नालीमा डुबेका युवकको मृत्यु
नुवाकोट : नुवाकोटको पञ्चकन्यामा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका स्थानीय युवकको ज्यान गएको छ।
जिल्लाको पन्चकन्या गाउँपालिका–३ का ३५ वर्षीय युवक सरोज लामालाई स्थानीय नालीमा डुबेको अवस्थामा उद्धार गरिएकोमा उनको घर पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरभन्दा केही दूरीमा रहेको खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा सरोजको उद्धार गरिएको थियो। उनी गाउँघरमा प्लम्बरको काम गर्दै आएका थिए।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक रूपक खड्काको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।