मृत्यु दोहोरिन्छ म बाँचें भने ...!
उनलाई भेट्दा उनी कति वर्षका थिए ? याद भएन। तर जतिखेर उनीसँग झ्याम्मिएँ र आत्मीय ढंगले उठबस सुरु भयो, त्यतिखेर उनी ७० नाघिसकेका थिए। करिब तीन चौथाइ जिन्दगी बाँचिसकेका उनी अर्थात् कृष्ण जोशी। जो आफ्ना रचनामा नयाँ युवकत्वलाई स्पर्श गर्थे। युवक वयको म उनीसँग जीवनको निस्सारताका कुरा गर्थें। चेतना र त्यसको बहुल रंगबाट उनी जीवनलाई खोज्थे।
अलिअलि पढेलेखेका शब्दहरूका भरमा उनीसँग जीवनका गहिराइ पच्छ्याउँथें। तर उनी जीवनलाई चारैतिरबाट देखेभोगेका मानिस। जीवनको नदीमा एकोहोरो बग्दै किनाराको महŒव उनीसँग सुन्थें म। २०६१ मा प्रकाशित मेरो कविता कृति ‘मलामी साँझ’ र २०७६ मा प्रकाशित ‘मृत्युको अघिल्तिर’ कविता संग्रहबारे उनले फरकफरक समयमा घण्टौं विमर्श गरेका थिए। मृत्युमाथिको मेरो चिन्तन र चासोलाई उनले पटकपटक परीक्षा लिए।
‘क्वाटर टु सेन्चुरी’को मान्छे म युवाको जस्तो सिर्जनमा मग्न छु। अनि तपाईं चाहिँ मृत्यु मिमांशाजस्ता कविता कथा लेखिरहनु भएको छ’ उनी भन्थे। ‘तपाईंले पनि त ‘मृत्यु दोहोरिन्छ म बाँचे भने’ लेख्नुभयो त। चुपचाप पढें– तपाईंलाई नचिन्दै र चिनेपछि पनि कहिल्यै केही सोधिनँ त्यसबारेमा।’
‘मृत्यु सत्य हो तर पर्खाइ होइन’, हलुकोसँग उनी भन्थे।
‘नपर्खे पनि मृत्यु त आइहाल्छ, क्यारे !’
म जिस्काउँथे।
‘तर मृत्यु गफको विषय होइन’, उनी गम्भीर बन्थे।
‘मृत्यु गमको विषय हो। गम खाने विषय हो।’ मैले भनेपछि उनी अट्टाहास गर्थे। हाँसोले उज्यालिएको उनको अनुहारमा कताकता दुःखको गहिरो
उदासी हो कि हो कि झैं लाग्थ्यो। तर झुक्किएँ होला भन्ने ठान्थें तर केही सोध्दिन थें।
के बिहान, के दिन र के साँझ ? हामी दुईले सँगै चिया कफीको चुस्की लगाएका छौं। काँचका गिलास ठोक्काएका छौं। स्टिलका गिलास एकसाथ घोप्ट्याएका छौ। यस्ता अवसरमा सधैंजसो हामीसँग वासु शशी स्मृति परिषद्का सचिव तथा कवि प्रद्युम्न जोशी, कवि तथा गायक गणेश रसिक, साहित्यकार राधेश्याम लेकाली, अनुवादक श्याम प्रधान, कथाकार ध्रुव मधिकर्मी, साहित्यिक अन्वेषक जयदेव भट्टराई, कवि गोवद्र्धन पूजा र ठाकुर बेल्वासे हुने गर्थे।
एकताका प्रद्युम्न दाइ र लेकाली दाइले यस्ता जमघट गरिरहन्थे र हामी हौसिएर सहभागी भइरहन्थ्यौं। कोभिडपछि त्यो सब टुटेजस्तै भयो।
त्यसो त सम्झनका लागि धेरै कुरा छन् कृष्ण दाइका।
