समयको कुरूप चित्र
‘म अक्सर देखेको र भोगेको कुराहरू मात्र लेख्ने गर्छु। मलाई नदेखेको, नसुनेको लेख्न आउँदैन। इमान्दार भएर बोल्नुपर्दा कुनै काल्पनिक विषयवस्तुमा काल्पनिक पात्रहरू खडा गरेर साहित्य सिर्जना गर्न नसक्नु मेरो कमजोरी हो। आफूले लेखेका कथाहरूमा आफूले भोगेको, सुनेको र देखेको संसारको कुरामात्र समेटिएकाले कहिलेकाहीँ लेखकभन्दा पनि देखक मात्र पो हुँ कि जस्तो लाग्छ। तर पनि विश्वका विभिन्न कुनामा रहेका मानिसको संस्कार, जीवनशैली र चरित्रहरूलाई नेपाली साहित्य भण्डारमा भित्र्याउन पाउँदा एउटा मीठो अनुभूति भने भइरहन्छ।’
गीतकारले चिनिएका राजुबाबु श्रेष्ठ कथा र कविता पनि लेख्छन्। ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया...।’ यो चर्चित गीत उनकै हो। यस्तै थुप्रै गीत बज्छन् सञ्चार माध्यममार्फत उनका। साहित्यिक क्षेत्रमा कथा, कविता तथा संस्मरणमार्फत यात्रा निरन्तर छ। चार कथा संग्रह तथा कविता र गीति संग्रहका डेढ दर्जन पुस्तक प्रकाशित श्रेष्ठको पछिल्लो कथासंग्रह ‘बेनामे जर्नेल’ प्रकाशन भएको छ।
श्रेष्ठका कथामा परदेशका भौगोलिक स्थिति, परिवेश, रहनसहन, रितिरिवाज पाइन्छन्। स्वदेशी तथा विदेशी पृष्ठभूमिका मानवीय संवेदनाहरू ‘बेनामे जर्नेल’मा भेटिन्छन्। कथामा पोखिएका कलात्मक बुनोटले उनका कथाहरू समकालीन नेपाली कथा साहित्यमा अग्रपंक्तिमा देखिन्छ। संसारको जुनसुकै कुनामा गए पनि मान्छेको रुने, हाँस्ने तथा मानवीय संवेदनाका स्वर एउटै हुने रहेछ। त्यही संवेदनाहरूलाई कथामार्फत पोखेका छन्, बेनामे जर्नेलमा कथाकार श्रेष्ठले।
कथाकारलाई लाग्छ– ‘हुनतः अब कल्पनाको कुरा गर्ने बेला होइन। संसार यस्तो विचित्रको भइसक्यो कि जहाँ कल्पनाभन्दा पनि यथार्थताले मान्छेलाई पोलिरहेको छ। सपनाभन्दा विपनाले नै मान्छेलाई आजित बनाइसकेको छ। यस्तो अवस्थामा कल्पना मात्र गरेर केही हुँदैन। हामीले यथार्थतालाई पहिल्याउनै पर्छ।’ उनका यी भनाइ र लेखाइमा सत्यता छ।
कथाकार मिसनमा गएको बखत विद्रोही जर्नेल र उसको परिवारको बारेमा जे भोगाइ थियो, त्यो कथा बनेर बेनामे जर्नेल शीर्षक कथामा आएको छ। आफ्नो भूमि छोडेर अर्काको भूमिमा शरणार्थी हुनुको पीडाले मन चसक्क हुन्छ। अझ भोग्नेहरूलाई कस्तो होला ? कथामा मानवीय संवेदनाका पक्ष अत्यन्त बलियो रूपमा उठेका छन्।
बेनामे जर्नेलका १५ कथाहरू विविध स्वादका छन्। राजुबाबुको कथा लेखन बेनामे जर्नेलमा निकै परिष्कृत र उच्च कोटीका छन्। समकालीन कथा लेखनमा उनका यी कथाले विशेष महत्व राख्छन्। राष्ट्रप्रेमले ओतप्रोत छन् उनको कथा। उनका कथाले विविध प्रश्न उब्जाउनुका साथै तिनको समाधानका उपाय पनि कथामार्फत आएका छन्।
