परिवारभित्रै कुटुम्ब संसार
डोल्पाको काइके गाउँपालिका क्षेत्रमा मगर जातिहरू बस्छन्। यिनीहरू काइके र पोहोक्के (तिचुरोङ) भाषा बोल्छन् र मामा–चेली, फुपू–चेला विवाह गर्छन्। यहाँका मगरहरूले मामा–चेली, फुपू–चेला विवाह गर्दा दोहोरो रूपले गर्छन्। मामाको छोराले फुपूको छोरी पनि विवाह गर्न सक्छन् र फुपूको छोराले पनि मामाको छोरी विवाह गर्न सक्छन्। यो परम्परा उनीहरूमा धेरै पहिलेदेखि नै चल्दै आएको उनीहरूको दाबी छ।
डोल्पाली मगरहरूमा एउटै वंशज चेली र माइतीका सन्तानबीच मुख–जुठा मिसाउने चलन पनि छ। कुनै परिस्थिति आयो भने एकै वशजका सबै सन्तानले एउटै प्लेटको भात, मासु आदि खान सक्छन्। एउटै बटुकाको जाँड÷रक्सी सबैले खान सक्छन्। फलानाको जुठो खानु हुन्न भन्ने बार उनीहरूमा हुन्न। यसरी मुखजुठा मिल्ने आफ्नै वंशजभित्रकासँग मात्र कुटुम्ब गर्नुपर्छ भन्ने उनीहरूको मान्यता पनि छ। जसभित्र मामा–चेली र फुपू–चेलाका सन्तान पर्छन्।
यसरी मुखजुठा चल्ने मामा र फुपूका सन्तानभित्रमात्र कुटुम्ब चलाउने परम्परा छ। त्यसैले परम्परा धान्न डोल्पाली मगरभित्रका बुवा–आमाले छोरा–छोरीहरूलाई सकेसम्म आफ्नै मामा–फुपूका सन्तानसँगमात्र विवाह गर्न इच्छा राख्छन्। बाध्यकारी बनाउँछन्। कसैले मामा–फुपूका सन्तानबाहेक मुखजुठा नचल्ने गाउँका अरू मगरहरू अथवा छिमेकी कुनै समुदायकासँग विवाह गरे भने आफ्नो परम्परा भंग गरेको भन्दै त्यस्ता व्यक्ति र तिनीहरूबाट जन्मेका सन्तानलाई समेत उनीहरूले अलिक हेयको दृष्टिले हेर्छन्।
गाउँमा तिनीहरूलाई अलिक भिन्न रूपमा हेर्छन्। पछि तिनीहरूलाई कुटुम्ब पाउन पनि गाह्रो हुन्छ। कुटुम्ब गर्नु प¥यो भने त्यसरी नै आफ्नो वंशज (मामा र फुपूका सन्तान)भन्दा बाहिर विवाह गरी जन्माएका सन्तानसँगै गर्नुपर्ने हुन्छ। यी कारणले गर्दा पनि डोल्पाली यी मगरहरूले सकेसम्म आफ्नै मामा–फुपूका सन्तानसँगमात्र विवाह गर्न खोजेका हुन्। एकादुई बाहेक उनीहरूले अहिलेसम्म यसरी नै मात्र विवाह गर्दै आएका छन्।
कुनै कुनै युवकयुवतीले वंशजभन्दा बाहिरको अरू समुदायकालाई मन पराएका भए पनि परम्परा भंग हुने डरले तिनीहरूसँग विवाह गर्न सकेका छैनन्। गाउँदेखि बाहिर काठमाडौंतिर गएर बसेका एकादुईले विवाह गरेका भए पनि सामाजिक रूपमा केही हेयको दृष्टिले हेरिने भएकाले तिनीहरू आफ्नो गाउँ डोल्पा गएर बस्न सकेका छैनन्। खानी गाउँ (डोल्पा) का रामबहादुर मगरले पाँचथरको लिम्बुनी विवाह गरेका छन्। उनीहरू अहिले काठमाडौंमै बस्छन्, डोल्पा गएका छैनन्। गाउँमा अरू पनि कसैले यसरी नै मामा र फुपूका सन्तानभन्दा बाहिरकासँग विवाह गरे भने सामाजिक कारण तिनीहरूले पनि गाउँ छाड्न बाध्य हुनुपर्छ। किनभने बाहिरकासँग विवाह गरेर बसेका मगरहरू डोल्पाको काइके गाउँपालिका क्षेत्रभित्र भेटिएकाद छैनन्।
