मलको विवादले सिम्रौनगढमा झडप
सिमरा : रासायनिक मलका विषयमा उत्पन्न विवाद चर्कँदै गएपछि बाराको सिम्रौनगढ नगरपालिका-४ को कार्यालय रहेको क्षेत्र दिनभर तनावग्रस्त बनेको छ।
मल वितरणको विषयलाई लिएर वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने क्रममा दुई पक्षबीच झडप भएको हो। झडपका क्रममा दुवै पक्षका केही घाइते भएका छन्। घाइतेको नाम प्रहरीले जानकारी गराएको छैन।
किसानलाई वितरण गर्ने मलको विषयलाई लिएर वडाध्यक्ष अवधेस सहनी र निवर्तमान वडाध्यक्ष राजेश यादव पक्षबीच झडप भएको हो। स्थानीय बीचको झडप नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो।
वडा नम्बर ४ को कार्यालयले मंसिर १५ गतेदेखि १८ गतेभित्रमा नागरिकता उपलब्ध गराउन सूचना जारी गरेको थियो।
सोही सूचनाअनुरूप १८ गते अपरान्ह नागरिकता उलपब्ध गराउन केही स्थानीय वडा कार्यालय पुगेका थिए। तर कार्यालय समयभित्रै स्थानीयहरू वडा कार्यालय पुग्दा सो दिन कार्यालय बन्द भएको भइसकेको थियो।
तोकिएको समयमै कार्यालय पुगेपनि वडा कार्यालय बन्द देखेपछि किसानले आक्रोशित हुँदै मुल गेटमा तालाबन्दी गरेका थिए।
किसानले आक्रोशित हुँदै लगाएको तालाबन्दी खोल्न हालका वडाध्यक्ष पक्षका स्थानीयले मंगलबार वडा कार्यालय पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो। ताला खोल्ने र बन्द गर्ने पक्षबीच दिनभर झडप भएको थियो।
दुवै पक्षका स्थानीय हातमा बाँस र भाटा लिएर उत्रिएका थिए। बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले दिनभर तनावग्रस्त बनेको क्षेत्र साँझ साम्य भएको बताए।
साँझ परेसँगै दुवै पक्षबीच पुनः झडप हुन नदिन उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।