छिमेकीले सिमाका पिलर सार्दै गर्दा त्यहाँ जनताले रखवाली गरिरहेका छन्। सरकार भने कानमा तेल हालेर बस्छ। एउटा नागरिक पिलरको रखवाली गर्दागर्दै शाहदत प्राप्त हुन्छ। उसको छोराको पनि त्यही हालत हुन्छ, नागरिकताविहीन उनीहरूको आवाज केन्द्रसम्म पुग्दैन। कस्तो विडम्बना ? हो, यस्तै सत्य, यथार्थ तथा सिमाका मान्छेको पीडा बेनामे जर्नेलमार्फत आएको छ।
छोरीको बोझ कथामार्फत तराईंका महिलाले भोगेका कुराहरू चित्रण भएका छन्। लेखक आफैंले पनि जागिरको सिलसिलामा तराईंको एउटा गाउँमा छोरीको इच्छा विपरीत भएको बिबाहमा मण्डपबाटै छोरीको उद्धार गरेर काठमाडौं ल्याएर पढाइरहेका छन्।
हाल उनी जागिरे भइसकेकी छन्। आफ्नै खुट्टामा उभिने भएकी छन्। यो यथार्थ हो। छोरीलाई बोझ ठान्ने समाजको ताजा चित्र बेनामे जर्नेलमा पढ्न सकिन्छ। केही कथा महिला मनोविज्ञानमा आधारीत छन्। पुरुष भएर पनि महिलाका मनोविज्ञान कसरी लेखे होलान् ? जिज्ञासा लागिरहन्छ कथा पढ्दा। आखिर कथाकार न परे।
कथाकार पनि त समाजकै एउटा पात्र न हो। उनको पनि भोगाइ छ, यही समाजसँग पौठाजोरी छ। लेखकले अरूका कुरा लेख्छ र आफ्नाबारे कैयौं स्थानमा आफू पात्र बनेका देखेको हुँदैन। त्यसैले यी कथाहरू जीवन्त देखिन्छन्। छुवाछुतका बारेमा पनि कथामार्फत गम्भीर विषयलाई उठान गरिएको छ।
कथित उपल्ला जात भनाउँदाले तल्लो जातलाई छुनु नहुने हाम्रो समाजको नराम्रो पक्ष हो। तर, उनीहरूको छोरीचेलीसँगको सम्बन्धले एउटा गम्भीर विषयको उठान भएको देखिन्छ। हाम्रो समाजमा छोरीलाई बोझको रूपमा लिएको देखिन्छ। छोरीको चाहनाभन्दा पनि अर्काको घरमा पठाउने जात हो भन्ने गरेको सुनिन्छ। यो प्रथा अझ तराई भेगमा अझ व्याप्त छ। छोरी अब बोझ होइन, गर्व गरौं भन्ने मूल मन्त्र राजुबाबुका कथाहरूले धेरै ठाउँमा बोलेका छन्।
जनयुद्धका नाममा मारिएका तथा बेपत्ता परिवारको पीडा आज पनि कम नभएको देख्दा कथाकारको मन दुखेको देखिन्छ। जोसमा जनयुद्धमा होमिएकी एउटा छापामारको कथाले वर्तमानका विकृत मुहारहरूलाई देखाएको छ। कथाकार पुलिसको जागिरे भएता पनि लेखनमा जागिरका गन्ध भेटिँदैनन्। कथामा समग्र मानवीय संवेदनाका पक्षमा लेखेको पाइन्छ।
लेखकले भौगोलिक सिमाना, जात र धर्मभन्दा पर रहेर मानवीय पक्षमा कलम चलाएको देखिन्छ। सीमाका दुखान्त कथा होस् वा परदेशका कथा पढ्दा मन अमिलो हुन्छ। तर त्यो यथार्थ भोग्नेहरूलाई कस्तो भएको होला।
त्यसैले पनि राजुबाबुका कथाहरू जीवन्त लाग्छन्, यथार्थको धरातलमा वर्तमानका शासक वर्गलाई चुनौती दिन्छन्, बेनामे जर्नेलमार्फत। संसारलाई ठप्प बनाएको कोरोनाकालका नमिठा दृष्य पनि कथामा पोखिएका छन्।
समग्रमा बेनामे जर्नेलभित्रका सबै कथा पठनीय लाग्छन्। वर्तमान समयमा हामीले भोगेका र भोग्दै गरेका समयको कुरूप चित्र बेनामे जर्नेलले कोरेको छ।