बन्धनबाट मुक्ति

बन्धनबाट मुक्ति

गीत, कविता, कथा, उपन्यास, संस्मरणसहित साहित्यका विभिन्न विधामा कलम चलाउन सफल एक परिचित नारी स्रष्टाको नाम हो, रुकु कार्की। छोटै समयमा नै रुकुको साहित्यिक यात्राले विविध विधा र फाँटमा पहिचान पाइसकेको छ। उनको सोह्रौं कृतिका रूपमा प्रकाशित भएको पुस्तकको नाम हो बन्धनबाट मुक्ति। यो पुस्तक साझा प्रकाशनबाट प्रकाशित भएको थियो। 

प्रस्तुत पुस्तक रुकुको आत्मकथाको प्रकाशन हो। यो कुरा पुस्तकभित्र मूल पाठभन्दा अगाडि समावेश भएको संस्मरणको दोस्रो बिसौनीमा शीर्षकको लेखनीमा पोखिएका छन् यसरी। ‘मेरो मनको अन्तस्करणमा जमेको अथाह पीडा एवं आघातलाई सबै सामु पोखेर अलिकति हलुका हुन चाहें।’ उनी जीवन बाँच्ने क्रममा आफूले भोगेका, देखेका, सुनेका विभिन्न घटनालाई जस्ताको तस्तै पुस्तकमा उतार्न सफल भएकी छन्। 

मनको भाव तथा अनुभूतिहरूलाई स्वतन्त्र रूपमा लेखिएको यो आत्मकथाले प्रत्येक पाठकको मनमा हलचल उत्पन्न गराउँछ। 

आत्मकथा संग्रहमा ३९ वटा आलेख रहेका छन्। ती विभिन्न शीर्षकले एउटी नारीको जीवनमा घटेका दुःख पीडा र छटपटीको वर्णन गर्नुका साथै नारी जीवनको यथार्थ चित्रण गरेको छ। लेखकले आफ्नो मनको अन्तस्करणमा जमेको अथाह पीडा एवं आघातलाई पाठकमाझ पोख्न सक्नु चानचुने कुरा होइन, यति धेरै आँट र साहसकी धनी साहित्यकार रुकुको जति प्रशंसा गरे पनि कम नै हुन्छ। 

अन्धकारले छपक्कै छोपेको त्यो समयमा अनेकौं कुसंस्कारहरू अगाडि थिए। जातीय विभेदको जरो आफ्नै घर आँगनमा गाडिएको थियो। आफ्नी आमालाई जात नमिलेको निहुँमा हेप्दा उनलाई असह्य पीडा हुन्थ्यो। सहनशीलताकी मूर्ति झंै आमालाई एक ठाउँमा उनी यसरी सम्झिन्छिन्ः आमा घरमा प्रवेश भएदेखि पीडापूर्ण क्षण बोकेर एक किसिमको बन्दी जीवन बिताइरहनु भयो धेरै वर्ष। आँगनमा तान लगाएर आमाले गुन्द्री बुन्दा, तानसँगै आमाको मनका छालहरू पनि बुनिन्थे, घरी कस्तै र घरी फुकाउँदै। गुन्द्री बुने जस्तै गरेर म पनि आमाको आँसुका कविताहरू बुन्थें, गीतहरू शब्दमा उतार्थें। भाव र भावनामा आमाका चित्रहरू कोर्र्थें। 

हाम्रो समाजलाई हजारौं वर्षदेखि जातभात, छुवाछूतजस्तो जातिय विभेदको साङ्लोले बाँधेर राखिएको छ। बिस्तारै बिस्तारै त्यसका जराहरू फुक्लँदै छन्। अन्याय र अत्याचारविरुद्ध नारी आवाजहरू बुलन्द हुँदैछन्। रुकुजस्तो अत्याचार सहेर बस्ने नारी आजका दिनमा नभेटिन सक्छन्। किताब पढिसकेपछि पनि मैले कहिल्यै नदेखेकी साहित्यकार रुकुलाई बेस्सरी सम्झिरहेँ धेरै दिनसम्म। मैले आफ्नी छोरीलाई यो किताबका आधाजसो लेखहरू सुनाएँ। ऊ छक्क परी। कति ऊर्जावान् नारी, उहाँले चाहे जति पढ्न पाउनु भएको भए कस्तो हुन्थ्यो होला...यो समाजले उहाँलाई अन्याय ग¥यो यस्तै यस्तै कुराहरू ऊ बोलिरही धेरै बेरसम्म। मैले तुलना गरेँ हिजोकी रुकु कार्की र आजकी मेरी छोरीबीच। 

