खुसी कसरी ?
भनिन्छ, खुसीको साँचो आफैंसँग हुन्छ। चाबी खोलेर खुसीभित्र प्रवेश गर्न सक्छौं। कति मात्राले खुसी हुन सक्छौं ? खुसीलाई केले नाप्न सकिन्छ ? केके कुराहरू पूरा भए पूर्णरूपमा खुसी भइन्छ ? खुसी भएर रहन सक्ने अन्तिम बिन्दु कुन होला ?
सानैमा बुझेको कुरा के भने जब हामी हरकुरामा असन्तुष्ट हुन्छौं तब कहिल्यै खुसी हुन सक्तैनौं। हजुरबुवाले सानामा यस्तै असन्तुष्ट व्यक्तिहरूका कथा सुनाउनु हुन्थ्यो। बडो लयात्मक तरिकाबाट सुनाइएका ती कथा हँसाउने र अन्त्यमा चसक्क बिझाउने पनि हुन्थे। बाटोघाटो हिँड्दा होस् या कतै अलपत्र परेका बेलाका कतिपय त ती सत्यकथा नै पनि हुन्थे।
हजुरबुवाको भनाइअनुसार जो ससानो कुरामा सन्तुष्ट हुन्थ्छ, ऊ सधंै हँसिलो, खुसिलो र उज्यालो रहन्छ। उसका कुरा गराई पनि ओजिलो र अर्थपूर्ण हुन्छ। जो जे कुरामा पनि असन्तुष्टि दर्शाउँछ र विवादमा उत्रन्छ, उसको अनुहार जहिले कालो बादल मडारिएको आाकाशजस्तो हुन्छ। न ऊ कहिल्यै खुसी भएर बाँच्न सक्छ, न त खुलेर बोल्न। यसैकारण ऊ सबैबाट पछि पर्दै जान्छ र अन्त्यमा एक्लो बन्छ। पछि पर्दै जाने र अन्त्यमा एक्लो हुने कुराले मेरो मनलाई भित्रैदेखि चिसो बनाउँथ्यो। ऊ बेला सुनाउने यस्ता कथाबाट प्रेरणा मिलेको रहेछ। त्यसैले सायद आफन्तले भन्छन्, यो त हजरबुवा जस्तै छे।
हुन पनि मेरो हजुरबुवा यति सकारात्मक हुनुहुन्थ्यो कि उहाँको मुहार अँध्यारो भएको कहिले देखिनँ। उहाँ गाउँकै मान्यगन्यमा पर्नुहुन्थ्यो। मान्यगन्य यसकारणले होइन कि उहाँसँग घेरै सम्पत्ति थियो, असाध्यै सकारात्मक भएर हो। हर दुःखको मलम उहाँसँग थियो। उहाँको बोली नै सबैका लागि मलम हुन्थ्यो। गाउँका अधिकांश मानिस हजुरबुवाकोमा अनेक समस्या लिएर आउँथे। रुँदै आएकाहरू प्रायः हाँस्दै जान्थे। उहाँको बोली त्यति नै अर्थपूर्ण हुन्थ्यो, जति उहाँको अनुहारमा चमक हुन्थ्यो। सम्झन्छु, के मेरो हजुरबुवालाई तनाव हुँदैनथ्यो ?
