प्रधानमन्त्री बनेर राष्ट्रमा आएका सारा संकट पन्छाउन चाहान्छु : नेता पौडेल
तनहुँ : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रको उद्धारका लागि आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको बताएका छन्।
तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू देशको कार्यकारी प्रमुख हुन चाहेको बताएका हुन्।
उनले भने, 'यो राष्ट्रको उद्धार गर्न म नै अग्रसर हुन पर्यो भन्ने मेरो मनले ठहर गरेर यसपाली आफूलाई प्रधानमन्त्रीको लागि प्रस्तुत गरेको छु। म नेपालको कार्यकारी प्रमुख हुन चाहान्छु। म यो देशको प्रधानमन्त्री बनेर यो देशलाई नयाँ ढङ्गले अगाडि बढाउन चाहान्छु। यो राष्ट्रमा आएका सारा संकटलाई म पन्छाउन चाहान्छु। राष्ट्रलाई बलियो बनाएर, सुरक्षित नेपाल बनाएर, सम्पन्न नेपाली बनाउनका लागि र यो देशमा भ्रष्टचार, कमिशन नियन्त्रण गरेर, यो देशमा सुशासन कायम गरेर, यो देशको उन्नति गर्न चाहान्छु।’
नेता पौडेलले यो देशमा लोकतन्त्र रक्षा गर्नका लागि आफूलाई अग्रसर गराएको उल्लेख गर्दै त्यहाँसम्म पुर्याउनका लागि बल पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरे।
संविधानलाई अहिले न्याय चाहिएकाले न्यायको आभास आफूले दिएको हुँदा आफूलाई पनि न्याय हुनुपर्ने बरिष्ठ नेता पौडेलको तर्क छ।