कति सुरक्षित मोबाइल बैंकिङ ?
काठमाडौं : नवीना मल्ल (नाम परिवर्तन) काठमाडौंमा नर्सिङ पढ्छिन्। केही समयअघि उनलाई अमेरिका बस्ने भन्दै एक युवकको फ्रेन्ड रिक्वेस्ट आयो। दिनदिनै कुराकानी गर्दा उनीहरूबीच निकटता बढ्यो। युवकले अमेरिकाबाट गिफ्ट पठाइदिन्छु भन्दै विभिन्न ग्याजेटको फोटो तथा भिडियो पठाए। ती किशोरीले युवकलाई पूरै विश्वास गरिन्।
सामानको भन्सार तिर्न नेपाली बैंक अकाउन्ट आवश्यक परेकाले खोल्न आग्रह गरे। किशोरीले युवकका लागि आफ्नो नामको बैंक अकाउन्ट खोलेर, अनलाइन एपको समेत एक्सेस गरिदिइन्। सामान आउँछ भन्दै झुलाउँदै ती युवकले युवतीको बैक अकाउन्ट प्रयोग गरेर अनलाइन ठगी गर्न थाले। ठगिएका व्यक्तिहरूले युवतीविरुद्ध उजुरी दिए। निकै तनावमा ती युवती साइबर ब्युरो पुगिन्। अहिले युवतीको डिटेल्स प्रयोग गरेर ठगी गर्ने युवकको खोजी भइरहेको छ।
कीर्तिपुरका हरि कायस्थको (नाम परिवर्तन) रातारात आफ्नो मोबाइलमा भएको बैंकिङ एपबाट ४ लाख गायब भयो। पैसा फिर्ताका लागि उनी बैंकमा गए। उनको आफ्नै अकाउन्ट नम्बरबाट सही पासवर्ड र सेक्युरिटी कोड प्रयोग गरेर प्रक्रियागत रूपमै पैसा ट्रान्सफर गरिएको भन्दै बैंकले केही गर्न नसक्ने बतायो। बैंकले उनलाई साइबर ब्युरोमा गएर उजुरी दिन सुझाव दियो।
उनको अकाउन्टबाट कसरी पैसा गायब भयो त ? घटना केही दिन अघिको हो। उनलाई एक युवतीको नामबाट ह्वाट्स एपमा म्यासेज आयो। राम्री युवतीको फोटो राखेर कुरा सुरु गरेको ह्याकरले महर्जनलाई रोमान्टिक म्यासेज र भिडियो पठाउँथे। फोटोहरू आदानप्रदान हुन्थ्यो। कुराकानी भएको १५ दिन भएको थियो ती युवतीले एक भिडियो लिंक महर्जनलाई पठाइन्। उनले भिडियो लिंक क्लिक गरे।
उनको मोबाइलमा भएको सबै डाटा रिड गर्नसक्ने गरी बनाइएको लिंक थियो। ह्याकरले बनाएको उक्त भिडियो सफ्टवेयरले महर्जनको मोबाइलमा भएको सबै डाटा र डकुमेन्टमा एक्सेस बनायो। उनले दुईवटा बैंकको अनलाइन एप चलाउँथे। मोबाइलमै अटो सेभ गरिएको पासवर्ड र कोड प्रयोग गरेर राति नै उनको मोबाइलबाट ४ लाख रुपैयाँ अनलाइन ट्रान्सफर गरिएको थियो।
साइबर ब्युरोमा उजुरी दिएपछि मात्रै उनले आफ्नो मोबाइल बैंकिङ एप ह्याक भएको थाहा पाए। ब्युरोका प्रवक्ता पशुपति रायका अनुसार उनको अकाउन्टबाट ३ वटा अकाउन्टमा पैसा ट्रान्सफर भएको छ। एक जनाको पहिचान भइसकेको छ। केही दिनअघि एक चर्चित पत्रकारको फेसबुक आईडी पनि ह्याक भएको थियो। उनको नामबाट चिनेजानेका सबैलाई धमाधम पैसा माग्दै म्यासेज जान थाल्यो। कतिपय व्यक्तिले त ह्याकरले भनेकै अकाउन्टमा पैसासमेत पठाइदिए। केही साथीलाई शंका लागेर फोन गरेपछि मात्रै उनले फेसबुक आईडी ह्याक भएको पत्ता लगाए। यो घटनालाई पनि साइबर ब्युरोले हेरिरहेको छ।
