चिसो भुँइमा बसेर पढ्न बाध्य बालबालिका
रौतहट : फतुवा बिजयपुर नगरपालिका- २ मा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थी बेन्च नहुँदा भुइँमा बसेर पढ्न बाध्य छन् ।
२०१७ सालमा स्थापना भएको सो विधालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको अभिभावकको गुनासो छ ।
सो विधालयमा करिब ८ सय विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा १ देखि ६ सम्मका विधार्थी चिसो भुइँमा पढ्न बाध्य छन् । उनीहरुका लागि डेक्सबेन्च छैन ।
सो विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले बेन्च नहुँदा समस्या भएको दुखेसो पोखे । विद्यालयको अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखासहित कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवलाई जानकारी दिएको तर कसैले गम्भीररुपमा नलिएको विधालयका प्रअ यादवको गुनासो छ ।
वडाअध्यक्ष अनिरूद्ध प्रसाद यादवले नगरपालिकाले उपलब्ध नगराए आगामी आर्थिक वर्षको वडाको बजेटबाट विधालयको लागि बेन्च व्यवस्था गरिने बताएका छन् ।