बौद्धिक अपांगता भएकामाथि आफन्तबाटै हिंसा
काठमाडौं : चावहिलकी गोमा सिलवालकी छोरी निर्मल बाल विकास मध्यबानेश्वरमा अध्ययन गर्छिन्। १९ वर्षीया उनकी छोरी सिलवाल बौद्धिक अपांग हुन्। उनी आफ्नो काम आफंै गर्न सक्दिनन्। गोमालाई एकछिन् पनि छोरी एक्लै छाड्न मन लाग्दैन। भन्छिन्, ‘ऊ बोल्न सक्दिन। कसले कतिबेला के गरिदिन्छ भन्न सकिन्न। घरकै सदस्यसँग पनि विश्वास लाग्दैन। कतै जान पर्यो कि उसलाई कोठामा राखेर बाहिर बाट साँचो लगाइदिन्छु। साचो आफैंले लिएर हिँड्ने गरेकी छु।
अपांगता भएका व्यक्तिहरूमाथि घरबाहिर होस् कि घरभित्रैका सदस्यले होस् विभिन्न खालका हिंसा गरिरहेका हुन्छन्। बेलाबेलामा बाहिरिनिे नमिठा घटना सुन्दा गोमालाई डर लाग्छ। भन्छिन्, ‘तरकारी किन्न जाँदा पनि घिसारेरै भए पनि छोरीलाई सँगै लान्छु।’
यस्तै, पाल्पा ताहुकी सीता बौडेल (नाम परिवर्तन) पनि बौद्धिक अपांग हुन्। ३२ वर्षीया अविवाहित बौडेल बौद्धिक अपांग छिन्। आफन्तको घरमा बस्दै आएकी सीता पटक–पटक गर्भवती भइन्। उनलाई कसले हिंसा गर्यो उनको आमालाई थाहै भएन्। सीताले पनि भन्न सक्दिनन्। ३ पटक त उनको गर्भपतन गरियो। उनको अवस्थाको फाइदा उठाउँदै गर्भवती बनाउने मानिसको खोजी पनि भयो। तर, पत्ताा लागेन। बाध्य भएर आफन्तले सीतालाई बच्चा नबस्ने तीन महिने सुई लगाइदिने गरेका छन्।
गत वर्ष रतुवामाई–४ मोरङकी ८ वर्षीया बौद्धिक अपांग बालिकालाई बलात्कार गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ परेका थिए। यस्तै, गोर्खामा ११ वर्षीया छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक प्रक्राउ परेका थिए। यी केही उदाहरण मात्रै हुन्। नेपाल अपांग महिला संघको तथ्यांकअनुसार नेपालमा ७० प्रतिशत अपांग महिला कुनै न कुनै हिंसामा परेका छन्। यसमध्ये पनि बौद्धिक अपांग भएका महिला तथा बालबालिका प्रायः सबैले केही न केही हिंसा भोग्न परिरहेकै छ। अपांगता भएका व्यक्तिका लागि सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सकेको छैन। राष्ट्रिय अपांग महासंघका सचिव तथा बौद्धिक अपांग अभिभावक संघका अध्यक्ष राजु बस्नेतका अनुसार बौद्धिक अपांगता भएका व्यक्ति घरमै पनि सुरक्षित छेैनन्। उनी भन्छन्, ‘यस्ता व्यक्तिमा शारीरिक विकास भए पनि, उमेरअनुसार मानसिक विकास हुँदैन। कसले के गरिरहेको छ बुझ्न सक्दैनन्। नराम्रो व्यवहार गरे पनि प्रतिकार गर्न सक्दैनन्।’
निर्मल बाल विकास केन्द्रकी प्रधानाध्यापक ज्योति खनाल भन्छिन्, ‘यस्ता व्यक्तिहरूमा मानसिक विकास राम्रोसँग भएको हुन्न। हिंसा महिला पुरुष दुवैलाई हुन्छ। तर, पनि अपांग महिलामाथि हुने हिंसाको रेट उच्च छ। उनीहरू शब्दमा व्यत्ताm गर्न सक्दैनन। भन्न सक्दैनन्। अन्य कुरामा ध्यान दिँदैनन्।’ खनालका अनुसार बौद्धिक अपांग व्यक्तिहरू शारीरिक विकास भएपछि स्वाभाविक रूपमा विपरीत लिंगप्रति आकर्षित भइरहेका हुन्छन्। कतिपय अवस्थामा उनीहरू आफैं पनि शारीरिक सम्बन्धका लागि तयार हुन्छन्। तर, ठीक–वेठीक छुट्याउन सक्दैनन्। यसले गर्दा पनि हिंसामा पर्ने सम्भावना बढी हुने गरेको हो।
बाल विकासमा पढ्न आउने व्यक्तिको अभिभावक प्रायः सबैले हिंसाको घटना सुनाउने गरेको बताउँदै खनालले यसका लागि परिवारका सदस्य नै सचेत हुनुपर्ने तर्क राख्छिन्। भन्छिन्, ‘उनीहरूको शारीरिक मानसिक अवस्थालाई ख्याल गरेर राम्रा व्यवहार सिकाउने, ब्याड टच र गुड टचको विषयमा ज्ञान दिने गर्नुपर्छ।’
बाल विकास केन्द्रमा १०३ जना बौद्धिक अपांग भएका व्यक्तिहरू अध्ययन गर्छन्। २७ जना महिला र अन्य पुरुष छन्। एकपटक विद्यालय भर्ना भएका व्यक्ति प्रायः जीवनभर नै पढिरहेका हुन्छन्। किन त ? उनीहरूको मानसिक विकास खास भएको हुन्न। धेरै सिक्न पनि सक्दैनन्। उनीहरूको समय पास गर्न र भुलाउनपनि अभिभावकले विद्यालय पठाउँछन्।
आगामी मंसिर १७ गतेको अन्तर्राष्ट्रिय अपांग दिवसमा देशभरका अपांगता भएका व्यक्ति सहभागी भएर र्याली आयोजना गरिरहेका छन्। अपांगता भएका आधारमा हिंसामा पारिनु हुन्न भन्ने उनीहरूको आवाज पनि छ।