सुस्त गतिमा बेनी-जोमसोम-कोरला सडक
जोमसोम: उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरलाको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ । प्रतिकुल मौसम, प्राकृतिक विपद्का साथै निर्माण कम्पनीको ढिलासुस्तीले राष्ट्रिय गौरवको कोरला सडक आयोजना निर्माणमा ढिलाई भएको हो ।
भारतीय नाकाबन्दीपछि सडक स्तरोन्नति सुरु गरिएको कोरला सडक अन्तर्गत अहिले म्याग्दी खण्डको ३ वटा प्याकेजमा मात्र काम भएको छ । अन्य स्थानको काम ठप्पै जस्तो छ । म्याग्दीको गलेश्वरदेखि तातोपानी र तातोपानीदेखि मुस्ताङको कोवाङ खण्डसम्म आशिंक सडक निर्माणको काम भईरहेको छ ।
जोमसोम-कोरला सडकको २५ किमी सडक र निर्माणधीन ८ वटा पुलको काम ठप्पै छन् । यसअघि निर्माणको काम धमाधम भईरहेको लोमान्थाङदेखि छोसेरसम्मका ४ पुल चिसोले निर्माण हुन सकेका छैनन् । कागबेनी, छुसाङ, घमी, चराङलगायतका स्थानमा निर्माण कम्पनीको ढिलासुस्तीले सडक पुलको काममा भौतिक प्रगति भएको छैन ।
उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेकाले मजदुर र उपकरण चालक काम गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । आयोजनाले मौसम प्रतिकुलताका कारण जोमसोम-कोरला सडकमा काम गर्न नसक्ने अवस्था रहेको भएपनि केही निर्माण कम्पनीले सुरुआती चरणदेखि नै निर्माणको काममा ढिलासुस्ती गरेको बताएको छ ।
त्यस्तै, उपल्लो मुस्ताङ जोड्ने कागबेनी पुल अन्तिम चरणमा पुगेपनि ठेकेदारले काम अलपत्र छोडेर सम्पर्कविहीन छन् ।
विभिन्न बहाना बनाउँदै ठेकेदारले पटक/पटक म्याद थप्दै आईरहेको बेनी-जोमसोम ७६ किमी सडकको चौथो पटक थपिएको डेटलाईन गत असारमा सकिएको छ। सार्वजनिक खरिद नियमावली १२ औँ संशोधनअनुसार ४ वटै खण्डको म्याद २०७९ असार मसान्तसम्म कायम गरिएको थियो।
बेनी-जोमसोम सडक अन्तर्गत ३ वटा खण्डको काम आशिंक गति लिएपनि अहिले कोवाङ-जोमसोम चौथो खण्डको १६ किमी सडकको काम अलपत्र छ ।
०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको चौथो खण्डको १६ किमी सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । जेभीले ७० करोड ५२ लाख लागतमा काम अघि बढाए पनि त्यसपछि सहायक निर्माण कम्पनी पटक/पटक परिवर्तन हुँदा सडकको कामले गति लिन सकेको छैन।
पछिल्लो पटक जिम्मा लिएका प्रतिनिधि भावेश बोहरा अहिले आयोजनाको सम्पर्कमा छैनन् । जसले सडक निर्माण अलपत्र छ ।
यस्तै जोमसोम-कागबेनी १३ किमी अस्फाल्ट कालोपत्रेको काम पनि सुरुआती चरणबाटै चरम ढिलासुस्ती भईरहेको छ । ५७ करोड ९८ लाख रुपैयाँ लागत स्टेमट रहेको जोमसोम-कागबेनी कालोपत्रे सडक रौटाहा आत्रेय सारस जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
२०७८ असोज ४ गते ठेक्का सम्झौता भई २०८० असोजमा सम्पन्न गर्ने गरी १८ महिनाको समय निर्धारण गरिएको थियो । तर, ठेक्का सम्झौता भएको १३ महिना बितिसक्दा जम्मा ५ प्रतिशत पनि काम हुन सकेको छैन । यहाँ गत आर्थिक वर्षमा निर्माण कम्पनीले २७ लाख भुक्तानी बुझिसकेको छ।
बेनी-जोमसोम कालोपत्रे सडकको प्रतिनिधि राजेश कुवर अहिले सम्पर्कविहिन रहेको आयोजनाले बताएको छ।
उत्तरी चीनसँग व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले सरकारले २०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना अघि बढाएको हो ।
सुरुआती बेनी-जोमसाम-कोरला गरी ११ सडकखण्ड र केही पुलको काम अघि बढाईएको भएपनि पछिल्लो चरणमा जोमसोम-कागबेनी कालोपत्रे, मालढुङ्गा-बेनी १३ किमी सडक र बेनी-गलेश्वर ४ किमी सडकको योजना थपिएका हुन् ।
आयोजनाको हालसम्मको संम्पूर्ण भौतिक प्रगती ७८ प्रतिशत र वित्तिय प्रगती ६८ प्रतिशत रहेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनका अनुसार बेनी-जोमसोम ७६ किमी मध्ये २६ किमी सडकको कालोपत्रे सम्पन्न भएको छ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमा कुल १९ वटा पुलको काम अघि बढाईएकोमा ५ वटा पुल निर्माण सम्पन्न भईसकेका छन् । सडकमा कुल १४ वटा पुल निर्माणाधीन अवस्थामा छन्। आयोजनाले अहिले मुस्ताङको लेते खोला,छाक्ताङ खोला र मार्फा खोलामा पुल निर्माणको काम भईरहेको जनाएको छ ।
आयोजनाले बेनी-जोमसोम ७६ किमी सडकको ७५ प्रतिशत र जोमसोम-कोरला ११० किमी सडकको भौतिक प्रगति ९८ प्रतिशत रहेको जनाएको छ।