बदला लिने दाउमा पोर्चुगल

बदला लिने दाउमा पोर्चुगल

दोहा : पोर्चुगल विश्वकपको समूह ‘एच’अन्तर्गत दोस्रो खेलमा सोमबार राति उरुग्वेविरुद्ध मैदान उत्रिँदा चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ। कतारमा जारी विश्वकपका सुरुवाती दुई खेलमा जित निकाल्दै अन्तिम १६ को होडमा रहेको पोर्चुगल चार वर्षअघि यही दक्षिण अमेरिकी मुलुकसँग पराजित हुँदा अन्तिम १६ बाटै बाहिरिएको थियो।

सन् २०१८ को रुस विश्वकपमा एडिन्सन काभानीको दुई गोलको मद्दतमा उरुग्वेले २–१ को नतिजामा पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा त्यही संस्करणको विजेता बनेको फ्रान्ससँग २–० को नतिजामा पराजित हुँदा दुई पटकको विश्व विजेता उरुग्वे पनि घर फर्किएको थियो।

फर्नान्डो सान्तोसको पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो। अर्कातिर उरुग्वे समूह चरणको पहिलो खेलमा एसियाली मुलुक दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो। पोर्चुगलका लागि पेनाल्टीमार्फत गोलको खाता खोलेका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर कीर्तिमान बनाएका थिए।

खेलको अन्तिम समयमा गोलरक्षक डिएगो कोस्टाको असावधानीले पोर्चुगलले झन्डै गोल खाएको थियो। इन्जुरी समयको पनि अन्तिम क्षणमा इनाकी विलियम्स पोर्चुगिज गोलरक्षकसँग बल खोसेर लडेपछि पोर्चुगल जसोतसो तीन अंक हासिल गर्न सफल भएको थियो।

लुसेल रंगशालामा सोमबार डिएगो अलोन्सोको टिमको सामना गर्दा पोर्चुगलको कठिन परीक्षा हुने फरवार्ड गोन्कालो रामोस बताउँछन्। ‘उनीहरू धेरै बलिया र खतरनाक टिम छन्’, रामोसले भने। डिएगो गोडिन साँच्चै उत्कृष्ट खेलाडी भए पनि टिमवर्क महत्वपूर्ण हुने रामोसले बताए। 

‘हाम्रो टिमको स्तरअनुसार जुनसुकै खेलमा पनि हामी दाबेदार हुनुपर्छ जस्तो लाग्छ’, उनी भन्छन्, ‘हामीले कुनै पनि खेलमा बराबरीका बारे सोचेका छैनौं। हामी जितकै लागि खेल्ने छौं।’

सुपरस्टार फरवार्ड रोनाल्डो सम्भवः अन्तिम विश्वकप खेलिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी गोलकर्ता रोनाल्डो आफ्नो नेतृत्वमा पोर्चुगललाई विश्वकपमा सकेसम्म अगाडि बढाउने लक्ष्यमा छन्। घानाविरुद्धको गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा एक सय १८ गोल गरिसकेका रोनाल्डो यो सूची लम्ब्याउन चाहन्छन्। गत वर्ष सेप्टेम्बरमा इरानी फरवार्ड अली देईको एक सय नौ गोलको कीर्तिमान तोडेका ३७ वर्षीय रोनाल्डो उरुग्वेविरुद्ध विश्वकपमा नवौं गोलको खोजीमा हुनेछन्।

अल डायनमा पोर्चुगलविरुद्ध उत्कृष्ट रक्षात्मक लय कायम राख्न सके उरुग्वे समूह चरणका लगातार ६ खेलमा क्लिन सिट राख्ने पहिलो टिम बन्नेछ। पोर्चुगलले भने समूह चरणमा खेलेका पछिल्ला १३ खेलमा एक मात्र पराजय भोगेको छ। जुन सन् २०१४ विश्वकपमा जर्मनीवरुद्ध थियो।

प्रभाव पार्न सक्ने खेलाडी

ब्रुनो फर्नान्डेज  
(पोर्चुगल)

घानाविरुद्धको खेलमा रोनाल्डो समाचारका हेडलाइन बनेका थिए। तर, त्यो जितमा फर्नान्डेजको पनि महत्वपूर्ण भूमिका थियो। फेरि एक पटक उनी उरुग्वेविरुद्ध पोर्चुगलका लागि ‘रिदम’ सेट गर्न सबैभन्दा प्रभावशाली सावित हुन सक्छन्।

घानाविरुद्धको खेलमा फर्नान्डेजले जुवाओ फेलिक्सलाई दिएको पासबाट नै राफेल लियो तेस्रो गोल गर्न सफल भएका थिए। जुन गोल नै पोर्चुगलको जितमा निर्णायक सावित भएको थियो। फर्नान्डेजले त्यो खेलमा पोर्चुगलका लागि सर्वाधिक आक्रमणको मौका सिर्जना गरेका थिए।

उनी सन् १९६६ विश्वकप पछि पोर्चुगलका लागि एकै खेलमा दुई असिस्ट गर्ने पहिलो खेलाडीसमेत बनेका थिए। पोर्चुगलका लागि ५६ वर्षअघि जोजे टोरेसले ब्राजिलविरुद्ध एकै खेलमा दुई असिस्ट गरेका थिए।

फेडरिको भलभर्दे  
(उरुग्वे)

दक्षिण कोरियाविरुद्ध भुत्ते आक्रमणको नमुना देखाएको उरुग्वेका लागि सबैभन्दा प्रभावशाली भलभर्दे रहे। उरुग्वेको फाइनल थर्डमा सक्रिय देखिएका भलभर्देले गरेको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

सशक्त प्रहार फर्किंदा दुर्भाग्यशाली देखिए पनि रियल म्याड्रिडका मिडफिल्डर भलभर्देसँग जुनसुकै खेललाई घुमाउन सक्ने क्षमता छ। रियललाई युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका भलभर्दे पोर्चुगलको रक्षापंक्तिका लागि टाउको दुखाइ बन्न सक्छन्।

नकआउट चरणमा स्थान बनाउन उरुग्वेका लागि पनि उनको प्रदर्शनले धेरै अर्थ राख्ने छ। पहिलो खेलमा बराबरीमा अल्झिएको उरुग्वे सोमबारको खेलमा पनि स्पष्ट तीन अंक हासिल गर्न नसके दबाबमा पर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.