चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन चर्कंदै : समस्यामा सी

चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन चर्कंदै : समस्यामा सी

बेइजिङ : कोभिडले सारा विश्वलाई प्रभावित गर्यो र चीन बाहेक, अब लगभग सम्पूर्ण विश्वले यो भाइरससँगै जीवन चलाउनुपर्ने कुरा स्वीकार गरिसकेको छ। 

हाल चिनीयाँ जनतामा विगत तीन वर्षदेखिको लकडाउन र कोभिड परीक्षण अभियानसँग बाँचिरहेका मानिसको धैर्यता टुटेको छ।

धेरै सहरहरूमा हजारौं मानिसहरू कोभिड प्रतिबन्धविरूद्ध सडकमा उत्रिएका छन्। सी जिनपिङको शून्य कोभिड नीति कहिलेसम्म सहने भनेर प्रश्न गरिरहेका छन्।

यो विरोध राष्ट्रपति सी जिनपिङको लागि भने  ठूलो राजनीतिक परीक्षा बनेको विश्लेषक बताउँछन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले जनताकोआक्रोश र कोभिडको डर बीचको बाटो खोज्नुपर्नेछ।

यस कारण भड्कियो हिंसा

पश्चिमी सहर उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी भएको थियो। त्यसमा १० व्यक्तिको ज्यान गयो। भित्र आगोलागिमा फसेका मानिस बाहिर कडा लकडाउन भएकोले निस्कन पाएनन्।

त्यस घटनाले अग्लो अपार्टमेन्टमा बस्ने करोडौं चिनियाँ नागरिकहरूलाई आतंकित बनायो। प्रशासनले उक्त कुराको खण्डन गरे पनि, यसले जनतामा आक्रोश र असन्तुष्टिलाई रोक्न सकेन। विशेष गरी फ्ल्याटमा बस्नेलाई छिट्टै बाहिर निस्कन आग्रह गर्ने भिडियोहरू सोशल मिडियामा भाइरल भएका छन्।

यो कोभिड प्रतिबन्धसँग सम्बन्धित डरलाग्दो श्रृंखलामा सबैभन्दा पछिल्लो घटना हो। यसअघि शहरव्यापी लकडँउनका क्रममा समयमै उपचार नपाउँदा गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाले ज्यान गुमाउने गरेको समाचारहरु आएका थिए।

राहत नपाउँदा निराशा 

हरेक लकडाउनमा खाना र औषधिको अभाव भयो। स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन निकै कठिनाइ भएको थियो।

लकडाउनकै कारण थप डरलाग्दा घटना बाहिर आए। जनताले राहतको घोषणा हुने अपेक्षा गरेका थिए। राष्ट्रपति सीले सत्तामा आफ्नो पकडलाई अझ बलियो बनाए तर उनले शून्य कोभिड नीतिमा कुनै पनि परिवर्तन नगर्ने घोषणा गरे। यसले जनतामा निराशा बढायो।

यो नीतिले धेरैको ज्यान जोगाएको भए पनि लकडाउनले निम्त्याएको समस्याले समाजका हरेक वर्गलाई आक्रोशित बनायो। विश्वविद्यालयका विद्यार्थी, कारखानाका कामदार, मध्यमवर्गीय परिवार वा धनी वर्ग सबै आक्रोशित भए।

केहीअघि बेइजिङ ब्रिजमा एक व्यक्तिले प्रदर्शन गरेका थिए। राष्ट्रपति सी जिनपिङविरुद्ध खुला आलोचनाले राष्ट्रलाई स्तब्ध बनायो । यसले चीनमा  विरोध प्रदर्शनको लागि धेरैलाई प्रेरित गर्यो।

सयौं कारखानाका कामदारहरूले आफ्नो अधिकारको माग गर्न देशको केन्द्रीय सहर झेङ्झाउमा प्रदर्शन गरे । उनीहरुको प्रहरीसँग झडप भयो किनभने उनीहरूले सिसी क्यामेरा र झ्यालहरू तोडफोड गरे।

दक्षिणपश्चिमी सहर शोङकिङमा मास्क नलगाएका एक मानिसको भिडियो सार्वजनिक भयो। उक्त भिडियोमा उनले भने,  'मलाई स्वतन्त्रता दिनुहोस् वा मृत्यु'। यो यस्तो लाइन थियो जसलाई प्रदर्शनकारीहरूले चाँडै अपनाए।

उरुम्चीमा भएको आगजनी देशव्यापी प्रदर्शन कारण बन्यो। पहिला उक्त सहरमा सयौं मानिस सडकमा उत्रिए । यसपछि सांघाई, बेइजिङ, वुहान, नान्जिङ र चेङ्दुमा पनि त्यस्तै भयो। 
प्रदर्शनकारीहरूले पनि सी जिनपिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्ता छोड्न माग गरे।

पार्टी र यसका नेताहरूको आलोचना गर्नेलाई कडा सजाय र सेन्सर गरिएको देशमा यस्ता घटनाहरू यसअघि कल्पना गर्न गाह्रो थियो।

यो प्रदर्शन कोभिडप्रतिको असन्तुष्टिको सानो झलक मात्र हो र यसले सरकारका लागि पहिले नै गाह्रो भइसकेको अवस्थालाई थप जटिल बनाएको विज्ञहरू बताउँछन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका समाजशास्त्री हो-फङ हङका अनुसार यसले 'अत्यन्त खतरनाक अवस्था'को प्रतिनिधित्व गर्छ र सी जिनपिङ शासनका लागि गम्भीर चुनौती खडा गर्छ।

उनी भन्छन्, 'सी जिनपिङले गत दुई वर्षमा शून्य कोभिड नीति अपनाएर आफैंलाई समस्यामा पारेका छन्। यो अवस्थासँग जुध्न उनका लागि उत्तम उपाय भनेको विरोध निरन्तर बढ्दै गएमा स्थानीय प्रशासनलाई अन्त्य गर्न आग्रह गर्नु हो। तर उनी भने यो घटनाबाट पर बस्नुपर्छ।' 

प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिन्छ। उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेका हुन्।

खाली ब्यानरहरू चीनमा सेन्सरशिपको प्रतीक हुन्। चिनियाँ सरकारले समाजमा अत्यधिक रोक लगाएको छ। लाखौं मानिस तीन वर्ष लामो प्रतिबन्धबाट आजित भएका छन् र अहिले उनीहरूको निराशा उत्कर्षमा पुगेको छ।

शून्य कोभिड नीतिप्रति आम मानिसको असन्तुष्टिलाई सरकारले कम आँकेको देखिन्छ। सी जिन्पिङले हालसालै उक्त नीतिबाट पछि नहट्ने बताएका थिए। किनकि सरकारले सामूहिक परीक्षण गर्न, लकडाउन र आइसोलेसन सुविधाहरू निर्माणमा ठूलो आर्थिक स्रोतहरू खन्याएको छ। 

साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए।  

एड लरेन्सलाई पक्राउ गर्ने क्रममा कुटपिट गरिएको बताइएको छ। त्यस लगत्तै उनलाई हतकडी लगाइयो र केही घण्टा थुनियो।

बीबीसीका एक प्रवक्ताले मान्यता प्राप्त पत्रकारको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गरिरहँदा लरेन्समाथि भएको आक्रमण निकै चिन्ताजनक रहेको बताए।

उनका अनुसार चिनियाँ अधिकारीहरूले उनलाई हिरासतमा लिनुबारे कुनै स्पष्टीकरण दिएनन् र माफी मागेनन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.