उनी कुशल प्रशासक हुन्। अब्बल स्रष्टा र सिर्जनाका असल पारखी हुन्। नयाँ लेखक कविका सिर्जनालाई महŒव दिएर पढ्ने र सही प्रतिक्रिया सम्बन्धित लेखकलाई नै दिने उनको निकै राम्रो बानी थियो।
भोजपुरमा जन्मिएका उनी २०५८ सालमा जन्मभूमि पुगेका थिए। करिब ३० वर्षपछि। त्यतिबेला उनले आफू पढेको स्कुलको प्रांगणमा माटोको टीका लगाएर बरर आँसु झारे। बुढ्यौलीले खप्लक्कै निलेको अनुहार लिएर उनका सामु आइपुगेका पुराना प्रेमिकाका हात समातेर निकै बेर रोए। यो भावुकता उनकै मुखबाट पटकपटक सुनें। उनका दौंतरी र भाइ पुस्ताका मुखबाट पनि सुनें।
भावुक कृष्ण दाइ हलुकासँग जिन्दगीका गम्भीर प्रसंगहरू उप्काउँथे। हँसीमजाक गरिरहन रुचाउने उनीभित्र बेलाबेलामा गहिरो उदासी छचल्किन्थ्यो। एउटा खालीपन देखिन्थ्यो उनका प्रत्येक हाँसोहरूमा। उनका मजाकहरूमा कहिलेकाँही दिक्दारी देखिन्थ्यो। तर सोध्ने दुस्साहस कहिल्यै गरिनँ।
हरेक भेटमा कृष्ण दाइ मृत्यु र जीवनबीचको भेदका कुरा गरिहन्थे। भन्थे, ‘मणि भाइ, जीवन निस्सार होइन, रहस्यले भरिएको छ।’
‘रहस्यले कि विषादले भरिएको छ जीवन ?’
सोध्थें जब।
उनी चिरपरिचित हाँसोमा भन्थे, ‘विषाद नभएको को छ र ?’ अक्सर उनका हाँसोमा दुःखको रिदम मिसिएको हुन्थ्यो।
कृष्ण दाइसँग बासु शशी स्मृति परिषद्मा सँगै बसेर लामो समय काम गरें। त्यस अवसरमा उनीभित्रको असल मानिस र अब्बल सर्जकलाई चिन्ने निकै राम्रो अवसर मिल्यो। बुवाको उमेरका कृष्ण दाइ मित्रवत् व्यवहार गर्थे। प्रकाशित रचनामा प्रतिक्रिया दिइहाल्थे। सिर्जनाको परख गर्ने उनको खुबी विशिष्ट थियो। सर्जकलाई ठम्याउन सक्ने र सिर्जनाको महŒवलाई बुझ्ने उनी आफैं पनि राम्रा सर्जक हुन्।
‘मृत्यु दोहोरिन्छ म बाँचें भने’ मैले पढेको उनको पहिलो रचना हो। यो उपन्यास २०५१–०५२ सालतिर पढेको हुँ। त्यसताका मीनभवन क्याम्पसमा पढ्थें। रजनिशको ‘मैं मृत्यु सिकाता हुँ’ पढेर हैरान भएको त्यो समय ‘मृत्यु दोहोरिन्छ म बाँचें भने’ पढ्न पुगें। त्यसपछि मृत्युमाथि लेखिएका चिन्तन र रचना खोजीखोजी पढ्न थालें। एक किसिमको अम्मली नै भएँ म– मृत्यु र मृत्युपछिका महाशून्यताका बारेमा।
