जनक नगरीमा सीता स्वयम्बर !

जनकपुरधाम :
देखला मोरा मनमा करेला !
राजा जनकको नगरी जनकपुरमा सीता स्वयम्बरको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सीताराम विवाहका लागि भव्य जानकी मन्दिरको प्रांगणमा अति नै सुन्दर मण्डप सजाइएको छ। रामको जन्तीमा सहभागी हुन लाखौं श्रद्धालुले जनकपुर भरिभराउ छ।
सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार रामसीताको विवाह हुनेछ। दुलहीझैं सजिएको जानकी मन्दिर प्रांगनमा वैवाहिक वेदी तयार गरिएको छ। विवाहको वेदी तयार गर्न आइतबार पवित्र गंगासागर पोखरीबाट माटो ल्याई मटकोर विधि सम्पन्न गरिएको हो।
मिथिलामा पोखरीबाट ल्याइएको माटोलेनै वेदी बनाउने परम्परा छ। सोही वेदीमा रामसीताको विवाह हुनेछ। त्रेता युगमा गाँसिएको पौराणिक र धार्मिक सम्बन्धको साक्षी बन्नका लागि जनकपुर आएका श्रद्धालुहरूले जानकी मन्दिर भरिभराउ छ। यो वैवाहिक समारोह अलौकिक छ। हामी साधारण मानिसको बिहे हुँदा यत्रो तामझाम गर्छौं तर, जनकपुर यस्तो भूमि छ जहाँ भगवानकै विवाह भएको थियो र यो एउटा जीवन्त इतिहास हो।
हाम्रो हर्षको कुनै सिमा हुँदैन र यस महोत्सवले मिथिलाको गरिमालाई निकै बढाउने गरेको छ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन् ‘यहाँ श्रद्धालु स्वस्फूर्त रुपमा आउने गर्छन्। हामीले सक्दो स्वागत गर्ने प्रयास गर्छौ। तर, मेला व्यवस्थापको जिम्मेवारी सबै पक्षको भएकाले श्रद्धालुहरूलाई कसरी राम्रो वातावरण दिने भन्नेमा सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ।’ त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। आदर्श जोडी रामसीताको वैवाहिक सम्बन्धको सालगिरह प्रत्येक वर्ष जनकपुरमा मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ। साताव्यापी महोत्सवमा हुने सबै विधिहरू लोकपरम्परा अनुसार मनाइन्छ।
वैवाहिक समारोह अवधिभरि जनकपुर दुई भागमा विभाजित हुने गर्छ। जानकी मन्दिर दुलही पक्ष र राम मन्दिर दुलहा पक्ष बन्छ। अयोध्याबाट आउने साधुसन्तहरू राममन्दिरमा बास बस्छन् र वैवाहिक समारोहमा जन्ती बनेर जानकी मन्दिर पुग्ने गर्छन्। जानकी मन्दिरमा छोरी पक्षले जन्तीहरूलाई भव्य स्वागत गर्ने गर्दछ।
ऐतिहासिक बारहबिग्घा मैदानमा रामसीताको स्वम्बर राजकिय स्वरूपमा हुन्छ। राममन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता सीताको डोलालाई सयौं श्रद्धालुहरूको साथमा रंगभूमि मैदान लगिन्छ र सीताको डोलाले रामको डोलालाई चारफेरी घुमेर परिक्रमा गरेपछि माला लगाएर स्वम्बर सम्पन्न हुन्छ। स्वम्बर विधि सम्पन्न भएपछि दुवै डोला मन्दिर फर्किन्छ। अनि हुन्छ रामसीताको विवाह विधि। भगवान राम र सीताको प्रतिमालाई विधिवत विवाह गराईन्छ। यस भव्य विवाहमा सहभागि हुन राजनीतिक दलका गनमान्य व्यक्तिहरू, प्रशासनिक निकायका प्रमुखहरूसहित लाखौं श्रद्धालुहरू जानकी मन्दिरमा उपस्थिति हुन्छन्।
महोत्सवलाई ध्यानमा राख्दै जनकपुर नगरक्षेत्रको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। नेपाल पुलिस, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले भीडभाडलाई नियन्त्रण गर्न पोख्त बन्दोबस्त गरेको छ।
महोत्सवमा देश विदेशबाट साधुसन्तहरूको सहभागिता हुने भएकोले पवित्रताका लागि नगरक्षेत्रभित्र महोत्सव अवधिभर मासुजन्य पदार्थ र मदिराको बिक्री वितरणमा रोक लगाइएको छ। भीडभाडमा हुन सक्ने उच्छृंखल गतिविधिलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुुषाले महँगो गरगहना लगाई महोत्सवमा सहभागी नहुन सर्वसाधारणलाई अपिल गरेको छ।
भीडभाडमा चोरीको सम्भावना बढि रह्ने हुनाले महँगो गरगहना, मोबाइल वा बहुमूल्य वस्तु लगाई भीडभाडमा सहभागी नहुन सबैलाई आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन्। यता, महोत्सवको अवसरमा जनकपुरका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
