दमाईंधुराको त्यो बाघजात्रा

दमाईंधुराको त्यो बाघजात्रा

बहादुर शाहको नेतृत्वमा पश्चिम कुमाउँ–गढवाल हानिएको थियो। त्यतिबेलासम्म डडेलधुरा क्षेत्रमा दमाईं (जैरु) हरूको मात्रै बसोबास थियो। अमरगढी नगरपालिकाका रैथाने भरत दमाईंका अनुसार सदरमुकाम खलंगा बजारमा पूरै दमाईंहरूको बाहुल्य थियो।

दुईचार घर थापा, क्षेत्री र एकदुई घर कामीको थियो। यहाँ सुरुमा दमाईंहरू लमजुङबाट आएको बूढापाकाबाट जानकारी पाइन्छ। अमरगढी किल्लाको पूरै बजार क्षेत्र नै दमाईं पुर्खाहरूको जमिन थियो। यहाँको जमिनको लालपुर्जा नै दमाईं खानदानको थियो। शासकवर्गका मान्छेहरूले सुरुमा दस हात लिँदै १० मिटर कब्जा गर्दै गए।

‘जग्गाजमिन तिमीहरूले नै कमाउनू, तिरो तिर्न सक्दैनौं, हामी तिरिदिउँला’ भनेर सहयोगी बनिटोपले। यसो गर्दै नापीमा दमाईंहरूको जग्गाजमिन सबै सिरिखुरी पारिदिए। अरूको प्रवेशसँगै चरम जातीय विभेद र अपमानले सबै विस्थापित भए।

भरत दमाईं र अनिल विश्वकर्मा मिलेर २५ वर्षअघि एक अभियान चलाएका रहेछन्। डडेलधुराका स्थानीयबाहेक बाहिरबाट आएकाहरूले जग्गाजमिन किन्न नपाउने भन्ने जागरण ल्याएको उनले बताए। अभियानमा सबैको साथ सहयोग नहुँदा सफल भएन। अर्को कुरा, दमाईं पुर्खाहरूको जग्गा, जमिनसमेत अरूले नै हडपिसकेका थिए। १९९५, २०३३ र २०३४ सालको नापीका क्रममा नै टाढाबाठाबाट दमाईं खानदानको जमिन सबै कब्जा गरिएको हो। दमाईंधुरा (डडेलधुरा), अमरगढी किल्लानजिक रहेको वर्तमान दमाईंलगायत शिल्पी बस्ती।

यस ठाउँमा पहिला मुखिया भन्ने चलन नै थिएन। कर्णबहादुर थापालाई २०३३ सालमा मुखिया बनाएर पठाइयो। योजनाबद्ध रूपमा उनलाई दमाईंहरूको जमिन कब्जा गर्नकै लागि खलंगाको मात्रै मुखिया बनाइयो। तल्लो, मल्लो र बीच गरी तीन खलंगा थिए। थापाको आगमनबाट जमिन कब्जाले झनै तीव्रता पायो।

२०४० सालसम्म आउँदा दमाईंहरूको जग्गाजमिन पूरै सकिएको थियो। दमाईंहरूको ५० प्रतिशतभन्दा बढी जमिन खोसियो। एक दमाईं परिवारको डडेलधुरा बाघबजारमा पहिला १० देखि १५ रोपनी जमिन थियो। उनको जमिन केही जिल्ला प्रशासन कार्यालय र बैतडी राजमार्गमा पर्‍यो।

केही चलाख व्यक्तिले रैथाने दमाईंहरूको सोझोपनको फाइदा उठाए। अहिले उनीहरूसँग दुईतीन आना जग्गा मात्रै बाँकी छ। पहिलाको खलंगा बजार दमाईंहरूको भन्ने गरिन्थ्यो। त्यस समयमा पूरै दमाईं जातिको मात्रै बस्ती र बाहुल्य भएकाले दमाईंधुरा भनिन्थ्यो। यहाँ अझैसम्म करिब ७५ प्रतिशत जंगलले ढाकेको दमाईंधुरामा पहिला घनाजंगल थियो। जसले गर्दा बाघले घरपालुवा जनावरसँगै ठूलो मानवीय क्षतिसमेत पुर्‍याउने गरेको थियो। अहिलेको मुख्यबजार क्षेत्र बाघबजारमा बाघले नागरिकलाई त्रसित गर्ने गथ्र्यो। त्यसबेलामा सुरक्षा निकायको पहलमा बाघलाई लखेट्दै आमनागरिकमा सचेतना फैलाउन स्थानीयले बाघ लखेटेको सम्झनामा बाघजात्रा मनाइन्थ्यो।