पारिजातको ‘तोरीबारी बाटा र सपनाहरू’, ‘धूपी सल्लाको सिँयालमा’ पढेर रोमाञ्चित, प्रेमिल भइरहेको म रजनीश पढेर रन्थनिएको थिएँ। प्रेम र निस्सारलाई एकसाथ आत्मसात् गर्न प्रेरित गरिरहेका बीपी, वासु शशी, पारिजात, दौतलविक्रम विष्ट, मदनमणि दीक्षित, सरुभक्त, डा. दुर्गा भण्डारी, शारदा शर्मा र किशोर पहाडी पढ्दापढ्दै कृष्ण जोशी पढ्न पुगें। एउटा प्रशासकले लेखेको उपन्यासले मथिंंगललाई निकै बिथोल्यो। पछि त्यो उपन्यासको समीक्षा पनि लेखें।
सेवानिवृत्त सरकारी कर्मचारी कृष्ण जोशीका साहित्यिक रचना उर्वर छन्। २०४९ मा छापिएको ‘विसंगत स्वरहरू’ गीत संग्रह, २०५४ सालको ‘पोखरीभित्रको शताब्दी’ र २०५८ मा छापिएको ‘आगो समुन्द्र पानी समुन्द्र’ कविता संग्रह उनका अब्बल कविताले भरिएका छन्। उपन्यासमा २०५१ को ‘असम्मत असम्मत’ र २०५६ को ‘काठमाडौं
वरिपरि’ले उनीभित्रको प्रभावशाली आख्यान व्यक्तित्वलाई प्रष्ट पारेको छ।
१२–१३ वर्षको उमेरदेखि साहित्यिक संगठन र पत्रपत्रिकाको प्रकाशन कार्यमा संलग्न उनी २०२१ सालसम्म भोजपुरमै साहित्यिक लेखन र प्रवद्र्धनमा सक्रिय भए। उनको संयोजनमा तयार पारिएका हस्तलिखित पत्रिकाबाट नेपालले गर्व गर्ने धेरै साहित्यकार जन्मिएका छन्। उनले आँकुरो, पँधेरो, फूलबारी, सपनाको ओतमा, सगरमाथा अञ्चल साहित्य विशेषांक, भोजपुरका कविता २०२१ जस्ता पत्रिका प्रकाशन गरे। त्यसपछि उनी लामो समय सक्रिय प्रशासकका रूपमा रहे। प्रशासनसम्बन्धी किताबहरू पनि लेखे उनले।
२०६९ मा निक्लिएको ‘ज्यामी पत्नीको घोषणा’ र ‘चित्र दंश’ उनका ‘क्वाटर टु सेन्चुरी’का कविता हुन्। यी कृतिमा उनी निःसंकोच पोखिएका छन्। हाँसोमा लुकाएका दुःखलाई बिना हिचकिचाहट व्यक्त गरेका छन्।
र अन्तमा, २०७९ मंसिर १२ सोमबारको रात उनी हामी सबैलाई छोडेर सधैंका लागि गए। ८३ वर्षका कृष्ण दाइको प्रस्थानले मृत्यु मिमांशामा शास्त्रास्र्थ गर्ने एकजना प्रिय पात्र गुमाएका छौं।
हो, भेटेदेखि नै कृष्ण दाइ कसैको पर्खाइमा थिए। उनी कुरिरहेका थिए। मृदुभाषी र सज्जन उनी एउटा फरक दुःखले घेरिएका थिए। हाँसिरहन्थे। हामीसँग जिस्किरहन्थे। तर एउटा विषाद थियो मनमा। तर कसको पर्खाइ हो ? कुन विषादमा थिए उनी ? मैले कहिल्यै ठम्याउन सकिनँ। तर जब जब उनको यो कविता पढ्छु, सधैं भक्कानिने गरेको छु।
आउँछन् जान्छन्
चारैतिरबाट अनेकन जहाजहरू हरेक समयमा
कुनै जहाजबाट तिमी ओर्लिदैनौं
टुक्रिन्छौं हामी त्यसबेला हुरीबतासको ऐना भएर
रोकिदिउँ जस्तो लाग्छ आकाशमा
मन लाग्छ फर्काइदिउँ आकाशबाट नै
हतास, निराश मात्र ल्याउने जहाजहरूलाई।
(बीस वर्ष भयो छोरा गएको– कृष्ण जोशी)