशसभा 'ख' बाट नेपाली कांग्रेसका राजीवबिक्रम शाह निर्वाचित भएका छन्। शाहले एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५ सय १० मतको अन्तरले पराजित गरेका हुन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार शाहले १६ हजार ४० मत प्राप्त गरि विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समाजसेवा गर्दा गदै राजनीतिमा छिरेका शाहले २०७० सालको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका थिए।
तर २०७४ सालको निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र भएपछि बामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतसँग पराजित भएका थिए।
उनै प्रतिस्पर्धी बस्नेत यसपटक सारथी भएर शाह पुनः कमब्याक भएका हुन्। सुरुमा प्रतिनिधि सभामा चुनाव लड्ने इच्छा ब्यक्त गरेपनि गठबन्धनका भागमा माओवादीको भागमा परेको र बस्नेत उम्मेदवार भएपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य शाह ब्याक भएका थिए।
पुख्यौली थलो जाजरकोट भएपनि तीनपुस्तादेखि काठमाडौंमा बस्दै आएका शाह आफ्नो पुरानो थातथलोको सेवा गर्ने मनसायले समाजसेवा मार्फत जाजरकोट आएका थिए।
२०६६ सालमा महामारीका रूपमा फैलिएको झाडापखाला नियन्त्रणमा निजी खर्चमा हेलिकोप्टरमार्फत औषधी र डाक्टर लिएर हजारौं जाजरकोटवासीको ज्यान बचाएका थिए।
संकटको बेला सधै जिल्लावासीको सेवा गरेर जाजरकोटी जनता माझ लोकप्रिय छन्। कोभिड महामारीको बेला पनि शाहले प्रदेश अस्पताल सुर्खेतसहित विभिन्न अस्पताललाई एक करोड रुपैयाँभन्दा बढीका भेन्टिलेटरसहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।
प्रतिनिधिसभा सदस्य हुँदा राज्यबाट पाउने सेवा सुविधा आफूले नलिएर जाजरकोटका विपन्न बालबालिकाका अध्ययनमा खर्च गरेका थिए।
निजी लगानीमा जिल्लाको छेडागाड ५ बडाबनमा ५ करोड रुपैया लागतमा २५ शैयाको अस्पतालको पुर्वाधार समेत निर्माण गरेका छन्। सधै नागरिकको सुख दुःखमा साथ दिने नेता विजयी भएकोमा जिल्लावासी खुसी भएका छन्। उनले समग्र कर्णाली र जाजरकोटको विकास र समृद्धिमा आफूले काम गर्ने बताएका छन्।