गच्छदारको राजनीतिक यात्रामा धक्का
काठमाडौं : नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार संसदीय निर्वाचनको इतिहासमा पहिलोपटक पराजित भएका छन्। सुनसरी क्षेत्र नं ३ मा गच्छदार एमालेकी भगवती चौधरीसँग ५ हजार बढी मतान्तरले पराजित भएका हुन्। भगवतीले भने तेस्रो प्रयासमा गच्छदारलाई हराएकी छन्। दोस्रो संविधानसभामा ३६२ मतले हारेकी भगवती २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२१ मतले पराजित भएकी थिइन्।
भगवती झिनो मतले पराजित हुँदा दुवैपटक गच्छदार सरकारको नेतृत्वमा रहेका थिए। भगवतीले पनि राज्यशक्तिको दुरुपयोग गरेर आफूलाई हराएको अभिव्यक्ति दिँदै आएकी थिइन्। उनले पुनःमतगणनाको माग गर्दै हरेकपटक निवेदनसमेत दर्ता गराउँदै आएकी थिइन्। तर त्यो क्षेत्रमा पुनः मतगणना कहिल्यै भएन। संयोग पनि कस्तो भने सरकारको नेतृत्वमा नरहेका बेला गच्छदार उनै चिरप्रतिद्वन्द्वी भगवतीसँग ५ हजार १८८ मतान्तरले पराजित भए।
सुनसरीको दुहबी क्षेत्रबाट गच्छदार विसं २०४८ देखि निरन्तर विजयी हुँदै आएका थिए। २०४८ को निर्वाचनमा उनले एमालेका लिला श्रेष्ठ ११ हजार ८९० मतान्तरले विजयी हुँदै संसद यात्राको सुरुवात गरेका थिए। उनले २७ हजार ७६५ मत पाउँदा श्रेष्ठले १५ हजार ८८५ मतमात्र पाएका थिए।
गच्छदारले २०५१ मा एमालेकै कुलदीप पेसकर, २०५६ मा एमालेकै रेवतीरमण भण्डारी, फोरम लोकतान्त्रिकबाट २०६४ मा कांग्रेसका अगमलाल चौधरी र त्यसयता दुईपटक एमालेकी भगवती चौधरीलाई पराजित गरेका थिए।
थारूका थुप्रै असन्तुष्टिहरू छन्। राज्य संयन्त्रमा रहेका बेला उनले ती एजेण्डा वा मुद्दामा कहिल्यै बहस गराउन चाहेनन्। थारू समुदायका कूरिति, कूप्रथा थुप्रै थिए/छन्। त्यसको समाधान गर्ने बाटामा उनी कहिल्यै हिँडेनन्। थारू समुदाय राज्यका निकायभन्दा कोसौं पर छन्, उनीहरूलाई डोर्याउने काम गच्छदारले कहिल्यै गरेनन्।
गच्छदारको राजनीतिक करियरमा धक्का
विजय गच्छदारले आफूलाई थारू समुदायको सर्वोच्च नेता मान्थे। थारू समुदायका कार्यक्रममा गर्ने उनका भाषणले पनि यही दर्शाउँथ्यो। 'म जहाँ छु, त्यहाँ कुनै थारू पुग्न सक्दैन। यो विजय गच्छदार थारूको पहिलो प्रधानमन्त्री बनेर देखाउँछ,' उनले भन्ने गर्थे।
देशमा भएका राजनीतिक परिवर्तन र राजनीतिक परिवर्तनका लागि गरिएका १६ बुँदे सम्झौतालगायतमा आफ्नो भूमिका अपरिहार्य रहेको उनले भन्ने गर्छन्। आफूले भूमिका नखेलेको भए संविधान निर्माणका प्रक्रिया पनि ओझेलमा पर्ने उनी सुनाउँछन्। हुन पनि हो, विगत तीन दसकदेखि राज्य संयन्त्रमा रहेका उनले ठूलै भूमिका निर्वाह गरे होलान्। तर जसरी उनले आफूलाई थारू समुदायका सर्वोच्च नेताको चिनारी दिन्छन्, त्यसरी नै थारू समुदायको उत्थानमा लागेको देखिएन।
