निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन

निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन

धनगढी : धनगढीमा विद्यार्थी मृत्यु प्रकरणमा शुक्रबार निषेधाज्ञाको उल्लंघन गर्दै दिनभर प्रदर्शन भयो। साथी गुमाएपछि आक्रोशित भएका धनगढीको पञ्चोदय माविका विद्यार्थीले शुक्रबार स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा प्रहरीले २७ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने २१ जनालाई नियन्त्रणमा लिएर बेलुकी छोडेको छ। बिहीबार कैलाली जिल्लाको धनगढीमा रहेको पञ्चोदय माविमा ८ कक्षामा अध्ययनरत १४ वर्षीया चेतना साउदको सडक बनाउने क्रममा ग्रेटरले च्यापेपछि मृत्यु भएको थियो।

चेतनाको विद्यालय जाने क्रममा विद्यालय नजिकै मृत्यु भएपछि आक्रोशमा आएका विद्यार्थी बिहीबार बिहानैदेखि आन्दोलित भएका थिए। उनीहरूले बिहीबार धनगढी बजार क्षेत्रको मुख्यमुख्य क्षेत्रमा टायर बाल्दै प्रदर्शन गरेका थिए। विद्यार्थीले जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा समेत टायर बालेर प्रदर्शन गरेपछि स्थानीय प्रशासनले बिहीबार बेलुकीदेखि अर्को आदेश नआउँदासम्मका लागि धनगढी बजारको मुख्य बजारमा निषेधाज्ञा जारी गरेको थियो। 

तर, शुक्रबार बिहान विद्यार्थीले स्थानीय प्रशासनको निषेधाज्ञाको अवज्ञा गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। पञ्चोदय मावि नजिकै भेला भएका उनीहरूले डिभोटी चोक, एलएन चोक, पार्क चोक र सहिदगेट क्याम्पस सडकका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। धनगढीको पार्कचोकमा उनीहरूले प्रहरी माथि ढुंगामुढासमेत गरेका थिए। प्रहरीले पनि निषेधाज्ञाको उल्लंघन गरेको भन्दै प्रदर्शनका क्रममा रहेका विद्यार्थी माथि २७ राउन्ड अश्रुग्यास हानेको छ।

प्रदर्शनकै क्रममा प्रहरीले २१ जना विद्यार्थी र उनीहरूलाई आन्दोलनमा सहयोग गर्नेहरूलाई पक्राउ गरेको छ। यद्यपि पक्राउ गरेका सबैलाई शुक्रबार बेलुकी छोडिएको छ। प्रदर्शनमा रहेका विद्यार्थीले धनगढी खुटिया सडक बनाइरहेको कालिका कन्स्ट्रक्सनका ग्रेटर चालक विमल कुमालले बालिकाले साइकलबाट लडेर घाइते भएपछि गाडी ब्याक गरेर किचेको आरोप लगाएका छन्।

उनीहरूले बालिकालाई ब्याक गरेर च्याप्ने चालकलाई कर्तव्य ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। प्रहरीले चितवन महानगरपालिका—२८ का चालक विमल कुमाललाई पक्राउ गरिसकेको छ। चालक कुमालले मदिरा सेवन गरी चलाइरहेको पुष्टि भएको छ। ना १ क ९७५ नम्बरको उक्त ग्रेडर कालिका कन्स्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ।

बिहीबार दिनभरि मृतक बालिकाको शव दुर्घटना भएकै स्थानबाट विद्यार्थीले उठाउन दिएका थिएनन्। दिनभरि बालिकाको शव उठाउन नदिएपछि बल प्रयोग गरेर प्रहरीले बिहीबार बेलुकी शव सेती प्रादेशिक अस्पताल लगेको थियो। त्यतिबेला पनि प्रहरीले विद्यार्थी माथि बल प्रगोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। 

धेरै जनाले प्रहरीले ससाना बालबालिका माथि दमन गरेको र नाबालकहरूलाई पक्राउ गरेको भन्दै आलोचना गरेका छन्। 

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले भने प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी गरेका छन्। उनले निषेधाज्ञा जारी भएको क्षेत्रमा प्रदर्शन गरेपछि अश्रुग्यास हानेर भीड तितरबितर मात्रै गरिएको बताए। ‘प्रहरीले संयमित भएर काम गरिरहेको छ। हवाई फायर र सुरक्षाका अरू कडा कुनै पनि विधिहरू हामीले अपनाएका छैनांै, बालबालिका भनेर नै त्यस्तो गरिएको हो,’ डीएसपी जोशीले भने। उता बालिकाका आफन्तहरूले शुक्रबार साँझ मृतक चेतना साउदको शव बुझेर अत्येष्टिका लागि लगेका छन्। उनीहरूले चालकका विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन् भने शव बुझेर लगेको प्रवक्ता जोशीले बताए। 

स्थानीय प्रशासनले धनगढी उपमहानगरपालिका—१ को पूर्वमा फूलबारी बसपार्कदेखि पश्चिममा धनगढी उपमहानगरपालिका—४ को रातोपुलसम्म, धनगढी उपमहानगरको उत्तरमा वडा नम्बर ५ को सामुदायिक प्रहरी कार्यालयदेखि दक्षिणमा वडा नम्बर १ र २ को हुलाकी राजमार्गसम्म निषेधाज्ञा जारी गरेको थियो। 

निषेधाज्ञा हट्ने

जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा शनिबार विहान ४ बजेदेखि हटाउने बताएको छ। किशोरीको मृत्युको घटनापछि शान्ति सुव्यवस्थाको अवस्थालाई दृष्टिगत गरी स्थानीय प्रशासनले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीको घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। शुक्रबार साँझ सूचना जारी गर्दै विहान ४ बजेबाट निषेधाज्ञा हट्ने प्रशासनले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.