सुन्दर शब्दको समुच्च
आफूले टेकेका, छोएका, छामेका, ठोक्किएका र छोडिएका जीवनयात्राका आरोह अवरोहहरूमा भएको जम्काभेट अझ भनौं भूमिकाहरूको निबन्ध संग्रह हो, अनुभूतिको अवतरण। निबन्धकारले अवलोकन गरेका जीवनका भोगाइ र भूमिकाहरूलाई लिपिबद्ध गर्दै र स्मृतिका तरंगहरूलाई सँगाल्दै प्रतिविम्बित सिर्जना स्वरूप उनका सुन्दर अनुभूतिहरू छन् यसमा। रञ्जना निरौलाको यो अनुभूतिको अवतरण शिखा बुक्सले प्रकाशन गरेको हो।
समयले दिएका अनुभवका बयेलीहरूले फरक—फरक समय र परिस्थितिलाई सम्बोधन गरी उनले लेखेकी छन्। त्यसैले उनी कहीँ किशोरी, कहीँ आमा, कहीँ भुक्तभोगी, कहीँ द्रष्टा त कहीँ विश्लेषक भएर अवतरित छन् अक्षरहरूमा। हरेक निबन्ध सुक्तिमय छन् र शक्तिशाली छन्। पाठक निबन्ध पठनको आनन्दले पुलकित हुनेछन्।
निबन्धकारकै शब्द सापटी लिएर भन्नुपर्दा छिँडीभरिको संसारमा बाँधिएर पनि आशावादी छन् उनका स्वसम्बोधनहरू। क्रन्दनको आह्वानले आर्तनाद गर्दै सोध्छन्, न्यायको परिभाषा। यात्रामा अल्झिएर रोमाञ्चित बनेका छन्, उनका पाउहरू। प्रेमको विशालतालाई स्वीकारेर टुसाएका छन्, उनका अनुरागका अंकुरहरू। वियोगमा दुखेर पनि आनन्दको प्रत्युत्तर बनेर मुस्काएका छन् उनका सपनाहरू। अभिन्न प्रकृतिलाई साथीकरण गरेर बगेका छन् भोगाइका महासागर।
विभेद र विसंगतिले भित्रसम्म छोएपछि प्रकट भएका छन्, रञ्जनाका अमूल्य विचारहरू। भक्ति र प्रेमलाई जीवनको सर्वस्व मानेर आनन्दित छन् भावहरू भने अमर कृति र विज्ञानको उपहारलाई सम्बोधन गरेर रमाएका छन् एकालापमा शब्द संवाद। उनका जीवन भोगाइका विविध अनुभूति सुन्दर शब्दचित्रको समुच्च बनेर आएका छन् कृतिमा। उनका एकसे एक सुन्दर अनुभूतिहरू अक्षरमा लिपिबद्ध भएर अवतरण भएका छन्, सहृदयी पाठकलाई पठनको आनन्द प्रदान गर्न।
‘शिरीषसँग शब्द–संवाद’ संग्रहको पहिलो निबन्ध हो। लेखिकाले निबन्ध भने पनि यो एउटा समालोचना नै हो। विश्वविद्यालयका प्राध्यापकीय संरचनाभन्दा भिन्न ढंगमा लेखिएको एउटा सुन्दर समालोचना। कलात्मक र काव्यात्मक सज्जासहित फरक ढंग र नवीन शैलीमा पारिजातकृत उपन्यास ‘शिरीषको फूल’को साङ्गोपाङ्ग विश्लेषण यो निबन्धमा छ। संग्रहकै उत्कृष्ट निबन्ध हो यो। भावना, विचार र विश्लेषणको सुन्दर संयोजनले निबन्धलाई निकै पठनीय बनाएको छ।
संग्रहको दोस्रो निबन्ध हो, ‘फेसबुकमा सम्मोहित समय’। संसारमै लोकप्रिय बनेको र मानिसको जीवनकै एउटा अभिन्न अंग बनेको सामाजिक सञ्जाल फेसबुकबारे रुचिपूर्ण वर्णन छ। सबै मानिसको अत्यन्तै लगाव रहेको तर धेरैले त्यसको बारेमा सोच्ने नगरेको अवस्थामा उनले चाहिँ निकै गम्भीर चिन्तन गरी फेसबुकअघि र पछिको समयको तुलनात्मक विश्लेषण गरेकी छन्।
