नुवाकोट- २ मा कांग्रेसका अर्जुननरसिंह केसी विजयी
नुवाकोट : नुवाकोट-२ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। केसीले २८ हजार एक सय ७ मत प्राप्त गर्दै विजयी भएका हुन्। केसीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले १६ हजार चारसय ७७ मत पाएका छन्।
२०७४ को निर्वाचनमा केसीलाई १० हजार पाँच सय ५७ मतले पराजित गरेको नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पांचसय ६१ मत पाएका छन्। राप्रपाका झनकवहादुर प्याकुरेलले एकहजार पाँच सय ७१ मत पाएका छन्। केसीको यो पाँचौ विजय हो।
उनी २०३८ सालमा सुर्यबहादुर थापा सरकारको स्वास्थ्य राज्यमन्त्री भएका थिए। उनी २०३८,२०४८,२०५१, २०७० र २०७९ को निर्वाचनमा विजयी भए। केसीले २०४३, २०६४ र २०७४ को निर्वाचनमा पराजित भएका थिए।
प्रतिनिधि सभा सदस्यमा विजय भएपछि केसीले संविधान, गणतन्त्र तथा देशको रक्षाका लागि आफ्नो अभियान जारी रहने बताए। उनले जनताको मागमा आधारित कार्य गर्नेसमेत प्रतिबद्धता दोहोर्याए।
चार प्रदेश सभा तथा दुई प्रतिनिधि सभा सबै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। नुवाकोट २ को प्रदेश सभा ख मा समेत सत्तारुढ दलकै उम्मेदवार कांग्रेसका बहादुरसिंह तामाङ विजयी भएका छन्। सो प्रदेश सभामा सत्तारुढ दलका तर्फवाट कांग्रेसका उम्मेदवार बहादुरसिंह लामाले १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयसिंह तामाङले नौहजार एकसय २४ मत पाए। राप्रपाका रणप्रसाद न्यौपानेले दुई हजार ६ सय ६५ मत पाए।
नुवाकोट १ क मा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवार राधिका तामाङ दोस्रो पटक विजयी भएकी छन्। प्रदेश सभामा माओवादी केन्द्रकी तामाङ १६ हजार एकसय ६९ मतका साथ विजय प्राप्त गरेकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीलकुमार खड्काले ११ हजार तीनसय ५७ मत पाएका छन्। राप्रपाका रामु पण्डितले एकहजार पाँचसय नौ मत पाएका छन्।
नुवाकोटको दुवै वटै क्षेत्रमा प्रत्यक्षतर्फको सबै परिणाम आइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ। प्रदेश र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना कार्य भइरहेको छ।