२ हप्तापछि वालिङ नगरपालिकाले सुरु गर्यो अत्यावश्यक सेवा
स्याङ्जा: मतगणना कि पुनः मतदानको विवादले झण्डै २ हप्तादेखि बन्द रहेको वालिङ नगरपालिकाले अत्यावश्यक सेवा मुख्य प्रवेशद्धारमा बसेर दिन थालेको छ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गतका मतपेटिका नगरपालिकाको कार्यालयभित्र राखिएकाले प्रवेशद्धारमा बसेर सेवा दिन थालिएको हो।
नगरबासीलाई सेवाप्रवाह समेत झन समस्या बनाउन नहुने जनाउदै अत्यावश्यक सेवा कार्यालयबाहिरबाटै दिन थालिएको नगरप्रमुख कृष्ण खाणले जानकारी दिए।
मंसिर ४ लाई लक्षित गर्दे नगरपालिकाले मंसिर १ गतेदेखि सेवाप्रवाहलाई बन्द गर्ने जनाएको थियो।
यतिका लामो दिनसम्म पालिका बन्द रहँदा नगरवासी आक्रोशित छन्। सेवाको अभावमा नगरबासी समस्यामा परेका छन्।
मतगणना कि मतदान भन्दै नेपाली कांग्रेस र नेकपा एमाले सहितका समर्थक नेता तथा कार्यकर्ताले नगरपालिका परिसर वरपर आन्दोलन गर्दे आएपछि पालिकाले सेवा प्रवाह गर्न सकेको छैन।
कडा सुरक्षाका बीच अत्यावश्यक सेवा सुरु गरिएको छ। भीड नहुनेगरी कर्मचारीलाई आलोपालो गर्दै सेवा दिन थालिएको छ।
पालिका बन्द हुँदा नगरपालिकामा कार्यरत १ सयभन्दा बढी कर्मचारी नगरपालिका गेटमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर घर जाने गरेका थिए।