कोरोनाको कहर यसै पनि पीडादायी हुन्छ नै। तर त्यो कहालीलाग्दो कहरलाई पनि रहरलाग्दो गरी सम्प्रेषण गरिएको छ, ‘छिँडीभरिको संसारबाट’ निबन्धमा। होलेरीमा आयोजित अक्षर महोत्सवमा सहभागी हुँदाका बखतका अनुभव र अनुभूतिहरूलाई ‘बंकरमाथि उभिएको मन’ निबन्धमा छ। क्रान्तिको सर्वनाम र युद्धको विम्ब बन्न पुगेको होलेरीको बहुआयामिक वर्णन यसमा छ। ती दुःख, भय र पीडाका दिन सम्झेर पनि सम्झिनेलाई दुःखी होइन, चकित र विस्मित पार्ने सामथ्र्य छ, उनको लेखनीमा।
युवावयमै श्रीमान् गुमाएकी साथीलाई भेट्न जाँदाका बखतका अनुभूतिलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ‘स्वको पक्षमा’। ‘म हिँड्न सक्छु होला नि फेरि ?’ युवावयमै विधवा बन्न पुगेकी नारीको यो प्रश्नले जड बनाउँछ पाठकलाई। परम्परा र संस्कार बोकेर बाँचेको समाजमा अब कसरी हिँड्न सकिएला भन्ने चिन्ता र त्यसको पीडा अभिव्यक्त भएको छ, उपर्युक्त प्रश्नमा। ‘आर्तनाद’ बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा लेखिएको अत्यन्तै मार्मिक निबन्ध हो। यसमा समयमा न्याय नदिने न्यायालयप्रति घृणा, आक्रोश, विद्रोह र व्यंग्य पनि छ। न्याय दिनेहरू नसुनेपछि कसको के लाग्छ र ?
आफ्नो मान्छेप्रतिको मनको आशक्तिलाई व्यक्त गरिएको अत्यन्तै मिठासयुक्त सुन्दर निबन्ध हो ‘अनुरागको अङ्कुर’। हो, रमाएर बाँच्न संसारमा सबैभन्दा बढी महत्व मायाको हुन्छ। अस्पतालमा मृत्युलाई कुरिरहेकी असाध्य बिरामी दिदीलाई भेट्न गएकी पात्रको संवेदित मनोदशाको शब्दचित्रलाई ‘प्रार्थना’ निबन्धमा उतारिएको छ। ‘अन्त्यारम्भ’ देशप्रेमले ओतप्रोत भावनाको बाहुल्य रहेको निबन्ध हो। मातृत्व सुख र ममत्वको आनन्द प्राप्त हुनुको सुखानुभूति र आनन्दानुभूतिले भरिएको मीठासयुक्त निबन्ध हो, ‘स्नेहको अभिलाषा’। मातृवात्सल्य र जिम्मेवारीबोधको अनुपम नमुना पनि हो यो निबन्ध।
‘सर्वविद्याको राजधानीमा म’ निबन्धमा बनारसको व्याख्यान छ। ‘पाप पखालेर आफैं पाप त गरिरहेका छैनौं ?’ सोच्न बाध्य तुल्याउँछ यो प्रश्नले। कुमारी मनका सुकोमल र प्रेमिल भावनाहरू छताछुल्ल भएर पोखिएका छन् ‘कुमारी स्वप्न’मा। ‘आस्थाको भ्रष्टीकरण’ मा देशका शासक र प्रशासकहरू पथभ्रष्ट, मतिभ्रष्ट र अति नै भ्रष्ट भएकामा धेरै गुनासा पोखिएका छन्।
कोहीबाट र केहीबाट साह्रै नै प्रभावित भएर लेखिएका छन्, केही निबन्ध। तर व्यक्तित्व चर्चा वा वस्तुगत परिचयमात्रै बनेको छैन कुनै पनि निबन्ध। सुन्दर भावना, विचार र विश्लेषणले भरिएका निबन्ध परेको वा पारेको प्रभाव निबन्धको एउटा वैशिष्ट्य हो। निबन्धहरूमा विचार र कल्पनाशीलताको बेजोड संगम छ। भावना र संवेदनाको अनुपम उदाहरण छन्। काव्यात्मकता र कलात्मकता छ। हृदय र मस्तिष्कको सुन्दर तादात्म्यता छ। जीवन र ऐश्वर्य क्षणभंगुर हो भन्ने उच्च जीवनदर्शन पनि छ। लेखनशैली भिन्न र आकर्षक छ। हरेक निबन्धमा समयको तस्बिर छ, जहाँ वर्तमान समाज देख्न सकिन्छ। जीवनका ऊहापोहहरूको ग्राफ देख्न सकिन्छ।