पहिला बाक्लो र घनाजंगलमा दमाईं पुर्खाहरूले बाघलाई खोरमा थुन्ने भएकाले बाघखोड नामकरण भएको पाइन्छ। अहिले बजार क्षेत्रले ढाके तापनि दमाईं पुर्खाहरूले बाघलाई खोरमा थुनेको सम्झनामा बाघजात्रा मनाउने चलन चलाएको पाइन्छ। बाघजात्रा २० देखि २५ वर्षअघिसम्म मनाइन्थ्यो। बाघजात्रा मनाउने चलन प्रायः लोप भइसकेको थियो। स्थानीय भरत दमाईंका अनुसार जातीय विभेद र अपमानकै कारण बाघ जात्रा मनाउन छोडिएको हो।

जात्रामा मुख्यगरी कामी, दमाईं, सार्की र केही नेवार परिवार संलग्न हुन्थे। जातीय विभेद र अपमानकै कारण नेवार जाति जात्रामा सहभागी हुन छाडे। त्यसपछि दमाईं, कामी, सार्कीले मात्रै मनाउँदै आए। यो जात्रा कृष्ण जन्माष्टमीको अगाडि मनाइन्छ। जात्रामा कामीको पुरुष बाघ बन्ने गर्छन्। मुखमा बाघको आकृति लगाउँथे। शरीरमा पुच्छर लगाएर हातखुट्टाले टेकेर बजार परिक्रमा गराइन्थ्यो। बाघलाई सार्कीले सिंगारपटार गरिदिन्थे।

बाजागाजा बजाएर रौनकता थपिदिने काम दमाईंहरूले गर्दथे। जात्राको एकातर्फबाट १० देखि १५ जना प्रहरी बनेका केटाकेटी लहरै हिँड्ने चलन थियो। जात्राको बीचमा बाघलाई नचाउने र खेलाउने गर्दा गर्दै जात्राको प्रमुखले आदेश दिएपछि प्रहरीको नाइकेले बन्दुक हानेजस्तो गरेर बाघलाई मारिन्थ्यो। बाघ बनेको पात्र बन्दुक हानेपछि मरेजस्तो अभिनय गरेर जात्रा समाप्त हुन्थ्यो। भोटे कामीको पालासम्म बाघजात्रा राम्रोसँग चलेको थियो। त्यसपछि सार्की परिवारमा बाघ बन्ने चलन सर्‍यो। अर्को सार्कीको पालासम्म आउँदा विस्तारै अहिले जात्रा नै लोप भइसकेको छ।

बाघजात्रा एकदिन मनाउने चलन थियो। बाघ जात्राअघि दमाईंहरूले रोपाइँजात्रा मनाउने गर्दथे। दमाईंहरूले नै बाजा बजाउँदै सडकमा धान रोपेको अभिनय गरी रोपाइँजात्रा गर्ने चलन थियो। यसबाहेक लमजुङबाट बसाइँ सरेर दमाईंधुरामा बस्दै आएकाहरूले थालनी गरेको गाईजात्रा, लाखेजात्रा र डोलाजात्रा सबैले मनाउने गरेको भरतको भनाइ छ। यी जात्राहरू दमाईंधुरा बाघबजारको इतिहाससँग जोडिएका छन्। आजभोलि अरू जात्रा अस्तित्वमा रहे तापनि बाघजात्रा र रोपाइँजात्रा लोप भइसकेका छन्।

१९९५ सालको सरकारी कागजातमा अहिलेको जिल्ला प्रशासन बसेको ठाउँलाई मालअड्डा डडेलधुरा गौडा भनिन्थ्यो। अहिलेको जिल्ला प्रहरी कार्यालय बसेको ठाउँलाई कोत भनिन्थ्यो। दमाईंधुरा (डडेलधुरा) सदरमुकामका रैथाने भनेर चिनिने दमाईं जाति अर्थात् खलंगावासीले हरेकवर्ष बाघजात्रा मनाउँथे। लामो समयदेखि अवरुद्ध भएको बाघजात्रालाई कोरोना महामारीले पनि झनै असर गरेको थियो।

