जाजरकोटमा रेडपाण्डा मृत फेला
जाजरकोट : कुशे गाउँपालिका–९ पैंकमा मृत अवस्थामा रेडपाण्डा फेला पारेको छ। स्थानीयले मृत अवस्थामा रेडपाण्डा फेला पारेका थिए।
वडा कार्यालय नजिकै मरेको रेडपाण्डाबारे प्रहरी चौकीलाई स्थानीयले जानकारी गराएका थिए।
पैंकको प्रहरीले सरोकारवालाको उपस्थितिमा सब–डिभिजिन वन कार्यालय कुशेलाई मृत रेडपाण्डा जिम्मा लगाएको छ।
रेडपाण्डाको छाला तस्करीका लागि शिकारीले मारेको आशंका गरिएको छ। यसबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका रेन्जर पूर्णबहादुर चन्दले बताए।
विश्वमा दुर्लभ वन्यजन्तु रेडपाण्डा जाजरकोट जिल्लाको बारेकोट, कुशे, नलगाड र जुनीचाँदेका जंगलहरू बासस्थान रहेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत रेडपाण्डा संरक्षणमा सरकार र विभिन्न दातृ निकायले जोड दिँदै आएको भएतापनि जाजरकोटमा रेडपाण्डाको चोरी शिकारी तथा चोरी निकासी हुँदै आएको छ।