पक्कै हुन्थ्यो। तर कति सहजै व्यवस्थापन गर्नु हुँदोरहेछ ! समस्या त राजादेखि रैतीसम्मलाई आइपर्ने कुराहरू हुन्। ‘कुरा खेलाएर तनावमा बस्यो भने त खुसीले जीवनमा प्रवेश गर्नै पाउँदैन।’ गौतम बुद्धले भन्नुभएको थियो। सबैकुरा समयसँगै ठिक हुन्छ भने तनाव किन लिनु ? अनि कहिल्यै ठिक हुँदैन भने तनाव किन लिनू ? अहिले हो भने हजुरबुबालाई मोटिभेसनल स्पिकर भन्थे सायद मानिसले।
साथीले फोनमा भनी, ‘दाजुकी सात वर्षकी छोरीले अचम्ममा पारी।’ ‘किन के भयो र ?’ उसले भनी, ‘उसलाई लिएर किनमेलमा गएँ। के किन्दिउँ ? भनें। उसले भनी ‘भयो पर्दैन फुपू हजुरको धेरै खर्च भएको छ यसपटक।’ सोधें, ‘किन उसले त्यसो भनी ?’ साथीले भनी, ‘खासमा आमाको उपचारमा केही सहयोग गरेकी थिएँ। भाउजूले नानीको पैसा निक्कै खर्च भयोे भनिरहँदा ऊ त्यहिँ थिई। कस्तो अचम्मसँगले उसको दिमागमा त्यो कुरा पसेको रहेछ।’ फरक परिवेशका यी दुइटा उदाहरण सत्य हुन्। यसको अर्थ, हामीले बालबालिकालाई जति बुझेका छौं, उनीहरू त्यतिकै मात्रै छैनन्। तीन दशकअगाडि ममा पर्न गएको छाप र अहिले साथीकी दाजुकी छोरीमा पर्न गएको छाप एउटै हो। बुझाइ उही हो।
चिन्ता लाग्छ, अचेल जति चिन्तित अनि व्यस्त छौं हामी उति नै ईष्र्यालु पनि छांै। ईष्र्याले जन्माउँछ असन्तुष्टि अनि खोस्न पुग्छ खुसीलाई। अनि आपैmंले हराएको खुसीलाई कहिलै भेट्न सक्तैनौं, जबसम्म ईष्र्या र असन्तुष्टि त्याग्न सक्तैनांै। छोराछोरीले हामीबाटै सिकिरहेका हुन्छन्। मान्छे मन परेन भने घरपरिवारमा ठूलोठूलो स्वरमा उसको कुरा काट्न थाल्छौं। छिमेकीले घरको तला थप्यो, त्यसमा पनि असन्तुष्ट अनि बोलिहाल्छौं। यी पनि दुःखकै कारण। कसैले आफूले मन परेको लुगा लगाइदियो आफूले किन्न सकिएन। यो अर्काे दुःखको कारण। फलानोको प्रमोसन भयो मेरो भएन। फेरि दुःख। ससाना कुरामा दुःखी भएर बालबालिकाकै अगाडि निष्फिक्री कुरा गरिरहन्छौं। मानौं, उनीहरू केही बुझ्दैनन्। तर बालबालिकाले कसरी हामीलाई ‘वाच’ गरिरहेका हुन्छन्। नानीबाबुलाई भविष्यसम्मै खुसी र सुखी देख्न चाहन्छौं भने सकेसम्म सकारात्मक कुरा गरौं। हामी जति सकारात्मक हुन्छौं त्यति नै खुसी हुन्छौं र त्यति नै अरूलाई पनि खुसी दिन सक्छौं।
खुसीको पहिलो स्रोत हो, आपूmसँग जे छ त्यसैमा सन्तुष्ट हुनु। साथीभाइ छनोटमा ध्यान दिनुपर्छ। जस्तो पायो त्यस्तो साथीलाई छान्नु भनेको पनि खुसी खोसिनुजस्तै हो। कुनै भेलामा कोही असन्तुष्ट साथी छ भने त्यहाँको माहोल नै खराब भैदिन्छ। खुसी हुन जम्मा भएकाहरू दुःखी हुँदै घर फर्कनेछन्। अनि रिसलाई त्याग्नु पनि खुसीलाई निम्ता दिनु हो। हामीमध्ये कतिको बानी हुन्छ, सानो कुरामा झनक्क रिसाउने। कमैले सोच्छौं कि त्यो हाम्रो रिसले वरपरका मानिसको पनि खुसी खोसिन्छ भनेर। सोचौं त हामीलाई कतिपटक अरूका कारणले यस्तो भएको छ ? हाँसो, रिस, माया, ईष्र्या, खुसी, दुःख, पीर यी सबै कुरा प्रत्येक मानिससँग हुन्छन्। तर यिनलाई कहाँनेर र कसरी बाहिर ल्याउने ? कसरी परिचालन गर्ने ? सही ज्ञान नहुँदा खुसी खोसिएको हुन सक्छ।