परम्परादेखि दमाईं पुर्खाहरूले देखाउँदै आएको बाघजात्रा पछिल्लो समय संकटोन्मुख छ। आफ्नो कलासंस्कृति, अस्तित्व र पहिचानको जगेर्ना गर्नुपर्ने स्थानीयवासीले महसुस गरेर यस वर्ष (२०७९) बाट स्थानीयवासीको सक्रियतामा बाघजात्रा सुचारु गरेका छन्।

सञ्चारकर्मी विमल जैरुका अनुसार बाघजात्रा सँगसँगै अन्य जात्रा सुचारु गरिएको छ। बाघजात्रा पुनः सञ्चालन भएसँगै स्थानीयवासी धेरै खुसी भएका छन्। स्थानीय रमेश सिनालका अनुसार ‘धेरै वर्ष बाघजात्रा अवरुद्ध भयो तर अहिलेका युवायुवतीले धेरै नै चासो राखेकाले बाघजात्रा सुचारु भएकोमा खुसी लागेको छ।’

जात्रा केही खर्चिलो भए पनि मौलिकता, रीतिरिवाज र संस्कृतिसँग जोडिएकाले संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ। स्थानीय राजेन्द्र जैरु भन्छन्, ‘अरू जात्रा नचलेको ४–५ वर्ष भयो तर बाघजात्रा नचलेको २०–२५ वर्ष नै भइसक्यो। संस्कृति संरक्षण, प्रवद्र्धन हुनुपर्छ भन्ने मान्यता छ, तर जात्रा अलि खर्चिलो भएकोले यसलाई सञ्चालन गर्नै गाह्रो छ। बाघजात्रा त निकै महँगो छ। यसलाई बचाउन नगरपालिका वा स्थानीय सरकारले वार्षिक डेढ दुई लाख बजेटको व्यवस्था गरिदिएमा जात्राभव्य र सभ्य तरिकाले जात्रा सम्पन्न गर्न सकिन्थ्यो। कलासंस्कृति र परम्पराको संरक्षण पनि हुन्छ।’

स्थानीय पूर्णिमा नगरकोटी भन्छिन्, ‘पहिला बाघजात्रा, रोपाइँजात्रा र गाईजात्रा कस्तो राम्रो हुन्थ्यो, अहिले बाघजात्रा निकालेकोमा धेरै खुसी लाग्यो तर पुरानो जात्राजस्तो छैन। पहिले जस्तो जात्रा छैन, संस्कार सबै भुल्दै गएको देखिन्छ। ती सबै समेटेर यसलाई निरन्तरता दिए हुन्थ्यो।’ दमाईंधुरा घुम्न आएका एक पर्यटक रामचन्द्र पाठक विभिन्न जात्रा र संस्कृतिको साक्षात्कार गर्न पाएकोमा औधी खुसी र आनन्दित भएको बताउँछन्।

अमरगढी नगरपालिकाका कार्यपालिका सदस्य प्रकाश जैरुका अनुसार ‘यो प्राचीन समयदेखि पितापुर्खाले देखाउँदै आएको मौलिक संस्कृति हो, कुनै प्रथा होइन। अवरुद्ध जात्रा सुचारु भएको छ, यसलाई निरन्तरता दिने सोच बनाएका छौं। पितापुर्खाले थालनी गरेको मौलिक संस्कृतिलाई भावी पुस्ताका लागि बचाएका हौं। जात्रामार्फतसंस्कृति संरक्षण गर्दै इतिहासलाई मेटिन दिँदैनौं।’

लामो समयपछि बाघजात्रा देख्न पाएकोमा स्थानीय हरिश खडायत अत्यन्तै खुसी भएको बताउँछन्। समाजसेवी गोविन्द खडायत भन्छन्, ‘लामो समयदेखि हराएको बाघजात्रालगायत जात्राहरू सुचारु भएकाले मौलिक संस्कृतिको जगेर्नाका साथै सामाजिक सद्भाव र एकतामा विशेष महŒव राख्छ।’

दमाईंधुरामा बाघजात्रा हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लागेको थियो। लाखेजात्रा, बाघजात्रा, रोपाइँजात्रा र गाईजात्रा सुदूरपश्चिम प्रदेशको डोटी र दमाईंधुरामा मात्रै मनाउने चलन छ। संस्कृति बचाएर भावी पुस्तालाई हस्तान्तरण गर्न वर्तमान पुस्ता नै सक्रिय हुनुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.