सुनको गहना चोरेको आरोपमा दुई जना पक्राउ
बागलुङ : सुनको गहना चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले दुई जनालाई पक्राउ गरेको छ।
छुट्टाछुट्टै सुन चोरीको आरोपमा तमानखोला गाउँपालिका–३ का ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसीखोला गाउँपालिका–१ का १९ की १९ वर्षीय चुमान पुनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए।
डीएसपी थापाले तोम्ताले मंसिर १३ गते साँझ ६ बजेर ४५ मिनेटमा तमानखोला–४ की ८६ वर्षीया ख्रमती छन्त्यालले लगाएको ३ तोला ९ लालको सुनको सिक्री लुटेर फरार रहेकोले पक्राउ गरिएको बताए।
यस्तै पुनले मंसिर १५ गते साँझ ७ बजे निसीखोला–१ की जुना रानाले काठको बाकसमा राखेको २ तोला ९७ लालको सुनको सिक्री चोरी गरी फरार रहेको उजुरीका आधारमा सिक्रीसँगै पक्राउ गरिएको डीएसपी थापाले बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ परेका दुई जनालाई चोरी मुद्दामा जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।