पाखाकी कान्छीको आँसु
खाना, नाना, छाना, शिक्षा र स्वस्थ मानिसका आधारभूत आवश्यकता हुन्। लोक कल्याणकारी राज्यले जनताका यस्ता आधारभूत आवश्यकतालाई निःसर्त लागू गराउन खोज्छ। गैरजिम्मेवार, स्वार्थी र कपटपूर्ण राजनीति भएको मुलुकमा लोककल्याणकारी कदमको अपेक्षा गर्नु निरर्थक हुन्छ। आज कुनै कमजोर आर्थिक अवस्था भएको नागरिकलाई कुनै ठूलो रोग लाग्यो भने कि त कसैको दयाको भीख माग्नुपर्ने हुन्छ कि त टुलुटुलु हेरेर मृत्युलाई पर्खिनुपर्ने बाध्यता हुन्छ। क्यान्सर एउटा त्यस्तो घातक रोग हो जुन लागेपछि धनीलाई पनि गरिब बनाउँछ। कमजोर आर्थिक अवस्था हुनेहरूको त धन पनि सकिन्छ, ज्यान पनि। स्वास्थका कारणले ज्यान र धन दुवै सकिन लागेकी एउटी त्यस्तै कान्छीको वास्तविक कथा यहाँ प्रस्तुत गरिँदै छ।
भक्तपुरको च्याम्हसिँह, सुडाल, कलममसी हुँदै नगरकोट जाने बाटोको खण्डमा एउटा ठूलो पीपलबोट छ। त्यस नजिकै टिनकोे छानो भएको एउटा सानो एकतले घर छ। उनको कान्छा नाम गरेका श्रीमान् पहिल्यैदेखि एक्लै बस्ने र टोलाउने गर्थे। सायद त्यही भएर उनको घर अरू गाउँलेको भन्दा पर र एकान्त ठाउँमा रहेको पाखाबारीमा बन्यो। पाखाबारीमा घर बनाएको हुनाले अम्बिकालाई सबैले पाखाकी कान्छी भन्न थाले। तिनै पाखाकी कान्छी एक्लो संघर्ष गरेर जीवनको गाडी घिसारिरहेकी थिइन्। उनका श्रीमान् मानसिक रोगी थिए, छन्। उनी छ सन्तानकी आमा भइन्। सबैलाई दुःखम् सुखम् हुर्काइन् बढाइन्। भएको थोरै जग्गाजमिनमा सागपात र अन्न रोपेर अनि गाईबस्तु पालेर उनको जीविका जसोतसो चल्दै थियो। छोरीहरू हुर्केका थिए। श्रीमान्ले केही काम नगरे पनि दिनभर दैलो कुरेर बस्थे। उनी बनिबुतो र किस्मत गरेर जीवन धान्ने लेठो गर्थिन्।
यही वर्षको तीजमा उनलाई अचानक रिँगटा लाग्यो। शरीर कमजोर र शिथिल भयो। बेहोस भएर ढलिन्। उनलाई अस्पताल लगियो। उनको रोग पत्ता लाग्यो। उनलाई रक्त क्यान्सर भएको रहेछ। जो होचो उसैका मुखमा घोचो। जो कमजोर उसैमाथि बज्र प्रहार। जो सोझो उसैको उठीबास। यस्तो देख्दा लाग्छ यो दैव भन्ने कुनै तŒव छैन यो चराचरमा। नत्र दुःखीलाई नै दुःख किन ? पीडितलाई नै पीडा किन ? राज्यले पनि गरिबका नाउँमा अनेक योजना ल्याउँछ। यस्ता असाध्यै रोग लागेका गरिबलाई निःशुल्क उपचार गर्ने नीति किन लिँदैन ?
