नगरबासीको सुविधा कटौती नगर्न माग
रौतहट: कटहरिया नगरपालिकाका वडाध्यक्षले नगरबासीले पाउने सेवासुविधा कटौती नगर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
पूर्वमेयर सियाराम कुश्वाहाको कार्यकालमा नगरबासीलाई दिइएको सेवा हटाएको भन्दै ४ जना वडाका अध्यक्षले कटहरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।
वडा नम्बर ४ का चन्दन कुशवाहा, २ का हरिन्द्र साह कलवार, ३ का श्यामाकान्त प्रसाद यादव र ६ का वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रुपमा कटहरिया नगरपालिका उपप्रमूख रीतादेवी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
घरेलु प्रयोजनमा खर्च भएको विद्युत महशुल,कृषिकार्यमा खर्च हुने विद्युत महशुल, नि:शुल्क खानेपानी सेवा, मालपोत नि:शुल्क, नि:शुल्क शौचालय सरसफाई सेवा मा लाग्ने करमा छुट दिदै आएकोमा नगरपालिकाले पुनः शुल्क लिन थालेपछि वडाअध्यक्षहरू नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
नगरक्षेत्रमा छोरीको विवाह गराउने अभिभावकलाई २० हजार र दिउँसो छोराको विवाह गराउने अभिभावकलाई नगरपालिकाले १० हजार रुपैयाँ दिनुपर्ने लगायत ६ बुँदे माग वडाअध्यक्षको छ ।
गत आर्थिक वर्षमा कोरोना पीडितको लागि १० हजारका दरले आएको रकम र बाढी पीडित किसानका लागि आएको रकम किसानको खातामा अहिलेसम्म नगएको भन्दै वडाअध्यक्षहरूले तत्काल उपलब्ध गराउन माग गरिएको छ ।
कटहरिया प्राथमिक स्वास्थ केन्द्र लगायत स्वास्थ्य संस्थाहरूमा औषधीको अभाव भएको गुनासो वडाअध्यक्षहरूको छ ।
कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले वडाध्यक्षको माग अगामी बैठकमा पेस गरिने बताए । नगरबासीले पाउने सुविधा नयाँ जनप्रतिनिधिले हटाएको आरोप वडा नम्बर ४ का वडाअध्यक्ष चन्दन कुश्वाहाले बताए।