साढे १२ लाख वर्षअघिको ज्यूँदो इतिहास
यस वर्षको जनकपुरस्थित राम–जानकी विवाह महोत्सव र बालगुरु षडानन्दको जन्मजयन्ती मंसिर १२ गते सोमबार परेको छ। तपस्वीहरूको देश नेपालको पूर्वीक्षेत्रमा बालगुरु षडानन्दले देखाएको आदर्श कसैले बिर्सेका छैनन्। भनिन्छ, उनले अरुण नदी पार गर्दा केवल आफ्नो तपोवल खराउबाटै गरे। मार्ग शुक्ल पञ्चमीमा गरिने राम–सीताको भव्य विवाह महोत्सव लेखको आशय हो।
यो उत्सव हप्तादिन अघि नै सुरु हुन्छ। मंसिर महिना हर्ष, उल्लासको समय, धान भित्र्याउने, भकारी भर्ने बेला र खासगरी वैवाहिक गाँठो बलियो पार्ने समय पनि हो। भारतीय क्षेत्र अयोध्या र जनकपुरको सान्निध्य विवाह पञ्चमीको रहस्य हो। यद्यपि यी दुवै देशबीच सिमानाका विषयमा स्थायी समाधान ननिस्कनु दुःखद् पक्ष बनिआएको छ, अहिलेसम्म।
हाम्रा श्रुति (वेद)हरूले परमतत्त्व जीवात्मामा आराम तत्त्व लिएर हरप्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन्। भागवतमा भगवान्ले अहं सर्वेषु भुतेषु भन्नु भएको छ। यसको अर्थ हो, सबै प्राणीका अन्तरहृदयमा ईश्वरको बास हुन्छ। परमेश्वरका अनेक अवतारमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भ दिनका रूपमा स्मरण गरिन्छ। त्यसैले चैत्रशुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ। अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वयम्भूमनु एवं शतरूपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंग छन्। उनै रामसँग सीताको विवाह प्रसंग नै विवाह पञ्चमी हो, मार्गशुक्ल पञ्चमी !
संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट चर्चा गरेका छन्। यद्यपि वाल्मीकि सुरुमा एक व्याधा थिए। मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपश्वी साधकका रूपमा श्रीरामलाई लिइन्छ। उनका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको रूप लिएको हो। सबैै मानिसका लागि वेद सरल र सहज छैन। परन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा प्रस्तुत छ। हाम्रा भानुभक्त आचार्य यसका ज्वलन्त पात्र हुन्।
रामको गाथा गाइएको रामायण साहित्यको आधार हो, भनिन्छ। जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ, ऊ स्वयं कवि बनिहाल्छ। आज विश्वभर रामायण, महाभारत र गीताशास्त्रहरू चर्चित छन्। यी सम्पूर्ण भवरोगको औषधि हुन्। शोक, भय, चिन्ता, व्याकुलतामा परेकाको सही र शुद्ध औषधि तत्त्व भनेको रामायण पाठ, रामको स्मरण र मन्त्रोच्चारण, श्रीरामको कथा अवतार, उनका लीलाहरूको संकीर्तन हो। अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरूको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय वासनासमेत मोहित बन्न पुगे।
धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई भने रामनवमीको नामले पुकारिन्छ, चैत्रमासको। हरेक मानवका लागि गृहस्थ जीवन सुन्दर छन्। त्यसका लागि विवाहबन्धनमा बाँधिने गरिन्छ। मानव रूप लिई धर्ती अवतरित श्रीरामले वैदेही नगरी धनुषाधाम भनौं जनकपुरमा सीता अर्थात् धर्ती माता जानकीसँग विवाह गरेको दिन।
त्रेतायुग अर्थात् आजभन्दा साढे १२ लाख वर्षअघिको कुरो हो। जुन अहिलेसम्म ताजै छ। साताव्यापी कार्यक्रमको पहिलो दिन राम–सीताको झाँकीले नगर परिक्रमा गर्ने, दोस्रो दिन पहिले रामले सीतालाई पूmलबारीमा दर्शन दिएको स्मरणमा पूmलबारी लीला, तेस्रो दिन जनकको सर्तअनुसार धनुष यज्ञको आयोजना, चौथो दिन राम र सीताका अलग महन्तहरूले गर्ने तिलक महोत्सव, पाँचौं दिन विवाह मण्डप तयारी हुन्छ।
छैठौं दिन बाह्र बिघा क्षेत्रमा राम जानकीको डोलालाई स्वयंवरमा सरिक गराइँदै साँझ भव्य विवाहबन्धनमा बाँध्ने परम्परा छ। सातौं दिन जसलाई राम कलेवा भनिन्छ, जन्तीहरू बिदाइ गरिने, उपहार, कोसेली दिँदै उत्सवको समापन गरिने दिन। अयोध्याका राम र नेपालकी सीताको विवाह परम्पराले दुवै देशबीचको अकाट्य र बेजोड सम्बन्धको परिचय पनि दिन्छ। दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रत धर्म अर्धाङ्गिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ।
रामायण मानव जीवनको यथार्थपरक आस्था हो। व्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, ऐश आरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सबैलाई संस्मरण गराउँछ। राम बनवास जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा पनि हर्षित देखिन्नन््। जीवनका लागि योभन्दा ठूलो त्याग के पाइन्छ ? बाबुको वचनलाई रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजासमेत हुन्। सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हरमानवलाई अनुशासित बन्न प्रेरित गर्छ। गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ट र सर्वाेत्तम शास्त्र हो। यसका मूललेखक श्री शिव हुनुहुन्छ। भगवान् शिव नेपालभूमिकै हुनुहुन्छ ।