दुई दशक अघिको संयोग

दुई दशक अघिको संयोग

दोहा : फुटबल पनि एउटा साइकलजस्तै घुमिरहेको हुन्छ। दुई दशक अघि समूह चरणमा भिडेका पोर्चुगल र दक्षिण कोरिया फेरि एकपटक आमनेसामने हुन लागेका छन्। सुरुवाती दुई खेलमा घाना र उरुग्वेलाई पराजित गरेको फर्नान्डो सान्तोसको टिम पोर्चुगल समूह विजेता बन्ने अभियानमा छ। त्यसैले समूह चरणको अन्तिम खेलमा स्पष्ट तीन अंकको जितसहित उच्च मनोबललाई कायमै राख्नु पोर्चुगलको प्रमुख उद्देश्य हो। 

नकआउट चरणमा पुगिसकेकाले सान्तोसले टोलीका प्रमुख खेलाडीलाई विश्राम दिने सम्भावना पनि छ। तर, एसियाली मुलुकविरुद्ध एजुकेसन सिटी रंगशालामा भेट हुँदा पोर्चुगलले समूह ‘एच’को कोटा पूरा गर्ने खेलका रूपमा मात्रै लिने छैन, दुई दशक अगाडिको हारको बदला पनि लिने योजना बुनेको छ।

यसअघि यी दुई टोली विश्व फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगितामा एक पटक मात्र भिडेका थिए। सन् २००२ मा समूह चरणको अन्तिम खेलमै भएको त्यो भेटमा दक्षिण कोरियाले पोर्चुगललाई १–० गोलले पराजित गरेको थियो। सोही हारका कारण पोर्चुगल समूह चरणबाटै घर फर्किनु परेको थियो। यसपाली कोरियाका लागि यो खेल सबैथोक हो। पोर्चुगलविरुद्धको जित सहज रुपमा नकआउट चरणमा पुग्ने बाटो पनि हो। यसका लागि उरुग्वेले साँघुरो नतिजामा घानालाई पराजित गर्नुपर्नेछ। पाउलो मेन्टोको टोली दक्षिण कोरियाले विश्वकपमा खेलेका पछिल्ला सातमध्ये पाँच खेलमा हार बेहोरेको छ भने एक जित र एक बराबरी नतिजा निकालेको छ। तर, समूह चरणको अन्तिम खेलमा तेस्रो पटक जित निकाल्ने लक्ष्यमा रहनेछ, कोरियाली टिम। सन् २००२ मा पोर्चुगल र सन् २०१८ मा अन्तिम खेलमा जर्मनीलाई पराजित गरेको कोरियाले दुवै टोलीलाई प्रतियोगिताबाट बाहिर निकालेको थियो। एजुकेसन सिटी रंगशालामा पहिलो गोलको विशेष अर्थ रहनेछ। किनभने, क्रिस्टियानो रोनाल्डोले विश्वकपमा पहिले गोल गरेका कुनै पनि खेलमा पोर्चुगल हारेको छैन। विश्वकपमा पहिलो गोल गरेका पछिल्ला १८ खेलमध्ये पोचुर्गलले १५ वटा जितेको छ भने तीन खेलमा बराबरी खेलेको छ। 

घानाविरुद्धको खेलमा रातो कार्ड पाएका कोरियाली मुख्य प्रशिक्षक बेन्टो यो खेलमा टच लाइनमा अनुपस्थित हुनेछन्। घानाविरुद्ध २–२ गोलको नतिजामा पराजित हुँदा रेफ्री एन्थोनी टेलरको निर्णयप्रति देखाएको तीव्र असन्तुष्टिका कारण उनले रातो कार्ड सामना गर्नुपरेको थियो। अन्तिम समयमा उनको टोलीले कर्नर पाए पनि रेफ्रीले खेल सकिएको सिठ्ठी बजाएपछि उनी आक्रोसित बनेका थिए।

‘हामीले अन्य खेलमा जस्तै तयारी जारी राख्नुपर्छ। यसो भएमा मात्रै हामी आफ्नो रणनीतिमा सफल हुन सक्छौं’, कोरियाका सहायक प्रशिक्षक सर्जियो कोस्टाले खेलपछि भनेका थिए, ‘पोर्चुगलविरुद्धको खेलमा बेन्टो उपलब्ध हुने छैनन्। यो हाम्रा लागि ठूलो घाटा हो। तर, उनको अनुपस्थितिमा पनि हामी एकजुट हुनेछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.