फोहोरलाई मोहोरमा बदल्दै महाकुलुङवासी
सोलुखुम्बु : सोलुखुम्बुको निकै विकट गाउँका रूपमा चिनिने महाकुलुङका बासिन्दाले काम नलाग्ने फोहोर बस्नुलाई मोहोरका रूपमा प्रयोग गर्न थालेका छन्।
गाउँमा सडक सञ्जाल पुगेसँगै यहाँका बासिन्दाले कवाडी सामानको बिक्रीबाट आर्थिक लाभ त लिएका छन् नै, जसले गर्दा वातावरण सरसफाईमा समेत टेवा पुगेको छ।
केही समय अघिसम्म त्यतिकै फालिने फलाम तथा सिलबरका टुक्रा, कागज, प्लाष्टिक जस्ता कवाडीका सामानहरू वातावरण सरसफाईमा समेत चुनौती बनिरहेको थियो।
तर पछिल्लो समय त्यही कवाडीका सामग्री आम्दानीको श्रोत बन्न थालेको स्थानीय मनुहाङ किराँती बताउँछन्। उनले भने, ‘पहिला त त्यस्ता सामानहरू यतिकै जथाभावी फाल्थ्यौं, तर हामीलाई त अहिले पो थाहा भयो, कवाडीका सामान त पैसाको श्रोत पो रहेछ, यसको बिक्रीबाट त यहाँ धेरैले आम्दानी रहेका छन्।’
जिल्ला सदरमुकाम सल्लेरीसँग सडक सञ्जाल जोडिएपछि कवाडीका सामान खरिदका लागि भारतीय मुलका नागरिकहरू महाकुलुङ पुग्न थालेका छन्।
उनीहरूले गाउँमा किलोका हिसाबले खरिद गर्ने कागजसहित फलामका टुक्राहरू तथा आल्मुनियमका काम नलाग्ने सामाग्रीहरू कारखानाहरूमा लैजाने गरेका छन्।
जसका कारण काम नलाग्ने सामानहरू अहिले खोजी खोजी बिक्री गर्ने क्रम बढेको महाकुलुङ गाउँपालिका-४ की रूपा कुलुङ बताउँछिन्।
गाउँघरमा काम नलाग्ने वस्तुहरू सदुपयोग गर्न सकिन्छ भन्ने कल्पना समेत नगरेका यहाँका बासिन्दाका लागि कवाडी बिक्रीबाटै आम्दानी हुनु सकरात्मक पक्ष हो।
तर यसलाई थप व्यवस्थित गर्न करको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए।