मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित
इलाम: इलामको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यतर्फको मत गणना स्थगित भएको छ ।
मतगणना अन्तिम समय पुगेका बेला मतदान अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै मतगणना स्थगित भएको हो । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा मतदान अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।
अब इलाम- २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका छन् ।
पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन् । बाँकी रहेको इनपा-१ साँखेजुङको मत गणना हुँदै गर्दा यो विवाद आएको हो ।
मत गणना स्थगित भएपछि मत गणनास्थल गौतमबुद्ध सभागृह (सीटी हल)को सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै उम्मेदवारका समर्थकले अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।