बारामा विरासत जोगाउन नसक्ने उम्मेदवार

बारामा विरासत जोगाउन नसक्ने उम्मेदवार

सिमराः प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चयनका लागि मंसिर ४ गते भएको प्रत्यक्षतर्फको निर्वाचनको अन्तिम मत परिणाम आईसकेको छ । 

बाराको चार निर्वाचन क्षेत्रमध्ये दुई सिटमा नेकपा एमाले जित्दा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले एक/एक सिट जितेका छन् । 

प्रदेशसभातर्फको नजितामा पनि एमाले अगाडी देखिएको छ । आठ प्रदेशसभा मध्ये चार सिटमा एमाले, दुई सिटमा जसपा, एक सिटमा लोसपा र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 
२०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दुई सिट मात्रै जितेको एमालेले यसपटक १२ सिटमध्ये ६ सिट हात पारेको छ । एमालेले उत्साहजनक नतिजा ल्याउदै गर्दा अघिल्लो पटक बाराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदले आफ्नो विरासत जोगाउन भने सकेनन् ।
 
प्रतिनिधिसभातर्फ बाराको चार वटै निर्वाचन क्षेत्रमा २०७४ सालमा निर्वाचित सबै सांसद यसपटक पनि उम्मेदवार रहेका थिए । बारा १ मा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी, बारा २ मा जसपाबाट रामसहाय यादव, बारा ३ मा जसपाबाट रामबाबुकुमार यादव र बारा ४ मा नेकपा एमालेबाट एकवाल मियाँ दोहोरिएर उम्मेदवार बनेका थिए । 

जसमध्ये बारा २ का उम्मेदवार यादव मात्रै निर्वाचित भए । दोहोरिएर आएका अन्य तीन उम्मेदवार आफ्नो बिरासत जोगाउन असफल देखिए । 

बारा १ मा नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री चौधरी फराकिलो मतान्तरले पराजित भए । अघिल्लो पटकको निर्वाचनमा बिजय प्राप्त गर्दा प्रतिस्पर्धी रहेका अच्युत मैनालीसंग यसपटक उनले हार व्यहोरे । 

एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज मैनालीसंग नौ हजार एक सय ३९ मतको फराकिलो मतान्तरले चौधरी पराजित भएका छन् । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले तीस हजार ५६ मत पाएका छन् । 

बारा क्षेत्र नं. ३ मा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका यादव यसपटक पराजित भए । नेकपा एमालेका उम्मेदवार अध्यानन्द पाण्डेलाई पराजित गरेका यादव यसपटक एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज साहसंग यादव दुई हजार नौ सय ८२ मतले पराजित भए । 

बाराबाट प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने एक मात्रै महिलाको रुपमा निर्वाचित हुने क्रममा साहले २० हजार दुई सय ५२ मत प्राप्त गरिन् । जसपाका यादवले भने १७ हजार दुई सय ६९ मत पाएका छन् । 

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बारा ३(१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साह नेकपा विभाजनपछि एमालेमै बसेकी थिइन् । साहले एमाले रोजेपछि माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो । 

प्रदेशसभा सदस्य पद त्यागेर एमालेसंगको यात्रा अघि बढाएकी साह यसबीचमा मन्त्री समेत बनेकी थिईन् । 

बारा क्षेत्र नं. ४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल लोसपा) बाट निर्वाचित भएका एकवाल मियाँ यसपटक एमालेबाट उम्मेदवार रहेका थिए । उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन लोसपा त्यागेर एमाले प्रवेश गरेका मियाँले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । 

२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार देवनारायण चौधरीलाई पराजित गर्दै सांसद बनेका मियाँ यसपटक भने फराकिलो मतले पराजित भए । उनलाई नेकपा एकिकृत समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठले पराजित गरे । 

अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद श्रेष्ठ यसपटक बारा आएका थिए । मियाँ र श्रेष्ठ दुवै पूर्वमन्त्री हुन् । 

श्रेष्ठले मियालाई नौ हजार नौ सय ८१ मतले पराजित गरेका हुन् । श्रेष्ठले तीस हजार दुई सय ५६ मत प्राप्त गर्दा मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । फराकिलो मतान्तरले पराजित भएका मियाँले पनि यस क्षेत्रमा आफ्नो विरासत जोगाउन असफल देखिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.