स्याङ्जामा मतगणना, बाजुरामा अझै अन्योल
स्याङ्जा/बाजुरा : निर्वाचन आयोगले निर्देशन दिएसँगै बुधबार स्याङ्जा २ मा मतगणना सुरु भएको छ। बाजुरामा भने अन्योल नै छ। सर्वदलीय बैठक एमाले प्रतिनिधि उपस्थित नभएपछि बिनानिष्कर्ष टुंगिएको छ।
आयोगले बुधबार दुवै जिल्लामा मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि स्याङ्जा २ मा मतपेटिका थन्क्याएको एघारौं दिन बुधबार बेलुकी गणना थालिएको हो। मंसिर ४ गते मतपेटिका ल्याएर वालिङ नगरपालिकाको मतगणनास्थलमा राखेपछि धाँधलीको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको थियो। एमाले नेता कार्यकर्ता १० औं दिनसम्म प्रदर्शनमा उत्रिएका थिए। कांग्रेस नेता कार्यकर्ता विधिप्रक्रिया पूरा गरी गणनास्थलमा ल्याइसकेको मत गनिनुपर्ने माग गर्दै ९ दिनदेखि आन्दोलनमा थियो। एमालेले चापाकोटका ४ बुथ कांग्रेसले कब्जा गरेको आरोप लगाउँदै उजुरी गरेको थियो।
आयोगबाट खटिएको टोली सम्बन्धित स्थल, सुरक्षा प्रमुखहरू, मतदान अधिकृत, निर्वाचन अधिकृत, सुरक्षाकर्मी, स्थानीय मतदाता सबैसँग छलफलसहित अध्ययन अवलोकन गरेर फर्केको थियो। दुई दिन स्याङ्जामा बसेर फर्केपछि आयोगले निर्धारण गरेभन्दा दुई दिनपछि निर्णय गरी पठाएको हो। यसअघि आयोगले १२ गतेको समयसीमा राखेको थियो।
आयोगले मतगणनाको निर्णय नपठाउन्जेल दुवै पक्षले धर्ना र जुलुस चर्काएका थिए। दिउँसो जब निर्णय आयो तब दुवै दल आन्दोलन स्थगन गर्दै आआफ्ना पक्षधरलाई धन्यवाद दिँदै मतगणनातिर लागेका हुन्। एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) र कांग्रेसका कार्यवाहक जिल्ला सभापति केदार काफ्लेसहित अन्य दल, स्वतन्त्र उम्मेदवार, सुरक्षा प्रमुख, निर्वाचन अधिकृतलगायतको सर्वदलीय बैठक बसी बुधबार राति ९ बजेदेखि मत गन्ने सहमति भएको थियो।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पदमा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरूबीचको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले टक्कर दिने पनि आकलन हुन थालेको छ। गठबन्धन सहितको कांग्रेसका उम्मेदवार गुरुङ पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार हुन्। यसअघि उनी समानुपातिकबाट २ पटक सांसद बनेका थिए। एमाले उम्मेदवार अर्याल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुँदै मन्त्री बनेकी थिइन् । एक प्रतिनिधिसभा र २ प्रदेशसभा गरी ३ सदस्यका लागि २५ जना प्रतिस्पर्धी छन्। प्रतिनिधिसभातर्फ १२ जना प्रतिस्पर्धी छन्। २ को १ प्रदेशतर्फ ७ र २ प्रदेशतर्फ ६ जना उम्मेदवार छन्।
चुनावसँगै नगरपालिकाको सेवा प्रवाह रोकिएको छ। कर्मचारीले मुख्य प्रवेशद्वार (गेट) मा बसेर अत्यावश्यक सेवा मात्र उपलब्ध गराएका छन्। नियमित काम २ सातादेखि बन्दै छन्। नगरपालिकाका झन्डै एक दर्जन शाखाका प्रमुख बाहिर बसेर अत्यावश्यक सेवा मात्र उपलब्ध गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले बताए।
बाजुरामा सर्वदलीय बैठकमा एमाले अनुपस्थित बाजुरामा कांग्रेस र एमालेबीच एकार्काले बुथ कब्जा गरेको आरोपप्रत्यारोप चलेको छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुई जनाले ज्यान गुमाएका थिए। प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता संजीव एडीको ज्यान गएको थियो। त्यसपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्वयुका केन्द्रीय सदस्य चेतन एडी मारिएका थिए।
निर्वाचनमा धाँधली भएको, स्वतन्त्र मतदान गर्न नपाएको र १६ वटा बुथ कब्जा गरी कांग्रेसले धाँधली गरेको भन्दै एमालेले उजुरी दिएको थियो। एमालेले ८ बुथ कब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो। उक्त उजुरीमाथि छानबिन गर्न आयोगको टोली बाजुरा आएको थियो। टोलीको प्रतिवेदनका आधारमा बुधबार मतगणना गर्न आयोगले निर्देशन दिएको हो।
त्यससँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाएको थियो। तर, एमाले प्रतिनिधि उपस्थित नभएपछि बैठक बिनानिश्र्कष टुंगिएको छ। बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक स्थगित भएको एकीकृत समाजवादीका नेता पुर रावतले बताए। ‘आज (बुधबार)को बैठकले एमालेलाई सहभागिताका लागि संयुक्त आह्वान गरेको छ,’ रावतले भने।
एमाले बाजुराले भने चेतन एडीका हत्यामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने माग अघि सारेको छ। एडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने एमाले बाजुरा सचिव भरत थापाले बताए।