तीव्र गतिमा सवारी कुदाए कारबाही
काठमाडौं : तीव्र गतिमा सवारी चलाउनुहुन्छ छ ? होसियार। प्रहरीको फन्दामा पर्नुहोला। उपत्यका ट्राफिक कार्यालयले अबदेखि तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्न अभियान नै थालेको छ। मंसिर १५ देखि यस्ता चालकको सवारी अनुमतिपत्र नियन्त्रणमा लिने प्रहरीले जनाएको छ। यसका साथै एक घण्टा सचेतना कक्षा लिनु पर्नेछ। एक हजार जरिबाना लाग्नेछ।
ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार अहिलेसम्म मादक पदार्थ सेवन गरेर सवारी चलाउनेले मात्रै सचेतना कक्षा लिनुपर्ने अनिवार्य थियो। मंसिर १५ देखि तीव्र गतिमा सवारी चलाउनेले पनि सचेतना कक्षा लिनुपर्नेछ। भट्ट भन्छन्, ‘तीव्र गतिमा हुँदा सवारी अनियन्त्रित भई दुर्घटना हुने धेरै सम्भावना हुन्छ। ९० प्रतिशत मृत्यु नै हुन्छ। १० प्रतिशत घाइते हुन्छन्। यस्तो दुर्घटना कम गर्न तीव्र गतिप्रति कडा कारबाही सुरु गरेका हौं।’
एउटै कसुर पाँच पटक गरे लाइसेन्स निलम्बन
ट्राफिक महाशाखाको तथ्यांकअनुसार २०७८/०७९ मा उपत्यकामा १० हजार ४ सय २४ सवारी दुर्घटना भएका छन्। जसमध्ये ३ हजार ५ सय ४३ सवारी दुर्घटना तीव्र गतिकै कारण भएको छ। ५ हजार ७ सय ९७ सवारी चालक तीव्र गतिको कारण कारबाहीमा परेका छन्।
यस्तै २०७९/०८० सुरु भएपछि उपत्यकामा २ हजार ६ सय ५२ वटा सवारी दुर्घटना भएको छ। जसमध्ये ६ सय ४९ वटा दुर्घटना तीव्र गतिकै कारण भएको छ। यस्तै २०७७/०७८ मा ६ हजार ९ सय ३३, २०७८/७९ मा १८ हजार २ सय ४३ र २०७९/०८० मा ८ हजार ५ सय ८४ जना सवारी चालक तीव्रगति राडरगन कारबाहीमा परेका छन्।
ट्राफिक महाशाखाका अनुसार पाँच पटकसम्म्म एउटै कसुरमा कारबाही भएको सवारी चालकको सवारी लाइसेन्स निलम्बन गरिनेछ। २०७७÷०७८ देखि हालसम्म यस्तो कसुरमा उपत्यकामा १५ जना सवारी चालकको लाइसेन्स निलम्बनमा परेको छ। २०७८÷०७९ मा ३३ हजार ५ सय ९० जना सवारीचालक मापसे कारबाहीमा परेका छन्। यस्तै २०७९/०८० यता ९ सय ७ सय ९४ जना सवारी चालक मापसे कारबाहीमा परेका छन्।
ठक्कर दिएर भाग्ने सबै पक्राउ
उपत्यकामा ठक्कर दिएर भाग्ने प्रचलन बढिरहेको बताउँदै महाशाखा प्रवक्ता भट्ट भन्छन्, ‘यस्तो सबै केसलाई हामीले पक्राउ गर्न सफल भएका छौं। ट्राफिक प्रहरीको निगरानी र उत्कृष्ट अनुसन्धानले पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने सवारीसाधन समाउन सफल भएका छौं। महाशाखाका अनुसार २०७८/०७९ मा हिट एन्ड रन केसमा महाशाखामा २ सय ५८ वटा केस दर्ता भएका थिए। जसमध्ये १ सय ९० वटा केसमा मिलापत्र भएको थियो।
६८ केस अनुसन्धानमा छ। २०७९/०८० सुरु भएपछि हिट एन्ड रनका ९३ केस महाशाखामा दर्ता भए। जसमध्ये ४६ केसमा मिलापत्र भयो। ४७ केसमा अनुसन्धान भइरहेको छ। यसका साथै ट्राफिक महाशाखाले चर्को आवाज निकाल्ने सवारीसाधनविरुद्ध कारबाही सुरु गरेको छ।
तोकिएको मापदण्डभन्दा बढी ध्वनि निकाल्ने सवारीसाधनलाई १० हजारसम्म जरिबाना हुनेछ। सवारीसाधनको स्वरूप परिवर्तन गरेर चलाउनेलाई पनि कारबाही हुनेछ। यस्तो गर्नेलाई ७५ सय रुपैयाँसम्म जरिबाना हुनेछ। दर्ता बिना चलाएका इलेक्ट्रिक सवारीसाधन र ईरिक्सालाई पनि कारबाही हुनेछ।