थारूका थुप्रै असन्तुष्टिहरू छन्। राज्य संयन्त्रमा रहेका बेला उनले ती एजेण्डा वा मुद्दामा कहिल्यै बहस गराउन चाहेनन्। थारू समुदायका कूरिति, कूप्रथा थुप्रै थिए/छन्। त्यसको समाधान गर्ने बाटामा उनी कहिल्यै हिँडेनन्। थारू समुदाय राज्यका निकायभन्दा कोसौं पर छन्, उनीहरूलाई डोर्याउने काम गच्छदारले कहिल्यै गरेनन्। राजनीतिकरूपले थारू समुदायका थुप्रै असन्तुष्टिहरू छन्। त्यसको समाधानमा पनि उनी कहिल्यै लागेनन्।
बरु कांग्रेसबाट मधेसी जनअधिकार फोरम हुँदै लोकतान्त्रिकसम्म पुगेका गच्छदारलाई तिनै थारूहरूले आडभरोसा दिलाए। तर उनी फेरि सत्ताको हिस्सेदारी बन्नुबाहेक थारू जनमतको कदर गर्न चाहेनन्। यदि गच्छदारले थारू जनमतको कदर गरेको भए विगतमा थरुहट तराई पार्टी र अहिलेको नागरिक उन्मुक्ति पार्टीको जन्म हुने थिएन। टीकापुर घटनालाई पनि बेवास्ता गरेको गच्छदारमाथि आरोप छ। किनकि २०७२ पछि उनी पटक-पटक सरकारको नेतृत्व तहमा पुगेका छन्। जसरी उनले राजनीतिक परिवर्तमा आफ्नो भूमिका अपरिहार्य रहेको भाषण सुनाउँछन्, त्यसरी नै टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान गर्न सक्थे, तर उनले गरेनन्।
सुनसरीका उनी निकट नेताहरूको ठम्याइ छ, यदि बालुवाटार प्रकरणमा नमुछिएको सुनसरी ३ मा गच्छदारलाई हराउनसक्ने नेता कोही छैनन्।
जब उनी कांग्रेस महाधिवेशनमा पराजित भए...
गत पुसमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा उनी उपसभापतिका उम्मेदवार थिए। कांग्रेसबाट लामो समय बाहिर बसेका उनी २०७४ को निर्वाचनअघि पुनः कांग्रेसमै आफू नेतृत्वको पार्टी 'मर्जर' गरेका थिए। उपसभापतिको पोर्टफोलियो पाएका उनी गत महाधिवेशनमा सोही पदमा उम्मेदवारीसमेत दिए। तर उनले कल्पना नगरेको नजिता आयो। पहिलोपटक उनी पराजित भएका थिए। पराजित भएपछि गच्छदारले रातभरि नसुतेर आफ्नो ३० वर्षे राजनीतिक यात्राको समीक्षा गरेका थिए।
'कहीँ कतै मैले गल्ती त गरेको रहेछु भन्दै रातभरि सुत्न सकिनँ। सुत्न नसकेपछि मैले डायरी पल्टार आफ्नो राजनीतिक यात्राको समीक्षा गरेँ,' पराजित भएको केही दिनपछि भैँसेपाटीस्थित निवासमा यो पंक्तिकारसँग गच्छदारले भने। उनले धार्मिकस्थलहरूमा क्षमा पूजासमेत गराएको उनी निकट नेताहरू बताउँछन्।
गच्छदारको ओरालो यात्राको प्रमुख कारण हो, बालुवाटार प्रकरण। बालुवाटार प्रकरणमा नमुछिएका भए उनी उपसभापतिमा पनि हार्ने थिएनन्, चुनाव पनि हार्ने थिएनन्। उनले बालुवाटार प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेको टिप्पणी गर्छन्।
'बालुवाटार प्रकरणमा मलाई तानतुन गरेर फँसाइयो। मेरो राजनीतिक करियर डाउन गर्न चालिएको ठूलो चाल हो यो,' उनले भने। उनले भनेजस्तै बालुवाटार प्रकरण राजनीतिक प्रतिशोध हो वा चाल हो, अदालतको फैसलापछि थाहा हुने कुरा हो। उनीविरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। सुनसरीका उनी निकट नेताहरूको ठम्याइ छ, यदि बालुवाटार प्रकरणमा नमुछिएको भए सुनसरी ३ मा गच्छदारलाई हराउनसक्ने नेता कोही छैनन्।