प्रदेशको राजधानी सार्ने काम रोक्न माग गर्दै कांग्रेस र एमालेले निकाले विज्ञप्ति
बुटवल: लुम्बिनी प्रदेशको स्थायी मुकाम तत्काल नसार्न नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेका छन् ।
राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदै बुटवलबाट जवरजस्त राजधानी सार्न खोजिएको भन्दै नेकपा एमाले र नेपाली कांग्रेस रुपन्देहीले ध्यानाकर्षण गराउँदै विरोध जनाएका छन् ।
आइतबार दुवै पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले राजधानी सार्न खोज्नु गलत भएको उल्लेख गरेका छन् । जवरजस्त राजधानी सार्ने काम तत्काल रोक्न दुवै पार्टीले प्रदेश सरकारसँग माग गरेका छन् ।
पूर्वाधारबीना राजधानी लैजादा सेवा प्रवाहमा प्रतिकुल असर पर्ने दुबै दलको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको काम चलाउ सरकारले हतारहतारमा राजधानी सार्न खोज्नु सस्तो लोकप्रियता मात्र भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि रुपन्देहीमा क्रियाशिल कर्मचारीका पेशागत संगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै राजधानी सार्ने कदमको विरोध जनाएका छन् ।