सामन्ती संस्कारको प्रभाव ज्यादै कडा थियो ती दिनहरूमा। नियम र मर्यादाविरुद्ध घरमा कान्छीश्रीमती भित्र्याउँथे लोग्नेहरू। यस्ता विधि–व्यवहार र ढोङ नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएका विकृति हुन्। कुरीतिको जरो गाडिएका समाजमा महिलाहरूले दोस्रो दर्जाको नागरिक भएर बस्नु पथ्र्याे। यी सबै न्यून चेतना, शिक्षाको कमी, परम्परागत कुसंस्कारका परिणाम थिए। 

पहाडी गाउँको मध्यमवर्गीय परिवारमा जन्मिए पनि अभावै अभावमा हुर्किएकी रुकुलाई उच्च शिक्षा हासिल गर्ने ठूलो रहर थियो। सात कक्षासम्म गजुरीमा पढेर उनी दाजुहरूसँग काठमाडौंमा बसेर पढाइलाई निरन्तरता दिइन्। गजुरीमा हाइस्कुल खुलेपछि उनी फेरि गाउँ फर्केर नौ र दस पहिले पढेको पुरानै स्कुलमा अध्ययन गरिन्। प्रवेशिका उत्तीर्ण गरेपछि उनलाई आर्थिक अवस्था, धर्म, नीति र संस्कारका बाध्यताले छोराहरू सरह काठमाडौं पठाएर उच्च शिक्षा अध्ययन गराउन नसकिने कुरा भयो। पढाइ अगाडि बढाउन नपाएपछि उनले गाउँकै स्कुलमा दुई वर्ष अध्यापन गरिन्। उनले अनेक दुःखकष्ट गर्दै प्राइभेट परीक्षा दिएर आई.कम. पास गरिन्। त्यसपछि उनको पढ्ने तीव्र इच्छा अधुरो नै रह्यो। आमा बुवाले छानेको केटोसँग उनको विवाह भयो। 

विवाहको बन्धन शीर्षकको संस्मरणमा उनी लेख्छिन्, विवाह गरेर घर लगेपछि श्रीमान् एक रात पनि सँगै नबसिकन पैसा कमाउन हिँडे। यसरी नवदुलहीलाई सासू ससुरा र जेठानीका साथ, त्यो नयाँ घरमा नचिनेका मान्छेसँग बस्नुप¥यो। तीन महिना बिताएपछि बल्ल श्रीमान् राम्रोसँग देखें। यो कुरा पढ्दा रुकुको सोझोपनको फाइदा त्यो घरका मानिसले उठाएको स्पष्ट हुन्छ। एकातिर कहाली लगाउने प्राकृतिक प्रकोपबाट प्रभावित भएको समाज, विकास न्यून, त्यसमा पनि आर्थिक शोषणग्रस्त कठोर बुहार्तन सँगसँगै पुरुषवर्गीय हेपाइ र दमन। 

खासगरी जेठाजु र सासू, ससुराका अत्यन्त नीच र दम्भपूर्ण व्यवहारको सन्दर्भमा उनी लेख्छिन्ः तत्कालीन समाजमा सासू, ससुरा र जेठाजुले भनेको कुरा कानुनजस्तो हुने गथ्र्यो। पारिवारिक कलह, अशिक्षा, आर्थिक चेतनाको कमी र फितलो नियम—कानुनसँगै धेरै कुरा गम्भीर समस्याका रूपमा थिए। सामन्ती सोच भएका जेठाजु र ससुराले निरंकुश शासन चलाउँथे घरमा। परिवारमा वचनका तिखा काँडाले घोचिएर, असह्य वेदनाले थिचिएर घरको टोकसो सहँदै उनी बाँचेकी थिइन्। रातभरि रुन्थ्यो मेरो मन, त्यसैले मलाई रात प्यारो लाग्छ। घरमा काम गर्ने भण्डारीलाई जनावरलाई जस्तो व्यवहार हुन्थ्यो। हाम्रो खेतीपातीमा खट्ने भण्डारी घर गृहस्थीको भार धान्दै आएको थियो। ऊ पनि मान्छे हो भन्ने कुरा कसैले सोच्दैनथे। मन जति आक्रान्त भए पनि, जति उच्छवास र तड्पन भए पनि ऊ आफ्नो विवशता कसैलाई भन्दैनथ्यो। 

एकरात सबै मस्त निद्रामा परेका बेला घरबाट हिँडेको भण्डारी फेरि कहिल्यै फर्केर आएन। 

