नुवाकोट १ मा माओवादीका तामाङ विजयी
नुवाकोट : नुवाकोट क्षेत्र नम्बर १ मा सत्तारूढ दलका तर्फबाट माओवादीका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। पूर्वमन्त्रीसमेत रहेका तामाङले ६० हजार १९ मतमध्ये २६ हजार ५४८ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री मैनालीले २३ हजार चारसय ६३ मत पाए। बागमती प्रदेशसभाका पूर्व कृषि राज्यमन्त्रीसमेत रहेका मैनाली तामाङसँग तीनहजार ८५ मतले पराजित भए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महतले ६ हजार एकसय १३ मत पाए। राप्रपाका सुदर्शन सिटौलाले एकहजार ६ सय ११ मत पाए। माओवादी केन्द्रका नेता तामाङ दोस्रो पटक विजयी भएका हुन्।
उनी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेसका डा. रामशरण महतसँग पराजित भएका थिए। २०७४ सालमा भने बाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भए।