कान्छीको उपचार गर्दा उनको १५ लाखभन्दा बढी पैसा सुलिइसकेको छ। एकचोटि केमो चलाउँदा ५६ हजार खर्च हुने रहेछ। यो जाँच, त्यो जाँच। यता जाऊ, त्यता जाऊ। यो खाऊ त्यो खाऊ। दिनको लगभग तीन हजारको औषधि खानुपर्ने रहेछ। यसरी पैसाको खोलो बगिरहेको छ। यति खर्च गर्दा पनि रोग निको हुन्छ भन्ने केही ग्यारेन्टी छैन। सास छइन्जेल आस भनेझैं उपचार नगरी बस्न पनि भएन। सधैं पीडा सहेर बस्न पनि त सकिँदैन। अहिलेसम्म ऋणपान गरेर जेनतेन उनको उपचार चलिरहेको छ। सुनेअनुसार कसै कसैले उनको घरबारीमा समेत आँखा गाडिसकेका छन्। बाध्यतामा परेकालाई कन्याइकन्याई लुट्ने एकथरी मानिसको धन्दा जो हुन्छ।
कान्छीको ज्यान के हुन्छ थाहा छैन तर उनको भए नभएको धन पनि निख्रिँदै छ। त्यसमाथि पहिल्यैदेखि आधा जीउ भएको उनका श्रीमान्को चिन्ता छँदै छ। यस्तो बेलामा उनलाई साहस, ढाडस र सहयोगको खाँचो छ तर यस्तो हुन सकिरहेको छैन। अहिले उनी घरमै बसेर नियमित अस्पताल धाउँदै छिन्। हप्ता हप्ता र कहिले त दुईतीन दिनमा अस्पताल धाउनुपर्छ। एम्बुलेन्सले समेत अस्पताल लगेर ल्याएको तीन हजार लिने रहेछ। अहिले केही दिन अघिदेखि भने चाँगुनारायण नगरपालिकाले उनलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको रहेछ।
गज्जबको अनुभूति के भयो भने मुलुकमा चुनावको चाड आयो। उनको घरदैलो भएर सयौं नेता कार्यकर्ता हिँडे। ती सबै माग्न मात्रै आए। तिनले दिने कुरा गरेनन्। अपवादलाई छोडेर तिमीलाई के भएको छ समेत भनेर कसैले सोधेन। सोध्नेले पनि हामीलाई भोट दियौ भने मात्रै यसो यसो गरिदिउँला भने। सबैलाई जित्नु छ। आफ्नो मान्छेलाई जिताउनु छ। कुनै पद हत्याउनु छ। वा ठेक्कापट्टा हात पार्नु छ। अपराधीलाई छुटाउनु छ। हरे ! हामीले कस्तो समाज बनायौं ! रोगमा पनि राजनीति ! लासमा पनि राजनीति !
म आफैं पिताजीको किरियामा थिएँ। तेह्रौं दिनको पुण्यतिथिका दिन मैले कान्छीका बारेमा थाहा पाएँ। आफैं थकित, पीडित र प्रताडित मैले के नै गर्न सक्थें ? दुई दिनपछि कान्छीलाई भेट्न गएँ। म जाँदा उनी अस्पतालमा केमो चढाउन गएकी रहिछन्। उनका श्रीमान्सित केही बातचित गरें। सोधेका प्रश्नको उनी एकोहोरो जवाफ दिन्थे। उनलाई चोट, पीडा र मर्मको मतलब छैन। उनी पूर्ण रूपमा श्रीमतीमाथि निर्भर रहेछन्। थाहा छैन कान्छीलाई तलमाथि पर्यो भने उनको जीवनको डुंगा कुन भुँमरीमा पर्ने हो।
करिब दुई घण्टाको पर्खाइपछि कान्छीसित भेट्ने मौका मिल्यो। उनी लगातार खोकिरहेकी थिइन्। अर्को थप रोगले पनि समातेको रहेछ। उनलाई निमोनिया पनि भएछ। उनको उपचार गर्ने डाक्टर सापलाई भेटेर वास्तविकता बुझ्न मन लागेको थियो। डाक्टर सापको नम्बर भनेर कसैले दिएको नम्बरमा डायल गरें। अर्कै मानिसले फोन उठाए। ‘डाक्टरलाई भन्नु र मलाई भन्नु एउटै हो के छ भन्नुस्’ भने। सायद उनी डाक्टरका असिस्टेन्ट थिए कि। मैले कान्छीका बारेमा जिज्ञासा राख्दा उनले भरेसम्म तपाईंलाई सबै डिटेल उपलब्ध गराउँला भने। मैले तीन दिनसम्म पर्खिएँ तर त्यो भरे कहिल्यै आएन।
मैले कान्छी सामु केही प्रश्न गरें। कसरी यस्तो भयो ?
सुरुमा कुनकुन लक्षण (कुलक्षण) देखिए ? अहिले कसरी उपचार हुँदै छ ? कसले कति ऋण दियो ? यी सबै प्रश्नको एउटै जवाफ आयो। त्यो हो आँसु। केबल आँसु। यस्ता रोगीका लागि लेख लेखेर चन्दा उठाएर वा रोइकराई गरेर केही रकम उठाउन सकिन्छ ? प्रश्न उठ्न सक्छ, कति जनाका लागि गुहार माग्ने ? के आफ्ना नागरिकलाई निःसर्त उपचार गरी बचाउने दायित्व राज्यको होइन ? अब राज्यलाई एकछिन भुलौं। मनकारी दातामा मेरो आग्रह छ, कान्छीलाई तपाईंको सहयोगको खाँचो छ। कान्छीलाई आफ्नोभन्दा पनि आधा जीउ बाँचिरहेका उनका श्रीमान्को चिन्ता छ। हार्दिकताका साथ अनुरोध, मन ठूलो बनाएर उनै कान्छीका लागि केही गरौं।
राज्यले पनि गरिबका नाउँमा अनेक योजना ल्याउँछ। यस्ता असाध्यै रोग लागेका गरिबलाई निःशुल्क र निःसर्त उपचार गर्ने नीति किन लिँदैन ?