खुसी साट्न भेला भएका आफन्त शोकमा डुबे
जनकपुरधाम: महोत्तरी गाउँपालिका-२ गम्हरियामा सञ्जीव साहको घरमा बिहेको रमझम नाचगान, बाजागाजा सहित भोजभतेर चलिरहेको थियो । मैथिली परम्पराअनुसार साँझ घरबाट विधिविधान अनुसार दिउँसोसम्म सबै रीतिरिवाज पूरा गरी दुल्हासहित जन्तीको टोली लिएर बेहुली लिन घरबाट ईटहरीको खनारचोक प्रस्थान गर्यो ।
दुलाहा र जन्ती टोली कार, जिप र भ्यानसहित दर्जनभन्दा बढी गाडीमा गए । स्वयम्वर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्किए । अरु विवाह सकिएपछि फर्किने भन्दै विवाहमै सरिक भए ।
घर फर्किएको मध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा पर्यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो । ९ जना घाइते भए । जसमा ४ जना बेहुलाका आफन्त र गाडी चालक छन् ।
घटनाले सञ्जीव साहको घरमा बेहुली कुरिरहेका घरका आफन्त, छरछिमेकी तथा गाउँटोल बेहुली भित्र्याउँन नपाउँदै शोकमा डुबेका छन् । बेहुला तथा बेहुलीको परिवारजन शोकमा डुबेको छ । हिजोसम्म नाचगान, बाजागाजासहित भोतभतेर भईरहेको घरमा सन्नाटा मडारिएको छ ।
‘यो के भयो, कसरी भयो ? ‘कनिया’ दुलही पनि आईसकेको छैन, तर घरमा अकल्पनीय घटना भयो,’ भावविह्वल बेहुलाका काका देवु साहले भने, ‘एक्कैछिन पहिलासम्म कति रमझम थियो, कति खुशीयाली थियो, तर एक्कैछिमा शोकमग्न भयो ।’
सञ्जीवको विवाहको अवसरमा एक हजारभन्दा बढीलाई निम्ता गरिएको थियो । खुसी मनाउन आएका आफन्त केहीले ज्यानै गुमाउनुपर्ने अनि अरु शोकमा परे ।
शवसहित घाईतेको उपचार भईरहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पतालमा वृद्धा शोभा साहले विलाप गर्दै आफन्तसँग भेट गराइदिन आग्रह गरिरहेकी थिइन् । कारुणीक दृश्यले सबैलाई भावविह्वल बनाएको थियो ।
दुर्घटनामा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाही जब्दीकी रुवी साह र नाति ११ वर्षीय यशकुमारको मृत्यु भएको छ ।
रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सकेका छैनन् । उनका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायका अनुसार घाइते हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह, १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुषा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह र ५ वर्षीय प्रतिका साह छन् ।