बन्धनबाट मुक्ति पुस्तकको नाम उनको यो पुस्तक पढेपछि साँच्चै मिलेको जस्तो लाग्छ। उनी त्यो दुःखैदुःखको पहाडजस्तो जीवनबाट मुक्ति खोजी रहन्छिन् तर झन् बन्धनमा अल्झिन्छिन्। एकदिन माइतीको सम्झनाले सताउँदा नजिकै रहेकी फुपू भेट्न जान्छिन् उनी। उनलाई घरबाट बाहिर कतै जाने अनुमति थिएन। एक प्रकारको कैदीजस्तो जीवन थियो उनको। एकदिन छोरो बोकेर सुटुक्क फुपू भेटेर आएकी उनलाई जेठाजुले पुसको ठिहि¥याउने चिसो रातमा घरबाट बाहिर निकाल्छन्। उनी रुँदै छोरो बोकेर बाहिर बसिरहन्छिन्। अत्याचारको पराकाष्ठा भनेको शायद यही नै होला। 

यसरी बाँच्नुको के अर्थ छ र ? उनलाई उनकै मनले बेलाबेलामा प्रश्न गथ्र्याे। मन रुन्थ्यो भक्कानिएर। शरीरमा करेन्ट लागेझैँ झन्झनाइरहन्थ्यो भित्रभित्रै। उनी भन्छिन्, अव्यक्त पीडामा सोचमग्न थिएँ। मन र आँखाबाट सारा जिन्दगीका पीडा गुजुल्टिएर गाँठो परे। हीनताबोधले दपेटो। के गरेर जिन्दगी बिताउने ? जिन्दगीको लामो यात्रामा म किन एक्ली भएँ ? खै त मेरो अस्तित्व ? मनमा अनेक हुन्डरी चलिरहे। 

कहाँ जाऊँ, कुन बाटो समाऊँ ? आफ्नो गन्तव्य आफैंलाई थाहा भएन। प्रत्येक दिन दुःख, प्रत्येक क्षण दुःख मात्र हुँदा उनको मन उडेर आफ्नो जन्मस्थान गजुरी पुग्थ्यो। आफ्नो बितेको समयलाई फर्केर हेर्दा, हरेक बिहान पहेंलो घामको किरणमा त्रिशूलीपारि भालडाँडा र कुम्पुरको टुप्पोमा घामको प्रतिबिम्ब झलमल्ल हुन्थ्यो। गोधूलि उठिरहँदा धरती रक्तिम देखिन्थ्यो। अहिले पनि मनमा त्यही कुम्पुर र भालडाँडा घुमिरहन्छन्। आँखाभरि पीपलटार, माझीटार र कुम्पुर माथिको देउराली भन्ज्याङ जीवन्त भएर उभिइरहन्छन्। घर–आँगनमा साथीहरूसँग खेलेको, कुदेको मथिंगलको क्यानभासमा सजिएका छन्। बाल्यकालको हरेक क्षण सम्झिँदा सगरमाथा चढेको अनुभूति हुन्छ। एकैछिनमा उचाइ छोएजस्तो, शिखर चुमेजस्तो। 

यो पुस्तकमा एउटी सोझी नारीको सत्यकथालाई जस्ताको तस्तै उतारिएको छ। पढ्दा पढ्दै १६ वर्षको उमेरमा पतिको घरमा अप्रत्याशित प्रवेश अनि बुहार्तन, घर गृहस्थी, कष्ट र कठोर संघर्षबीच हुने यातनाको मार्मिक चित्रण छ। साथै सामूहिक परिवारबाट छुट्टिएपछिको व्यापार व्यवसायको संघर्ष पनि उत्तिकै रोचक छ। काठमाडौंमा घर बनाउँदाको कथाका साथै आफ्ना छोराहरू अमेरिका प्रस्थान गरेर उतै सेटल भएकोसम्म प्रसंगहरू यो आत्मकथाको संग्रहमा समेटिएको छ। माइती धादिङको गजुरीदेखि घर मकवानपुरसम्मको सामाजिक, आर्थिक, जातीय तथा स्थानीय समाजको सेरोफेरोलाई पुस्तकमा चित्ताकर्षक पारामा चित्रण गरिएको छ। 

मुख्यतः यो पुस्तक नेपाली ग्रामीण समाजमा रहेका समग्र नारीको कथा हो भन्दा फरक पर्दैन जस्तो लाग्छ मलाई। नढाँटी भन्नु पर्दा मैले यस्ता मनै भरंग बनाउने दुःखका कथाहरू आजसम्म पढेकै रहिनछु। मलाई यो किताब पढेर सक्न धेरै समय लाग्यो। अलिकति पढ्यो, अनि किताबको पाना पट्याएर रोयो, भोलिपल्ट अलिकति पढ्यो, फेरि रोयो। दिदी रुकुको किताबले मेरा धेरै आँसु लुट्यो। किताबमा भएका ती दुःख दिने पात्रहरू सम्झेर म आजसम्म रिसले चुरचुर छु। मरिजाने मानव चोला थाहा हुँदाहुँदै त यो अत्याचार छ भने मान्छेको मृत्यु नै नहुने हो भने के सम्म हुन्थ्यो होला...। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.