तेक्वान्दोमा जमेका सञ्जीव

तेक्वान्दोमा जमेका सञ्जीव

सिमराः बारा निजगढ नगरपालिका ७ का सञ्जीव नेपाली तेक्वान्दो खेल क्षेत्रमा परिचित नाम हो । 

उनी तेक्वान्दो खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी पनि हुन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भएर देशका लागि थुप्रै पदक जितेका सञ्जीव  नेपालको राष्ट्रिय झण्डा विदेशमा फहराउने मुख्य खेलाडीको सूचीमा पर्छन् । तेक्वान्दो खेलमा सञ्जीवले हासिल गरेको सफलता आज उनको पहिचान बनेर स्थापित भएको छ । 

सानो उमेरदेखि तेक्वान्दो खेलमा समर्पित सञ्जीव यतिबेला खेलाडीका प्रशिक्षक बनिसकेका छन् । 

तेक्वान्दो प्रति उनको लगावले उनलाई खेलाडीमा मात्र सीमित गरेन, दक्ष खेलाडी उत्पादन गर्ने प्रशिक्षकको भूमिकामा समेत अघि बढ्न प्रेरित गर्यो । जसकारण उनले आफ्नो बाँकी जीवन तेक्वान्दोमै समर्पित गर्ने निर्णय गरेर यसै क्षेत्रमा सक्रिय छन् । 

तेक्वान्दो खेलबाट सफलताको शिखर चुमेका सञ्जीवको बाल्यकाल सामान्य परिवारमा बितेको थियो । उनी कक्षा ६ मा पढ्दादेखि नै तेक्वान्दोमा आकर्षित भएका थिए । सन् १९९९ मा सञ्जीवले आफ्नो खेल जीवनको औपचारिक सुरुवात गरेका थिए ।

बुवा भवनाथ, आमा मञ्जुदेवी र काका गोकुलले तेक्वान्दो खेल खेल्न प्रेरित गरेपछि सञ्जीव यस खेलमा आकर्षित भएका हुन् । 

तेक्वान्दो प्रवेश गरेसंगै निजगढ डोजाङको सदस्य भएका सञ्जीव नियमित प्रशिक्षण लिन थाले । उनलाई कृष्णमुरारी खड्का र चित्रबहादुर लामाले प्रशिक्षण गराउँथे । खड्का र लामाबाट प्रशिक्षित सञ्जीवले तेक्वान्दो खेललाई नियमित बनाउन थाले ।
 
घरदेखि तेक्वान्दो खेल्ने स्थान नजिकै भएका कारण पनि सञ्जीवलाई सहज भयो । तेक्वान्दो खेल्ने क्रममा स्थानीय र क्षेत्रीय स्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउदै उनले अनुभव बटुल्न थाले । उनको खेलबाट प्रशिक्षक समेत निकै प्रभावित हुन्थे । आकर्षक खेल प्रदर्शन गरेका कारण उनले सबैबाट हौसला पाउँथे । 

तेक्वान्दो र शिक्षालाई संगै अघि बढाएका सञ्जीव प्रविणता तहको अध्ययनपछि काठमाडौं पुगे । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं पुगेका उनले त्यहीबाट तेक्वान्दो खेललाई नियमित गर्न थाले। 

उनी जावलाखेल डोजाङमा आवद्ध भएर प्रशिक्षण लिने र जुनियर खेलाडीलाई प्रशिक्षण समेत सुरु गरे । 

निजगढबाट काठमाडौं पुगेका सञ्जीवले थुप्रै प्रतियोगितामा सहभागी भएर अनुभव बटुल्ने अवसर प्राप्त गरे । जसले उनको खेललाई थप तिखार्दै लग्यो र सफलतातर्फ अघि बढाउदै लग्यो ।
 
सञ्जीवले सन् २०१९ मा बेलायतको म्यानचेस्टरमा आयोजना भएको ‘ब्रिटिस अटम ओपन च्याम्पियनसिप’ मा नेपालका लागि स्वर्ण पदक जिते । त्यसअघि २०१८ मा हङकङ-नेपाल तेक्वान्दो महासंघले आयोजना गरेको १६औँ च्याम्पियनसिपमा रजत पदक र सन् २०१९ मा स्पेनको बार्सिलोनामा आयोजना भएको २०औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । 

उनले हङकङमा आयोजित २२औं एसियन सिटीज तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदका जितेका थिए ।  दक्षिण कोरियाको मुजुमा सन् २०१८ जुलाई २२ मा आयोजित मास्टर्स कोर्स उनले पूरा गरिसकेका छन् । 

तेक्वान्दोमा थुप्रै सफलता हात पारेका सञ्जीवले सन् २०१९ मा अमेरिकाको लस भेगासमा आयोजित यूएस ओपन, सन् २०१८ मा भएको क्यानडा ओपन र  २०१८ मै भएको जी–रेंकको अन्तर्राष्ट्रिय प्रशिक्षक सेमिनारमा सहभागिता जनाएका छन् । 

सन् २०२१ मा सञ्जीव थप प्रशिक्षणका लागि मकाउ पुगे । त्यहाँ पुगेपछि उनले मकाउ तेक्वान्दो महासंघमा आवद्ध भएर आफू प्रशिक्षित हुने र अन्यलाई प्रशिक्षण दिन थाले । खेलाडीसंगै रेफ्रीको मान्यता समेत प्राप्त गर्दै अघि बढेका सञ्जीवले थुप्रै प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका छन् । 

साउथ कोरियामा रहेको तेक्वान्दोको मुख्यालयबाट पाचौं तहको डान प्राप्त गरेका सञ्जीव तेस्रो तहको अन्तर्राष्ट्रिय प्रशिक्षक समेत हुन् । उनले विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा निर्णायकको भूमिकामा रहेर समेत काम गर्दै आएका छन् । अहिले उनी अमेरिकाको विभिन्न शहरमा आयोजित तेक्वान्दोको प्रतियोगिता सहभागी भएर निर्णायको भूमिका निर्वाह गरिरहेका छन् ।
 
खेलकुदको माध्यमबाट देशविदेशमा चर्चा बटुलेका सञ्जीवमा समेत विभिन्न संघसंस्थाबाट सम्मानित भईसकेका छन् । राष्ट्रिय खेलकुद परिषद,  गैरआवासीय नेपाली संस्था मकाउ, मधेस प्रदेश सरकार, जावलाखेल तेक्वान्दो डोजाङ, निजगढ नगरपालिका, तारकेश्वर नगरपालिकाले पनि उनलाई सम्मान गरेको छ । 

थुप्रै संघसंस्थाबाट सम्मानित भएका सञ्जीव आफ्नो जीवन तेक्वान्दोमै समर्पित गर्न चाहन्छन् ।
 
‘तेक्वान्दो खेलले पहिचान दिलाएको छ । अब मेरो लक्ष्य भनेको यस खेलमा दक्ष खेलाडी उत्पादन गर्ने हुनेछ’ सञ्जीवले भने ‘जति धेरै खेलाडी उत्पादन गर्न सके त्यति मलाई सन्तुष्टि मिल्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.