स्याङ्जामा अझै हल भएन मत गणनाको विवाद
स्याङ्जा: निर्वाचन सम्पन्न भएको आज ११ औं दिन हो। निर्वाचन आयोग आफैंले तोकेको २ दिन समयसीमा कट्न लाग्यो। तर, निर्णय आएको छैन। मुलुकका प्राय: सबै निर्वाचन क्षेत्रले संसद पाइसकेका छन्। स्याङ्जा २ को मत भने अझैं अन्योलमै पारिएको छ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि भएका मतपेटिका नगरपालिकाको भवनभित्र राखिएकाले नगरपालिकाको सबै काम ठप्प छ । नगरबासी नगरपालिकाको सेवा प्रवाहबाट बञ्चित छन् ।
नगरपालिका परिसरमा दर्जनौं सुरक्षाकर्मी परिचालित छन्। नगरपालिकाका सयभन्दा बढी कर्मचारी गेट बाहिर बसेर अत्यावश्यक सेवा दिएका छन। नगरबासी दिनहुँको होहल्ला सुनेर र हेरेर रमिते बन्नु परेको छ।
राजनीतिक दलहरु मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा मुख्य/ मुख्य चोकमा नाराबाजीसहित बसेका छन् । कुनै बेला चर्को नारा लाग्ने त कुनै बेला सांगीतिक वातावरण बन्ने गरेको छ । यी दृश्य देखेको सरोकारवाला निकाय स्थानीयको समस्या हल गर्नुको साटो चुपचाप छ ।
एमाले विगत १० दिनदेखि र कांग्रेस ९ दिनदेखि आफना अडान राख्दै सहमतिको साटो आन्दोलन गरिरहेका छन् ।
निर्वाचन आयोगले पनि निर्णय गर्न सकेको छैन। आफैँले तोकेको समयसीमामा पनि निर्णय लिन नसकेको भन्दै आयोगप्रति स्थानीयको आक्रोश छ । सबै ठाउँका मतपरिणाम सार्वजनिक भैसक्दा स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को भने मतगणना हुन नसक्नु अत्यन्तै दु:खद रहेको नेपाली कांग्रेस केन्द्रीय सदस्य सरस्वती तिवारीको भनाइ छ।
उनी भन्छिन्, ‘निर्वाचनमा अवलम्बन गर्नुपर्ने सबै बिधि र तरिका कानूनी रुपमा पुरा गरेर मतपेटिका मतगणनास्थलमा राखिरहनु दुखद् हो । यसको निकासका लागि अब ढिलो गर्नु हुदैन् ।’
त्यसो त, निर्वाचनका बेला बुथ कब्जा गरी ल्याएका मत गणना गर्न नहुने भन्दै पुनःमतदान गरिनुपर्ने बताउँछन एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे(पारस)।
नगरपालिकाको सेवा प्रवाहमा जुटेका कर्मचारी गेटमा बसेर अत्यावश्यक सेवा उपलब्ध गराइरहेका छन् । कार्यालयका अन्य काम २ सातादेखि बन्द छन् । नगरपालिकाका झण्डै एक दर्जन शाखाका प्रमुख बाहिर बसेर अत्यावश्यक सेवामात्र उपलब्ध गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए।
उनी भन्छन्, ‘मतपेटिका नगरपालिकाको भवनभित्र राखिएकाले भित्र जान पाइएको छैन। कर्मचारी, सुरक्षाकर्मी, नगरबासीलगायत नगरपालिकासँग सरोकार राख्ने सबैलाई दु:ख, कष्ट भएको छ।’