बैतडीमा १४ उम्मेदवारको धरौटी जफत
बैतडी: बैतडीबाट प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ जना मध्ये १४ जनाको धरौटी जफत भएको छ ।
निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत समेत नल्याएका १४ जना उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ भने प्रदेश सभा(क) र (ख)बाट तीन/तीन जना उम्मेदवार गरी ६ जनाको धरौटी जफत भएको हो ।
प्रतिनिधि सभा सदस्यमा जिल्लामा ७८ हजार ३६९ मत खसकेको थियो । कूल खसेको मतमध्ये १० प्रतिशत समेत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयालले जनकारी दिए ।
प्रदेश सभा सदस्यका लागि ५ हजार र प्रतिनिधि सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी कायम थियो ।
धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द(२५०९), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट(१४२३), राप्रपाका देवबहादुर चन्द(१७५९), राप्रपा नेपालका हिम्मतबहादुर चन्द(१७१, स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द(२३७), स्वतन्त्र उम्मेदवार मानसिंह बिष्ट(३५२), नेस्नलिष्ट पिपूल्स पार्टीका कृष्णबहादुर चन्द(१२७), जनता समाजवादी पार्टीका आनसिंह भण्डारी(१३९), नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाँई(९०) हरेका छन् ।
प्रदेशसभा (क)का उम्मेदवार नेकपा एकीकृत समाजवादीका नरेन्द्रबहादुर बिष्ट(२,११४) राप्रपा नेपालकी कृष्णा पन्त (१७८) र राप्रपाका रणबहादुर बिष्ट(९६८)को धरौटी पनि जफत भएको हो ।
त्यसैगरी प्रदेशसभा (क)का उम्मेदवार नागरीक उन्मुक्ति पार्टीकी रेवती बोहरा(१७०), राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशी(१,२०१) र राप्रपा नेपालका प्रेमबहादुर चन्द(२२०)को धरौटी जफत भएको हो ।
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सभा(क)मा ६ र (ख)मा ५ जनाले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेका दामोदर भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुवँरले ३२,०८० मत ल्याए । भण्डारीको लगातार तेस्रो जित हो ।
जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र न(क)मा नेकपा एमालेका सुरेन्द्र पालले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । पालले १२ हजार ८३१ मत ल्याउदा स्वतन्त्र उम्मेदवार भण्डारीले ११ हजार ०१८ मत प्राप्त गरेका छन् । कांग्रेसका विरबहादुर बिष्टले १०, ९५३ मत प्राप्त गरेका हुन् ।
प्रदेशसभा (ख)मा गठबन्धनबाट कांग्रेस उम्मेदवार शिवराज भट्टले एमालेका लिलाधर भट्टलाई पराजित गर्दै विजयी भएका छन् । शिवराजले १७ हजार १५२ मत प्राप्त गर्दा एमालेका लिलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गरे ।