बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्वमा चार आकांक्षी
ढल्केवर: महोत्तरीको बर्दिबासमा उद्योग वाणिज्य संघको चुनावी सर्गर्मी बढेको छ । नयाँ कार्यसमिति चयनका लागि १० वर्षपछि हुन लागेको निर्वाचनमा निवर्तमान कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतम, महासचिव भवनाथ खतिवडा, विनोद भण्डारी र विष्णु खड्का अध्यक्ष पदका दावेदार हुन् ।
पुस ५ गते हुने कार्यसमितिको निर्वाचनलाई मंसिर २५ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
उम्मेदवारी दर्ता गराउने दिन नजिकिदैं गर्दा आकांक्षीहरु टिम बनाए गृहकार्य गरिरहेका छन् । मधेस प्रदेशको मध्य भागमा पर्ने बर्दिबास व्यापारिक दृष्टिकोणले सबैको नजरमा पर्छ । त्यसैले यहाँको वाणिज्य संघको नेतृत्व गर्न प्रत्येक निर्वाचनमा रस्साकस्सी हुने गरेको छ ।
निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतमले आफूसँग दुई दशकदेखि वाणिज्य संघका विभिन्न भूमिकामा रहेर काम गरेकाले अध्यक्ष भएर नयाँ ढंगले काम गर्ने गरी आएको बताए ।
उनले भने, ‘मेरो नेतृत्वमा स्थानीय उद्योगी, व्यापारी, व्यवसायीको व्यक्तिगत सीप, विकास र नेतृत्व कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित भएर उद्योग वाणिज्य संघले कामकारबाही गर्नेछ। पालिकासँग समन्वय गरेर युवा लक्षित विभिन्न घरेलु उद्योग व्यवसाय सञ्चालन गरी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछु ।’
अध्यक्ष पदका आकांक्षी देखिएका अर्का निवर्तमान महासचिव भवनाथ खतिवडाले व्यवसायीको हकहितका लागि नयाँ एजेण्डाका साथ नेतृत्व लिन चाहेको बताए । उनले भने, ‘यहाँका व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेछ । बजार व्यवस्थापनका कुरा छन् । समग्रमा व्यवसायीको हकहितका लागि काम गर्छु ।'
अध्यक्षका अर्का आकांक्षी विनोद भण्डारीले बर्दिबासलाई सबै व्यवसायीले अपनत्व महशुस गराउने गरी काम गर्न आफू नेतृत्वमा पुग्न चाहेको बताए । उनले भने, ‘व्यावसायिक हकहितको लागि काम गर्ने हो । सुरक्षित वातावरणमा व्यवसाय गर्ने अवस्थाको सिर्जना गर्ने ढंगले काम अघि बढाउने मेरा योजना छन् ।’
उद्योग वाणिज्य संघका पूर्वकार्यसमिति सदस्य विष्णु खड्का पनि अध्यक्षका आंकाक्षी हुन् । आफ्ना योजना सुनाउँदै उनले भने, ‘व्यापारीलाई सहज पार्न कर प्रणाली व्यवस्थित पार्नुपर्छ । साना तथा मझौला घरेलु उद्योगलाई प्रवर्द्धन गर्न म खट्नेछु ।'