पुनरागमनको आसमा जर्मनी

पुनरागमनको आसमा जर्मनी

दोहा : कतार विश्वकपको पहिलो खेलमा जापानसँग अप्रत्यासित हार बेहोरेको जर्मनी उत्कृष्ट पुनरागमनको आशमा छ। तर, युरोपेली प्रतिद्वन्द्वी स्पेनविरुद्धको चुनौती उसका लागि पक्कै सहज भने हुने छैन। पुनरागमनलाई प्रमुख हतियार बनाएको जर्मनीलाई अल बायत रंगशालामा स्पेनले पर्खिरहेको छ। पहिलो खेलमा कोस्टारिकाविरुद्ध ७–० को फराकिलो जित निकालेको स्पेन त्यही लय कायम राख्ने अभियानमा छ।

स्पेनविरुद्धको पराजयले चार पटकको विश्व विजेतालाई लगातार दोस्रो पटक विश्वपको समूह चरणबाट बाहिरिने खतरा बढ्न सक्छ। यसबारे जर्मनी जानकार र सचेत छ। सन् २०१४ को उपाधि विजेता जर्मनी सन् २०१८ मा समूह चरणबाटै बाहिरिएको थियो। त्यतिबेला सन् १९३८ पछि पहिलो पटक जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो। चार वर्षअघि यो शताब्दीकै खराब नतिजाको सामना गरेको जर्मनी कतारमा सचेत छ।
त्यति मात्रै होइन, स्पेनविरुद्ध पराजित भए जर्मनीले विश्वकपमा पहिलो पटक लगातार तीन खेलमा पराजय बेहोर्ने छ। यसअघिका विश्वकपमा जर्मनीले समूह चरणमा लगातार दुई खेलमा हार बेहोरेको छैन। त्यसैले स्पेनविरुद्ध पराजित भएमा विगतको इतिहास र जारी विश्वकपको यात्रामा पनि ठूलो आघात पुग्नेमा जर्मनी सतर्क छ।

यसको दबाबमा मुख्य प्रशिक्षक हान्सी फिलिक परिसकेका छन्। त्यसैले आइतबार रातिको खेलअघि खेलाडीलाई ‘हामी सफल हुने छौं’ भन्ने विश्वास दिलाउन तल्लिन छन्। ‘दबाबबाट कसरी उत्रिने भन्ने कुरा टिम वा टिमका जोकोही सदस्यले पनि बुझ्न सक्नु पर्छ’, उनले भनेका छन्, ‘त्यसैले यो टिमसँग अझै क्षमता छ। तर, त्यो उनीहरूले बाहिर देखाउन मात्रै सकेका छैनन्। हामीसँग राम्रो क्षमता छ भन्नेमा म विश्वस्त छु। त्यही कारण स्पेनविरुद्धको खेलमा पनि सकारात्मक सोचसहित मैदान उत्रिने छौं। हारप्रति हामी सचेत हुनुपर्छ। तर, हाम्रो लक्ष्य आइतबार अंक हासिल गरेर अवस्था सुदृढ पार्नु नै हो।’

फिलिकको विश्वासका बाबजुद स्पेनले कस्तो खेल खेल्छ भन्ने जर्मनीलाई राम्रोसँग थाहा छ। मुख्य प्रशिक्षक लुइस इनरिके आफ्नो टिमबाट कस्तो प्रदर्शन चाहन्छन् भन्ने पनि खुलस्त छ। स्पेनले कोस्टारिकाविरुद्ध ८१.९ प्रतिशत बल पोसेसन राखेको थियो। त्यसक्रममा ९० मिनेटमा स्पेनले नौ सय ७६ पास खेलेको थियो। 

स्पेनले त्यो खेलमा सन् १९६६ को विश्वकप यताका संस्करणमा सर्वाधिक बल पोसेसन राख्ने कीर्तिमान पनि बनाएको थियो। यसअघि अर्जेन्टिनाले सन् २०१० को विश्वकपमा  ग्रिसविरुद्ध ८०.३ प्रतिशत बलमाथि पक्कड राखेको थियो। कोस्टारिकाविरुद्ध स्पनेले विश्वकपमा सर्वाधिक ठूलो जित निकालेको थियो। उच्च मनोबल लिएर मैदानमा उत्रिने तयारीमा रहेका स्पेनको जर्मनीविरुद्ध पछिल्ला भेट सकारात्मक छन्। जर्मनीविरुद्धका सातमध्ये एक खेलमा मात्रै स्पेन पराजित भएको छ।

यद्यपि, स्पेनले सन् २००६ पछि विश्वकपका कुनै पनि संस्करणमा सुरुवाती दुई खेल जित्न सकेको छैन। यो स्पेनको युवा टिम हो। प्रशिक्षकको मार्गनिर्देशनबाट परिपक्व र लामो अनुभव बोेकेका खेलाडी पनि इनरिकेको टिममा छन्। 

टिमको सकारात्मक पक्ष नै अनुभवी र युवा खेलाडीबीचको सन्तुलन भएको रोड्री बताउँछन्। ‘हामी लामो समयदेखि राम्रो खेलिरहेका छौं। यो सत्य हो। त्यसको नतिजा पनि देखिँदैछ’, उनले भने, ‘पछिल्लो समय फुटबलमा समानता छ। तर, हाम्रो प्रदर्शन कोस्टारिकाविरुद्ध उत्कृष्ट थियो। रक्षात्मक र आक्रामण पनि संगठित रह्यो। हामीले गरेको गोल पनि प्रदर्शनकै परिणाम थियो। त्यो टिमको संगठित प्रदर्शनको फल हो।’


प्रभाव पार्न सक्ने खेलाडी 

पेड्री 
(स्पेन)
कोस्टारिकाविरुद्ध करिब एक घण्टा खेलेका पेड्रीलाई इनरिकेले दोस्रो हाफमा निकालेका थिए। तर, त्यति समय नै उनले स्पनेका लागि कति राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने देखाउन पर्याप्त थियो। उनले ९७ प्रतिशत सफल पास खेलेका थिए।

कोस्टारिकाविरुद्ध पेड्रीले खेलेका ८९ मध्ये ८६ पास सफल भएका थिए। स्पेनका लागि पहिलो गोल गरेका ड्यानी ओल्मोले फाइनल थर्डमा ३३ पासको कोसिस गरेका थिए। जुन पेड्रीले कोसिस गरेका ३० भन्दा बढी थियो। फाइनल थर्ड र मिडफिल्डमा स्पेनका लागि पेड्रीको उपस्थितिले स्पेनलाई थप आक्रामक बनाउने छ। 


सर्ज जिनाब्री 
(जर्मनी)

जापानविरुद्धको हार जर्मनीका लागि बिर्सन लायक रह्यो। तर, जर्मनीका लागि केही सकारात्मक थियो भने जिनाब्रीको प्रदर्शन नै थियो। जिनाब्रीले ६ मध्ये तीन प्रहार फ्रेममा राखेका थिए। उनी जर्मनीको १२ वटा ओपन प्लेमा संलग्न थिए। जुन, पहिलो चरणमा काइलिन एमबाप्पेको १३ भन्दा मात्रै कम हो। उनी स्पेनविरुद्ध अझै छरितो हुनु आवश्यक छ। विशेषगरी उनले प्रहारलाई सटिक बनाउनुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.