चिसो छल्न बाजुराबाट डोटी झारिँदैछ भेडा गोठ
डोटी: बाजुराबाट चिसो छल्न भेडा गोठ डोटी झार्न थालिएको छ ।
बिगत जस्तै यो वर्ष पनि चिसो छल्न बुढीनन्दा नगरपालिका ९ बाजुरा कोल्टीका चन्द बोगटी भेडी गोठ डोटी पुर्याएका छन् । उनीसँग झण्डै ७० भेडा छन् ।
चन्द्र बोगटीसहित तीन घर परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । यो टोली डोटीमा फागुन महिना सम्म बस्नेछ ।
बुढीनन्द नगरपालिका ९ का अर्का भेडाव्यवसायी मान सिंह थापा पनि चार वर्षदेखि यही ठाउँमा बस्दै आएका छन् । उनले भने, ‘भेडा पालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो पेशा हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौं ।’ थापासँग अहिले ६५ भेडा छन् । उनी परिवार नै लिएर बणामाज पुगेका हुन् ।
बुढीनन्दा नगरपालिका ९ का शिवा गुरुङको भने बेग्लै अनुभव छ । उनी सुरुमा अरुको गोठमा काम गर्थे । अहिले उनी आफैँ भेडा पालक हुन् । ४९ वर्ष उनी ५ वर्षको हुदाँदेखि नै भेडा हेर्ने काम गर्थे। अहिले शिवाका एक सयभन्दा धेरै भेडा छन् । यही पेशाबाट उनको वार्षीक सात लाखसम्म आन्दानी हुन्छ ।
भेडा गोठ सार्नुपर्दा छोराको पढाई बिग्रने चिन्ता उनलाई छ । उनका ८ वर्षीय छोरा लोकसाम कक्षा ३ मा पढ्छन् ।
बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदमा चिसो छल्न ४/५ महिना थाकथलो छोड्ने हुँदा बालबालिकाको पढाई प्रभावित हुने गेको छ । यस्तो समयमा सरकारले बसोबास कै क्षेत्रमा घुम्ती कक्षा सञ्चालन गर्न सके राम्रो हुने उनीहरूको भनाइ छ ।
भेडा पालक किसानले ऊनको राडी, पाखी, डसना बिक्री गर्दै आएका छन् । यसबाट प्रति भेडा ३५ हजारसम्म आम्दानी हुने गरेको छ । भेडा चराउन किसानले सामुदायिक वनलाई मासिक ७ हजार रोयल्टी तिर्ने गरेका छन् ।