समावेशी, समानता र सद्भावको मोडर्न आर्ट
जनकपुरधाम: मिथिला कला चित्रमार्फत समाज रुपमान्तरणको सशक्त माध्यम बनोस् भन्ने चाहन्छिन् मनिषा साह ।
उनी भन्छिन्, 'अब मिथिलाको जीवनशैली मात्र होइन, त्यहाँका नारीले भोगेका दुःख र पीडा पनि कलामार्फत व्यक्त गर्ने समय हो । त्यही कामलाई नयाँ ढंगले पस्कने प्रयास नै ‘मोर्डन मिथिला’ हो ।’
अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ले जनकपुरधाममा सडक कला प्रदर्शनी गर्ने कार्यशालामा उनले बनाएका चित्रमा दाइजो, भ्रुण हत्या, घुम्टो प्रथा, समाजिक तथा सांस्कृति लगायतका सामाजिक समस्या चित्रित छन् ।
उनका चित्रले महिला अझै सामाजिक बन्धनको सिकार बनेको देखाउँछ । आफूले बनाएका चित्रबारे उनले भनिन्, ‘महिलाले अझै स्वतन्त्र विचार राख्न पाउँदैनन् । आफूले रोजेको बाटोमा हिँड्न र काम गर्न सम्भव नै छैन भन्दा हुन्छ ।’
मनिषाका चित्रमा समाजका नकारात्मक घटनामात्र होइन्, सकारात्मक पाटालाई पनि उतारिएको छ ।
मिथिलामा घरेलु हिंसा र समाजिक विभेदमात्र होइन, सुन्दर जनजीवन र हँसिला अनुहार पनि छन् । ‘क्यानभासमा सामाजिक विकृति मात्र होइन्, सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउने प्रयास गरेको छ, उनले भनिन् ।
कलाकार अलेहान्द्रो अल्पसंख्यक र सामाजिक रुपमा बहिष्कृत समुदायहरुको आवाजको प्रवर्द्धन र सम्मानमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएको अमेरिकी दूतावासका मिडिया संयोजक अपार पौडेलले जानकारी दिए ।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा जनकपुरका स्थानीय कलाकारसँग सहकार्य गरी मिथिलाको जीवन्त कला र बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न यो परियोजना सञ्चालन गर्न लागेको हो ।
नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरुको समूहले जनकपुरधामस्थित गंगासागर घाटमा प्रत्यक्ष कलाकार्यशालामा भाग लिनेछन् ।
अर्को हप्ता नेपाली कलाकारले अल्पसंख्यक समावेशिताको परिकल्पना समेटिएको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रुपमा काम गर्नेछन् । अन्तिम चरणमा पूर्ण भित्ते चित्र सार्वजनिक गरिने अमेरिकी दूतावासका संस्कृति मामिला प्रमुख सारा नाईटले जनाएका छन् ।
कलाको दूतका रूपमा नेपाल रहँदा म्यान वनले सामाजिक समावेशिता र समानताका विषयमा म्यान वनले आफ्नै काम र ‘विरोध कला’ भित्र चित्रमार्फत प्रस्तुत गरेका थिए । यो कार्यक्रममा नेपाली कलाकार सुदीप बल्ला, खेमबहादुर पाल्पाली, किरण महर्जन, मनिषा साह सहभागी हुनेछन् ।