मामा–फुपूका सन्तानमात्र यसरी विवाह गर्ने चलनले डोल्पाका कुनैकुनै मगरलाई चाहिँ केही नकारात्मक असर पनि परेको देखिएको छ। गाउँमा सामाजिक अपहेलित हुन डरले डोल्पाको एउटा मगर घरमा आफ्नो छोरीलाई उसैको मामाको छोरासँग विवाह गरी दिए। तर पछि त्यस छोरीको वैवाहिक सम्बन्ध राम्रो भएन। मामाको छोरासँग उनी बसिनन्। त्यसपछि परिवारभित्र ती छोरीको बुवा–आमा र फुपू–मामाको सम्बन्ध बिग्रियो। अहिलेसम्म पनि उनीहरूको पारिवारिक सम्बन्ध राम्रो छैन। यस्ता घटना डोल्पाली मगरभित्र अरू पनि भेटिएको छ।
कुनै पुरुषले चाहिँ बुवा–आमाकै दबाबले मामाको छोरी विवाह गरेको तर पछि उनीहरूको वैवाहिक सम्बन्ध राम्रो नभई तिनीहरू अलगअलग बसेका र सामाजिक अपहेलित हुने डरले अर्को विवाह पनि नगरेका घटना पनि छन्। यस्ता कुराले डोल्पाली यी मगरभित्र नयाँ पुस्ताले समेत आफैंले रोजेकासँग खुलेर विवाह गर्न सकिरहेका छ्रैनन्।
डोल्पाका यी मगरमा कहिलेकाहीँ संयोगले कुनै घर–परिवारभित्र दाजु र बहिनीले एउटै समयमा सन्तान जन्माए भने दाजुको छोरा जन्मियो र बहिनीले छोरी जन्माइन् भने कुनै कुनै दाजुहरूले त्यसैबेला नै बहिनीको छोरीलाई पछि बुहारी बनाउन बहिनीसँग सर्त राख्छन्। त्यसैगरी डोल्पाबाट काठमाडौं आएर बसेका केही सम्पन्न डोल्पाली मगरहरूले चाहिँ दिदी–बहिनीको छोरीलाई सानैदेखि आफ्नो घरमा राखेर हुर्काउने, पढाउने र पछि उसैलाई बुहारी बनाउने गरेका पनि भेटिएको छ।
कसलाई पछि ज्वाइँ अथवा बुहारी बनाउने भन्ने कुरा उनीहरूमा प्रायः अगाडि नै थाहा भइसक्छ। यसरी हुनेवाला बुहारी (भान्जी) अथवा ज्वाइँ (भान्जा) लाई सानैदेखि घरमा राखेर पढाउने गरेका हुन्। यसरी पढाइयो भने पाएको शिक्षा पछि आफ्नै घरका लागि काम लाग्न सक्छ भन्ने मान्यता उनीहरूमा देखिन्छ।
अर्को मान्यता के पनि भेटिन्छ भने आफ्नै भान्जीलाई यसरी हुर्काई, पढाइपछि घरको बुहारी बनाइयो भने उसले घरको आफ्नो सासू–ससुरा (फुपू–मामा) लाई धेरै माया गर्ने, फुपू र मामा वृद्ध–वृद्धा भएको बेला राम्ररी स्याहार–सुसार गर्ने आधार हुन्छ भन्ने मान्यता। यस्तै फुपू–मामाले पनि ती भान्जी (बुहारी) लाई धेरै माया गरेर पारिवारिक सम्बन्ध राम्रो बनाउने मान्यता छ। बाहिरी नाताभन्दा आफ्नै वंशज (रगत) को नाताले धेरै माया गर्ने उनीहरूको विश्वास पनि छ।
साइनो चाहिँ मामालाई उनीहरूले मामा नै भन्छन् र फुपूलाई पनि फुपू नै भन्छन, सासू–ससुरा भन्दैनन्। त्यसैगरी भान्जीलाई भान्जी नै भन्छन, बुहारी भन्दैनन्। भान्जालाई पनि भान्जा नै भन्छन्, ज्वाइँ भन्दैनन्। त्यसकारण डोल्पाली मगरहरूमा सासू–ससुरा र बुहारी–ज्वाइँ शब्द त्यति प्रयोग हुँदैन। मामा–भान्जा र फुपू–भदैनी शब्द मात्रै धेरै प्रयोग हुन्छ। कसैले मामा र भान्जाको साइनो बताए भने तिनीहरू कुटुम्ब चल्ने नाताहरू हुन् भनेर बुझ्नु पर्छ।
यी डोल्पाली मगरहरू छोराको विवाह गर्नलाई निजी मामा–फुपूको छोरी थिएन भने दाजुभाइतर्फको मामा–फुपूको छोरीसँग पनि विवाह गरिदिन सक्छन्। कुनै घरमा छोरीमात्र भए भने मामा–फुपूको एउटा छोरालाई घर–ज्वाइँ ल्याएर राख्छन्। हुन त नेपालका केही समुदायमा चाहिँ यसरी घर–ज्वाइँ बस्न जाने पुरुषहरूलाई अलिक हेयको दृष्टिले हेर्ने चलन पनि छ। त्यस्ता पुरुषलाई उनीहरूले जोइटिङ्ग्रे, भतुवा आदि उपनाम दिने गरेका भेटिन्छ।
डोल्पाका मगरहरूमा भने यस्तो छैन, बरु छोरा नभएको घरमा घर–ज्वाइँ बसेर ससुराली घर–व्यवहार सम्हाल्नु, आफ्नो फुपू–मामा (सासू–ससुरा) को स्याहारसुसार गर्नु आदि उनीहरूले कर्तव्यको रूपमा बुझ्छन्। खासगरी सासू–ससुरा पनि आफ्नै फुपू र मामा नै हुने भएकाले पनि उनीहरूले यसरी ससुराली घरमा घर–ज्वाइँ बसी आफ्नो सासू–ससुरा (फुपू र मामा) को स्याहारसुसार गर्नुलाई कर्तव्य ठान्छन्।
जसले गर्दा डोल्पाली यी मगरभित्र परिवारमा छोरा भएन भने घरै भताभुंग भई जाने, छोरा नहुनुलाई दैविक श्राप भएको सम्झिने र छोरा नभएका कुनै बुवा–आमाले बुढेसकालमा स्याहार नपाएर दुःख पाउने हुन्छ। तर, यस्ता घटना चाहिँ कमै मात्र हुन्छन्। छोरा पाउनकै लागि एउटा पुरुषले एकभन्दा बढी महिला विवाह गरेको पनि भेटिएको छैन। यी सबै घर–ज्वाइँ बस्ने परम्परा भएकाले पनि हुन सक्छ। तर के चाहिँ हो भने यसरी घर–ज्वाइँ ल्याएर राख्ने सर्तमा गरेको विवाहमा लाग्ने खर्च चाहिँ सबै बेहुली पक्षकाले नै बेहोर्नु पर्ने हुन्छ। डोल्पाली मगरहरूमा घरज्वाइँ गएर बस्ने पुरुषहरू आजभोलि पनि धेरै भेटिन्छन्।
डोल्पाका मगरहरू छोरा र छोरी दुवै भएन भने चाहिँ धर्म–पुत्र, धर्म–पुत्री पाल्ने गर्छन्। धर्म–पुत्र पनि उनीहरूले आफ्नो दाजु–भाइ र दिदी–बहिनीका छोरा–छोरी नै पालेका भेटिन्छ। कुनै सन्तान नभएका दम्पतीमध्ये श्रीमान्ले आफ्नो दाजु अथवा भाइको एउटा छोरा अथवा छोरी ल्याएर पाल्छन्। श्रीमतीले पनि दिदी अथवा बहिनीको छोरा अथवा छोरी ल्याएर पाल्छिन्। पछि तिनीहरूको विवाह गरिदिन्छन्। घरको सम्पत्तिको हकदार पनि तिनीहरूलाई नै बनाउँछन्।
काइके गाउँपालिका (डोल्पा) क्षेत्रभित्रका मगरहरूले अहिलेसम्म पनि यसरी नै मामा–चेली, फुपू–चेला विवाह मात्रै धेरै गर्दै आएका देखिन्छ। यस्तो विवाहले उनीहरूमा केही वैयक्तिक अधिकार हनन् भएको र सामाजिक कुरीतिहरू सिर्जना गरेको देखिन्छ। तर पनि यसले उनीहरूभित्रका पारिवारिक तथा सामाजिक संरचनालाई बलियो बनाउन र सामाजिक सद्भाव कायम राख्न पनि ठूलो मद्दत मिलेको देखिन्छ। एकै वंशज सन्तानबीच मात्र विवाह हुने भएकाले वंशज शुद्धता हुने, घरको पुख्र्यौली सम्पत्ति पनि आफ्नै वंशज सन्तानले मात्रै उपभोग गर्ने हुन्छ। परिवारभित्र आवश्यकताअनुसार आर्थिकलगायत कुरामा राम्रो सर–सहयोग हुने भएकाले जीवन चलाउन पनि केही सहज हुने देखिन्छ।