यस्तै, संखुवासभाकी एक महिलाले पनि सामाजिक सञ्जालमा भेटिएका गलत व्यक्तिलाई विश्वास गर्दा ८ लाख गुमाइन्। रेगुलर कुराकानी हुने व्यक्तिले पठाएको लिंक खोल्दा ती महिलाको मोबाइलमा भएको सबै डाटा र बैंकको रकमसमेत ह्याकरको हातमा पुग्यो। यी त केही उदाहरण मात्रै हुन्। पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने डिजिटल ठगी बढ्दै गएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार इन्टरनेटका माध्यमबाट रकम ठगिए भन्दै दैनिक ६ देखि १० वटा उजुरी साइबर ब्युरोमा आउँछ।
बानेश्वरका श्याम देवकोटालाई मिल्ने साथी उर्मिला रानाको जरुरी म्यासेज आयो। दुवै (नाम परिवर्तन)। उर्मिलाको फेसबुक म्यासेन्जरबाट आएको म्यासेजमा उनको मनिब्यागसहित, एटीएम, लाइसेन्स मोबाइल सबै हराएकाले अतिआवश्यक परेकाले ५० हजार पठाइदिन आग्रह गरिएको थियो। म्यासेन्जरमै अकाउन्ट नम्बर छाडिएको थियो। श्यामले भनेकै नम्बरमा पैसा पठाइदिए। मोबाइलमा फोन गरे। उर्मिलाले आफूले पैसा नमागेको बताइन्।
श्याम जस्तै अन्य साथीले पनि पैसा पठाइदिएको भन्दै उर्मिलालाई फोन गरे। उजुरी बोकेर उनी प्रहरीकहाँ पुगिन्। अनुसन्धानका क्रममा उर्मिलाको फेसबुक अन्य व्यक्तिको हातमा पुगिसकेको रहेछ। फेसबुक र जिमेल आईडी प्रयोग गरेर उनको नाममा भएको मोबाइल बैंकिङ एप दुरुपयोग गर्दै रकम मागिएको रहेछ।
साइबर ब्युरोको तथ्यांकअनुसार आव २०७७/७८ मा ३ हजार ९०६ उजुरी छन्। आव २०७८/७९ मा ४ हजार ६४६ उजुरी प्राप्त भए। आव २०७९/८० मा साइबर क्राइमका २ हजार ३४८ उजुरी प्राप्त भएका छन्। जसमा फेसबुक म्यासेन्जरबाट ठगी गर्ने १ हजार ८१६ वटा उजुरी प्राप्त भए। यस्तै भाइबर, इमो र युट्युबबाट ३२ वटा, ह्वाट्सएप र ट्विटरबाट ठगी गरेको भन्दै ७८ वटा उजुरी, इन्स्टाग्रामबाट १७९, वेबसाइट ह्याकिङ १४ वटा, टिकटकबाट ठगी गर्ने १४७ वटा, इमेलबाट १५ वटा, इसेवाबाट ठगी ३९ र बैंकिङ एपको दुरुपयोग भएको विषयमा ३३ वटा निवेदन प्राप्त भएको थियो।
आव २०७९/८० को सुरुआतदेखि हालसम्म प्रविधिको दुरुपयोग गरी रकम ठगी गरेको भन्दै ४१० उजुरी परेका छन्। ब्युरोका प्रवक्ता राय भन्छन्, ‘साइबर क्राइमको निवेदन लिएर आउने पीडितहरू धेरै हुनुहुन्छ। आर्थिक अपराध गर्नेलाई सामाजिक सञ्जाल सहज ठाउँ बनेको छ। लटरी पर्यो भन्दै ठगी गर्ने समूह सक्रिय छ। इन्टरनेटको एक्सेसमा बसेर स्मार्ट फोन चलाउने जो कोहीले सजिलै आर्थिक अपराधको धन्दा चलाउन सक्छ। साइबर ब्युरोका प्रवक्ता रायका अनुसार इन्टरनेटको माध्यमबाटै अपराध गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुन्छ।
त्यस्तै, मोबाइल बैंकिङ एप असुरक्षित भयो भन्ने प्रश्नमा नेपाल राष्ट्र बैकका भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले एप चलाउने व्यक्तिको लापरबाहीले नै यस्ता एप असुरक्षित बनेको बताए।
उनी भन्छन्, ‘एक दुईवटा घटनालाई हेरेर समग्र प्रणाली असुरक्षित छ भन्न मिल्दैन। दोहोरो सुरक्षाको सेक्युरिटी सिस्टमअनुसार नै मोबाइल एप बनेका हुन्छन्। आफ्नो अकाउन्ट नम्बर अरूलाई दिने, पासवर्ड, ओटीपी कोड सेयर गर्ने, जसले जे भन्यो आफ्नो त्यही डाटा पठाइदिने गर्यो भने त के नै सुरक्षित हुन्छ र ? मोबाइल एप सुरक्षित बनाउन व्यक्ति आफैंले ध्यान दिन आवश्यक छ।’