जगद्जननी जानकी
जगद्जननी जानकीको जन्मभूमि जनकपुर मिथिलाको प्राचीन राजधानीको रूपमा विश्वविख्यात छ। राजर्षि जनकले यसलाई आफ्नो राजधानी बनाएका थिए। यहाँ नै जगद्जननी जानकी र साकेत नगरीका राजकुमार रामचन्द्रको शुभविवाह सम्पन्न भएको थियो। मार्ग शुक्लपक्षको पञ्चमी तिथिमा भएको उक्त विवाहलाई हामी विवाह पञ्चमी भन्छौं। यस पवित्र दिनमा जनकपुरमा ठूलो मेला लाग्छ। मिथिलावासीमात्र होइन, देशका विभिन्न भागबाट धार्मिक प्राणीहरू सीताको
दर्शन गर्न आउने गर्दछन्। छिमेकी राष्ट्र भारतबाट पनि धेरै धर्मपरायण मान्छे प्रतिवर्ष यस अवसरमा पदार्पण गर्दछन्। सीताको दर्शन गरेर आफूलाई धन्य ठान्दछन्। तर, दुःखको कुरो के छ भने आज जनकपुर उपेक्षित भएको छ किनभने सीताको जन्म वैशाख शुक्ल नवमीको पावन अवसरमा भए पनि जानकी नवमी धेरै उत्साह र उमंगका साथ मनाइँदैन। जानकीको जन्मको बारेमा देश विदेशमा अनेक किंवदन्ती प्रचलित छन्। यो सर्वसम्मत भइसक्यो कि उनको जन्म जनकपुरमा नै भएको थियो। वेद, पुराण र उपनिषद्को अनुसार पनि जानकीको जन्म जनकपुरमा भएको कुरो प्रमाणित भइसकेको छ।
महाविष्णु पुराणको अनुसार राजर्षि जनकले आफ्नो राजधानी जनकपुरको सीमाभन्दा तीन योजन टाढा एउटा निश्चित स्थानमा यज्ञादि गरेर हलो चलाएको कुरो र त्यस क्रममा जानकीको जन्म हुन गएको कुरो उल्लेखित भएको पाइन्छ। उनको जन्म हुनासाथ सम्पूर्ण मिथिलाञ्चल धनधान्यले परिपूर्ण भएको तथ्य प्रमाणित भइसकेको छ। उनको जन्म हुुनुभन्दा पहिला मिथिलाञ्चलमा भयंकर अनिकाल परेको थियो। जनता त्राहिमाम थिए। अनिकालको अभिशापबाट सम्पूर्ण मिथिलाञ्चल ग्रस्त थियो। उनको जन्मले गर्दा अनिकालबाट त्राण पाइयो र सम्पूर्ण मिथिलाञ्चलमा खुसीको खबर फैलिएको थियो। राजर्षि जनकसहित सम्पूर्ण राजपरिवार हर्षित भएको थियो।
अनिकाल सकालमा परिवर्तित भएको थियो। उनको जन्मभूमिको गर्भबाट भएकाले उनको एउटा नामअयोनिजा पनि रहेछ। हुन त जानकीका अनेक नाम छन् जस्तो मैथिली जनकतनया, वैदेही, सीता भूमिजा, जगद्जननी र जगदम्बा आदि। महाकवि तुलसीदासका अनुसार जगद्जननी जानकी यस सृष्टिलाई उत्पन्न गर्ने, पालन गर्ने र संहार गर्ने मात्र होइन, अपितु सबै किसिमको कल्याण गर्ने अपार शक्ति हुन् यथा–
‘उद्भव स्थिति कारिणी कलेश हारिणिम्
सर्वश्रे स्करी सीता हंनतो क्हं रामबल्लमाम्।’
अर्को मिथक के हो भने मिथिलाञ्चलमा राक्षसहरूले ऋषिहरूको हत्या गरेर उनीहरूको रगत एउटा घैंटोमा जम्मा गरेर जमिनमुनि गाडेका थिए। राजर्षि जनक जब हलो जोत्न लागेका थिए हलोको आघातले त्यो घैंटो फुट्यो। त्यसबाट एउटी भव्य, दिव्य, अनुपम र अपेतिम बालिकाको आविर्भाव भयो र उनको जन्मले त्यस क्षेत्रमा खुसीको वातावरण छायो।
सर्वप्रथम उनको आविर्भावको बारेमा उल्लेख पाइन्छ बाल्मीकि रामायणमा। उनलाई जनकानांले जातो भनिएको छ। पद्म पुराणमा सीताको पितालाई ‘शिरध्वज’ भनिएको छ। ‘उत्तररामचरित्र’ मा भवभूति महाकविले ‘शिरध्वज’ शब्दको प्रयोग जनकको पर्यायवाची शब्दको रूपमा गरेका छन्। यसबाट के प्रष्टिन्छ भने त्यस बखतसम्म सीता जनकपुत्रीको रूपमा विख्यात भइसकेकी थिइन्। महाकवि कालीदासले आफ्नो ‘रघुवंश’ महाकाव्यमा पनि सीतालाई दैवी रूपमा प्रतिष्ठापित गरेका छन्।
नारददेखि आदिकवि बाल्मीकि, व्यास, पराशर, भवभूति, कालीदास, भट्ट कवि आदि अनेक कविहरूले सीताको कथालाई लिपिबद्ध गरेका छन्। जैन साहित्य र बौद्ध साहित्यमा पनि सीताको आविर्भावको कथा लेखिएको पाइन्छ। प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’ मा पनि सीताको कथा लेखिएको पाइन्छ। भारत र नेपालमा मात्र होइन, तिब्बत, चीन, बर्मा, श्याम (थाइल्यान्ड), मलाया, जावा, सिंहल (श्रीलंका) आदि देशहरूमा पनि सीताका विभिन्न कथा लेखिएका पाइन्छन्।
‘अध्यात्म रामायणमा’ सीतालाई मूल प्रकृतिको संज्ञाबाट विभूषित गरिएको छ। ‘स्कन्द पुराण’ मा ब्रह्मविद्याको साक्षात् अवतार सीतालाई भनिएको छ। संस्कृत काव्यमा सीताको चरित्रका अनेक विशेषताहरूको उल्लेख पाइन्छ। महाकवि कालीदासले आफ्नो महाकाव्य ‘रघुवंश’मा सीतालाई रामचन्द्रकी आदर्श पत्नीको रूपमा रूपायित गरेका छन्। कालीदासले उनलाई अयोनिजा त भनेकै छन्।
आठौं शताब्दीमा रचित ‘कुमार दास’ कृति ‘जानकी हरण’ काव्यमा सर्वप्रथम उनको जीवनको कारुणिक पक्षको उद्घाटन गरिएको पाइन्छ। अभिनव गुप्तकृत ‘रामचरित’ क्षेमेन्द्र कृत ‘रामायण मञ्जरी’ आदि काव्यहरूमा सीताको चरित्रलाई पौराणिक परम्पराअनुसार नै अभिव्यक्त गरिएको पाइन्छ। सत्रौं शताब्दीमा रचित ‘जानकी परिणय’मा उनलाई अत्यन्त रूपवती महालक्ष्मी स्वरूपमा चित्रित गरिएको छ।
भासकृत ‘प्रतिमा’ ‘अभिषेक’ नाटकहरूमा सीतालाई साक्षात् लक्ष्मीको रूपमा चित्रित गरिएको छ। अग्नि परीक्षाको समयमा स्वयं अग्नि देवता प्रकट भएर सीतालाई ‘इमां भगवती लक्ष्मी’ भनेर सम्बोधन गरेका थिए। सीताको कारुणिक जीवनको सबैभन्दा प्रभावशाली चित्र भवभूतिले ‘उत्तर रामचरित’मा गरेका छन्। ‘हनुमन्नाटक’मा सीता स्वयंवर ‘रामसीता विवाह’ र ‘सीताहरण’मा सीताको अप्रतिम र अलौकिक सौन्दर्यको वर्णन पाइन्छ।
महाकवि तुलसीदासले आफ्नो ‘रामचरित मानस महाकाव्यमा’ सीतालाई आदर्श पत्नीको रूपमा चित्रित गर्नु भएको छ। तुलसीदास त सीताको रूपवर्णन गर्दै उनलाई माता, अम्बा र जगद्जननीको रूपमा वर्णन गर्दै थाक्नु भएको छैन। एउटा उदाहरण प्रस्तुत छ–
‘सुन्दरता कहुँ सुन्दर करई। छवि गृह दीपशिखा जनु बरई।’
‘सब उपमा कवि रहै जुठारी। केही पट तरौं विदेह कुमारी।’
नारददेखि आदिकवि बाल्मीकि, व्यास, पराशर, भवभूति, कालीदास, भट्ट कवि आदि अनेक कविहरूले सीताको कथालाई लिपिबद्ध गरेका छन्। जैन साहित्य र बौद्ध साहित्यमा पनि सीताको आविर्भावको कथा लेखिएको पाइन्छ। प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’ मा पनि सीताको कथा लेखिएको पाइन्छ। भारत र नेपालमा मात्र होइन, तिब्बत, चीन, बर्मा, श्याम (थाईल्यान्ड), मलाया, जावा, सिंहल (श्रीलंका) आदि देशहरूमा पनि सीताका विभिन्न कथा लेखिएका पाइन्छन्।
कम्बोडियाको पुस्तक र ‘रआमकेर’ (रामकीर्ति) का अनुसार सीता राजर्षि जनकले हलो चलाउने बेलामा होइन, बाल्की यमुना नदीमा डुंगा चलाउने बेलामा प्राप्त भएको कथा उल्लेख गरिएको पाइन्छ। प्राप्त बालिकाको श्वेत रंग भएको कारणले उनलाई श्वेता भनियो। प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’मा सीताको उत्पत्ति जनककी पत्नी सुनैनाको काखबाट भएको पाइन्छ। यसका लेखक हुन्, विमल सुरी। कालिका पुराणमा पनि जनककी एक पुत्रीको वर्णन पाइन्छ। ‘आनन्द पुराण’ मा सीतालाई अग्निकुण्डबाट उत्पन्न भएको बर्णन छ।
राजा जनकको हलेष्टि यज्ञमा अग्निशिखाको सदृश्य ‘जगद्जननी’ जानकीको प्रादुर्भाव भयो। जसको वर्णन बाल्मीकि रामायणको उत्तर काण्डमा यसरी वर्णन गरिएको पाइन्छ।
‘एवमेषा महाभागा मत्र्येषुत्पत्स्यतते पुनः
क्षेत्रे हलमुखोत्कृष्टे वेदया मग्निशिखोयमा।’
यस प्रकार जगद्जननी जानकी सत्ययुगमा ब्रह्मर्षि कुशध्वजकी पुत्रीको रूपमा प्रकट भएको पाइन्छ भने त्रेतायुगमा दुराचारी र अत्याचारी रावणको हत्या गर्नका लागि मिथिलेश ‘शिरध्वज’ जनकको घरमा सीताको रूपमा आविर्भूत भइन्। मैथिली भाषाका महाकवि चन्दा झाले मिथिला भाषा रामायण’मा भूमि शुद्ध गर्नका लागि राजर्षि जनकले स्वयं हलो जोत्ने बेलामा सीताको अवतरण भएकाले उनलाई सीता नामबाट अभिहित गरियो यथा–
‘भूमि विशुद्धि यज्ञ करवाक।
नृपतिहुँ काँ भेल हर थरबाक
देखला ततय हम जोतइत भूमि
बहराइलि कन्याकाँ ब धुमी
हरक अग्रसँ उखरलि जानी
सीतानाम अर्थ सँ भामी।’
(बाल काण्ड : मिथिला भाषा रामायण)
सीता मैथिली संस्कृतिको सुरसरिता थिइन्। उनी सती शिरोमणि थिइन्। आज पनि उनको जीवन चरित्र अनुकरणीय, वन्दनीय, स्मरणीय र पूजनीय मानिन्छ। उनी महिलोचित गुणबाट परिपूर्ण थिइन्। आज पनि सम्पूर्ण मिथिलाञ्चलका महिलाहरू उनको पवित्र चरित्रको अनुशरण गरेर आफूलाई धन्य–धन्य ठान्छन् र आफ्नो जीवनलाई कृत्य–कृत्य सम्झन्छन्। भनिन्छ, सीताले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन्। जबकि राधाले दाम्पत्य जीवनको सुखसयलका लागि लोककल्याणलाई बेवास्ता गरेकी थिइन्। यसबाट के प्रमाणित हुन्छ भने सीताको जीवन अनुकरणीय एवं उदाहरणीय हुन गएको छ।
सती शिरोमणि सीता वैशाख शक्ल नवमी तिथिमा यस बसुन्धरामा आविर्भूत भएकी थिइन्। अतः यस पुण्य तिथिलाई जानकी नवमी पनि भनिन्छ। यो सुखद स्वर्गीय संयोग नै भन्न सकिन्छ कि मर्यादा पुरुषोत्तम रामचन्द्रको आविर्भाव चैत्र शुक्ल नवमीको तिथिमा भएको थियो। यस तिथिलाई मिथिलावासी धेरै महत्त्वपूर्ण ठान्छन्। यस पावन अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलका मठ–मन्दिरमा मानिसको घुइँचो लाग्छ।
अन्त्यमा राष्ट्रकवि माधव घिमिरेले जगद्जननी जानकीप्रति गरेको काव्याञ्जलि :
जन्मिन यहीँ जानकी।
मञ्जरी जस्तै जानकी।
मोण्डवी, कीर्ति, उर्मिला।
बहिनी बाल चञ्चला।
लावण्यमयी जानकी।
गहँु र गोरो जानकी।
अर्पित भइन् राममा।
यही हो मेरो मिथिला।
धरती शस्य श्यामला।’
त्यस्तै भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरले आफ्नो काव्याञ्जलि प्रस्तुत गर्नु भएको निम्नलिखित पंक्तिहरूमा यस्तो अभिव्यक्त भएको पाइन्छ। यथा–
‘तिमी सोध, अवधसित राम कहाँ ?
वृन्दा बोल, घनश्याम कहाँ ?
ओ मगध, कहाँ मेरो अशोक ?
भन चन्द्रगुप्त बलधाम कहाँ ?
खुट्टामा नै परेकी छिन्
मिथिला भिखारणी सुकुमारी
तिमी सोध, कहाँ यसले हराइन्
आफ्नो अनन्त निधि सबै
ओ कपिलवस्तु भन्न बुद्धदेवका
ती मंगल उपदेश कहाँ ?
तिब्बत, इरान, जापान, चीन
सम्म पुगेको सन्देश कहाँ ?
वैशालीको भग्नावशेषसित
सोध, लिच्छवि शान कहाँ ?
ओ उदास गण्डकी बताऊ
विद्यापतिको गान कहाँ ?’