प्यूठान अस्पताल नौ महिनादेखि मेसुविहीन
प्यूठान : जिल्ला अस्पताल प्यूठान नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन भएको छ। गत फागुन मसान्तमा डा. नवीन दर्नालको सरुवा भएपछि अहिलेसम्म कार्यालय प्रमुखका रूपमा मेसु आएका छैनन्। निमित्तको भरमा अस्पताल सञ्चालनमा छ।
लुम्बिनी प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पतालमा मेसु पठाउनका लागि मन्त्रालयले चासो देखाएको छैन। २०७९ असोजमा डाक्टर विनोद सिंहको तुल्सीपुरबाट सरुवा भएपनि उनी अस्पतालमा हाजिर नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट खिम प्रसाद पार्धेले जानकारी दिए।
‘मेसु नहुँदा कामै ठप्प भन्ने त छैन्’,पार्धेले भने,‘तर, कार्यालय प्रमुख हुँदा र नहुँदा त फरक पर्छ नै। जिम्मेवारी र जवाफदेहीताका विषयमा मेसु हुनु राम्रो हुन्छ।’
प्रदेश मन्त्रालयमा खबर गर्दा तत्काल मेसु पठाउन नसकिने जवाफ आएको पार्धेले जानकारी गराए। जिल्ला अस्पतालमा ११ औँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी छ।
अस्पताल व्यवस्थापन समितिको अध्यक्षको पद पनि अहिले रिक्त छ। तत्कालीन अध्यक्ष पितबहादुर एमसी झिमरुक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि हालसम्म अस्पताल व्यवस्थापन समितिको अध्यक्ष समेत नियुक्ती गरिएको छैन।