वडाध्यक्षमा हारे पनि प्रदेश सभामा जित्ने गुरुङ
जोमसोम: स्थानीय तह निर्वाचन २०७४ मा लोमान्थाङ गाउँपालिका-४ मा वडाध्यक्ष जितेका नम्डु गुरुङ २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भए ।
वडाध्यक्षमा पराजित उनले मुस्ताङ प्रदेश १ मा नेपाली कांग्रेसको तर्फबाट टिकट पाए । अहिले उनी विजयी हुँदै प्रदेश सभा सदस्य बनेका छन् ।
नम्डुले १ हजार ४८ मत ल्याई एमालेका उम्मेदवार ईन्द्र ढाडु बिष्टलाई २५५ मतान्तरले पराजित गरे । बिष्टले ७९३ मत पाएका थिए ।
प्रदेश सभामा निर्वाचित नम्डुले उपल्लो मुस्ताङको चौतर्फीमा विकासका क्षेत्रमा काम गर्ने बताएका छन् । उपल्लो मुस्ताङ कला संस्कृतिको उत्थान र पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेकाले यसप्रति आफ्नो ध्यान जाने जनाए ।