आजु जनकपुर मंगल हे !
जनकपुरधाम :
आजु जनकपुर मंगल हे,
चारु दिस मंगल हे !
जनकपुर मंगल हे !!
विवाह गाइने यो गीत अहिले जनकपुरधाममा गुञ्जिरहेको छ। कारण बन्न पुगेको छ, सीताराम विवाह पञ्चमी महोत्सव। विवाहपञ्चमी एउटा चाड मात्र होइन, जनकपुरको मात्र परिचय बोक्दैन।
यो नेपाल-भारत बीचको सांस्कृतिक सेतु हो, जनसम्बन्धको प्रतीक पनि हो। त्यसैले त जनकपुर अहिले झकिझकाउ छ, लाखौँ भारतीय र नेपाली तथा अन्य देशका मानिसले भरिभराउ छ।
त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ।
यो क्रम बितेको पाँच सय वर्षदेखि जारी छ। जानकी मन्दिरका महन्थ र पुजारी व्यस्त छन्। जसरी छोरीको बिहेमा अभिभावक व्यस्त हुन्छन्। जन्तीको स्वागतदेखि तिनको बास, खानपान र बिदाइमा एक महिनादेखि बेहुली पक्षलाई भ्याइनभ्याइ छ।
भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा बनाएको नौलक्खा मन्दिरमा मन्दिरका ६० वटा कक्षमा भरिभराउ अतिथि र सामग्री छन्।
दुई सयभन्दा बढी भान्से पकवान बनाउन व्यस्त छन्। जन्ती विदाइका लागि जोहो गरिएका उपहारले नै कोठाहरू भरिएका छन्। मन्दिरको कुनाकुना रंगीविरंगी फूलले सजाइएको छ। बिजुली बत्ती जडान गरेर मन्दिर झकिझकाउ पारिएको छ।
रोटी-बेटी सम्बन्ध
त्रेतायुगमा सीता र रामको यहीँ विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा प्रतिञ्चना चढाउने अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो।
रामले विवाहको शर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्। ‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौँ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन्।
उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरबासीले जन्ती मानेर स्वागत गर्थे।
‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो,’ उनी भन्छन्, ‘यसका लागि दुई देशका सरकार र खासगरी तत्कालीन विश्व हिन्दू परिषद्का अशोक सिंघलले पहल गरेका थिए।’
यसरी पहिलो पटक चारपाँच सय गाडीमा जन्ती सजाएर ल्याइएको थियो। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुर पुर्याइएको थियो। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ।
जनस्तरमा नेपाल-भारत सम्बन्ध अत्यन्त सघन छ। यसलाई ‘रोटी-बेटी’ को सम्बन्ध भनेर पनि अथ्र्याइन्छ। ‘यसको सुरुवात जानकीले गरेकी थिइन्,’ दास भन्छन्, ‘त्यसैले विवाह महोत्सव दुई देशबीचको सांस्कृतिक सेतु हो। यसलाई विशेष महत्व दिइनुपर्छ।’
महोत्सव हेर्न जनसागर
त्रेताकालमा राम एवं जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको संझनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधि अनुरूप मनाइने रामजानकी विवाहमहोत्सव हेर्न लाखौं श्रद्धालु भक्तज जनकपुरधाम आईपुगेका छन्।
गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जानकीको विवाह भएको स्मरणमा हुने विवाहपञ्चमी महोत्सव हेर्न जनकपुरधाममा लाखौं श्रद्धालु भक्तजनहरूको भिड लागेको हो।
अयोध्या राजा दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरिको नेतृत्वमा पौराणिक व्यवस्था अनुरूप विहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकी सहित दुलहा भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालीन रंगभूमि मैदानमा पुर्याइन्छ।
त्यस्तै जानकी मन्दिरबाट मिथिला राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सु-सज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्याइन्छ।
दुलहा रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सुसज्जित डोलाले पाँच पटक परिक्रमा एवं आरती पुजन गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहेको छ।
स्वयम्बर समारोह सकेर दुलहा-दुलहीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर विवाह संस्कार कार्यक्रम प्रारम्भ हुन्छ।
जानकी मन्दिरमा पौराणिक विधिपूर्वक भगवान राम एवं जानकीको शुभ विवाह कार्यक्रम अहोरात्र (रात्रिकालीन) चल्ने गर्दछ। विवाहपञ्चमी अवसरमा नेपाल एवं भारत सहित तेश्रो राष्ट्रबाट आएका लाखौं श्रद्धालु भक्तजनहरू एकाविहानै देखि गंगासागर, धनुषसागर, रत्नसागर पवित्र स्नान पछि क्रमशः राम मन्दिर तथा जानकी मन्दिरमा फलफूल अक्षता प्रसाद चढाएर पूजा अर्चना गर्न पाउंदा आफूलाई धन्य ठान्दछन्।
विवाहपञ्चमी मेला हेर्न आएका श्रद्धालुहरूको जनसागर नै ओर्लिएको छ। जनकपुरधामको मुख्य केन्द्रबिन्दु जानकी मन्दिर तथा जनकपुर नगरभित्र श्रद्धालुहरूले भरिभराउ रहेका छन्।
यहाँका मठ-मन्दिर, पार्टीपौवा, कुट्टी, सार्वजनिक धर्मशाला, विद्यालय लगाायतका स्थानहरूमा श्रद्धालुहरूले भरिभराउ देखिएका छन्।