माओवादीमा अवसरको राजनीति
नेकपा माओवादी केन्द्रले सरकार बनाउन एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेर आफ्नो छविलाई थप धुमिल्याएको छ। चुनाव अघिसम्म एउटासँग अनि चुनावपछि अर्कोसँग लगनगाँठो गाँस्न खोज्नु भनेको अवसरवादको चरम रूप हो। यसलाई अर्को शब्दमा भन्नुपर्दा राजनीतिक बेइमानी हो।
हुन त एमालेसँग माओवादीले लगनगाँठो गाँसिसकेको त छैन। तथापि गाँस्ने तरखर गर्नु पनि आफैंमा ठुलो राजनीतिक बेइमानी हुनेछ। जनता र जनादेशको अपमान हुनेछ। त्यसो त माओवादीको छवि र पृष्ठभूमि यसै पनि जनमाझ त्यति राम्रो छैन। सत्ता पाएपछि माओवादी जोसँग पनि सहज भइदिन्छ भनेर आरोप लाग्दै आएको छ। पहिला एमालेसँग मिलेर नेकपा बनायो। पछि कांग्रेससँग मिलेर सत्ता चलायो। अब पुनः एमालेसँग मिल्ने कुरा गर्नुले माओवादीको छवि नराम्रोसँगै धुमिल भएको छ।
यस्तो छविलाई सुधार गर्न थप मेहनत गर्नुपर्नेमा उल्टो राजनैतिक बेइमानीमा उत्रँदा उप्रति आमजनताको कस्तो हेराइ होला ? यति पनि बुझ्न नसकी एमालेसँग सरकार बनाउन खोज्नु प्रचण्ड र माओवादीको बौद्धिक दिवालियापन बाहेक अरू के नै हुन सक्ला ? हिजोसम्म केपी ओलीले संसद्को हत्या गरे, लोकतन्त्रको घाँटी निमोठे, संविधानको धज्जी उडाए, प्रतिगमनको नाइके बने भन्दै चुनावमा भोट मागेका प्रचण्डले आजै कुम मिलाउन खोज्नुलाई कुन संज्ञा दिने ?
जनतासँग केका लागि भनेर प्रचण्ड देउवाले भोट मागेका थिए ? यस्तै अराजक, अनुचित र अवसरवादी चरित्र प्रदर्शन गरेकाले नै राजीनितिक पार्टी र नेताहरूप्रति आमजनतामा वितृष्णा जन्मन पुगेको हो। तापनि नेताहरूमा चेत आएको छैन। माओवादीमा अलिकति पनि नैतिकता र जनताप्रति उत्तरदायित्व छ भने आफैंले प्रतिगमनकारी शक्ति भनेको एमालेसँग कुनै हालतमा मिल्नु हुँदैन। एमालेको हकमा पनि
सोही कुरा लागू हुन्छ।
२०७४ को निर्वाचनमा ८० सिट जितेको एमाले र ३६ सिट जितेको माओवादीले यसपालि ४४ र १८ मात्र जित्नुलाई कसरी मूल्यांकन गर्ने ? अनि २३ सिट जितेको कांग्रेस ५७ मा पुग्नु र एक सिट जितेको राप्रपाले ७ जित्नुलाई के संज्ञा दिने ? आफ्नो पार्टी किन खुम्चियो भनेर गम्भीर समीक्षा गर्ने बेला आएको छ, एमाले माओवादी दुवैको। दुवैको महासचिवले पराजय भोगे। किन त्यस्तो अवस्था आयो ? अरू धेरै कारण छ तथापि प्रमुख कारण भनेकै पार्टी विभाजन हुनु हो।
–गोपाल देवकोटा, जोरपाटी, काठमाडौं