किन समाजमा खुल्दैनन् एचआइभी संक्रमित ?
सन्धिखर्क : अर्घाखाँचीका एचआइभी संक्रमितहरू परिवार र समाजको भेदभावका कारण खुल्न डराउँछन्। स्थानीय तहहरू एचआईभी एड्सका विषयमा उदासिन देखिएको संक्रमितहरूको गुनासो छ।
स्थानीय तहहरूले प्रतिबद्धता जनाएपनि सहयोग नभएको एचआइभी संक्रमित अर्जुन शाहको गुनासो छ। एचआइभी संक्रमितहरू पालिकाहरूको प्राथमिकतामा परेको देखिँदैनन्। सरकारले मिर्गौला, क्यान्सर, हृदयघातलगायतका दीर्घरोगीहरूलाई मासिक ५ हजार दिने घोषणा गरेको छ। यस्ता प्रकारका राहत कार्यक्रममा सरकारले एचआइभी संक्रमितहरूलाई छुटाएको शाहको गुनासो छ। ‘एचआइभी संक्रमितहरू दीर्घरोगी नै हौं। एकचोटी संक्रमित भइसकेपछि निको हुने अवस्था हुँदैन’, उनले भने, ‘एचआइभी संक्रमितहरूमा हेपटाइटिस, टीबी जस्ता थप रोग देखिन्छन्। ३÷४ थरी औषधि खाएर जीवन बाँचिरहेका छौं।’ त्यस्ता व्यक्तिहरूलाई केन्द्र सरकारले विभेद त गरेकै छ स्थानीय सरकारसमेत उदासिन देखिए।
जिल्लामा हालसम्म १ सय ६३ जनामा एचआइभी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। ७६ जना महिला र ८७ जना पुरुष गरी १ सय ६३ जनामा एचआइभी संक्रमण पुष्टि भएकोमा ३४ जनाको मृत्यु भएको छ। सन्देश सहयोग समूहको तथ्यांक अनुसार १ सय २९ जना एचआइभी एड्सका संक्रमितले औषधि सेवन गरिरहेका छन्। कुल संक्रमितमध्ये ८ जना बालबालिकाको मृत्यु भइसकेको छ भने ७ जना बालबालिका औषधि सेवन गरिरहेका छन्।
सन्धिखर्क नगरपालिका–१ तारामार्ग बस्ने पार्वता थापा क्षेत्री २०६४ मा एचआइभी संक्रमित भइन्। उनी नियमित एआरटी प्रयोग गर्छिन्। संक्रमित भएको १५ वर्ष बित्दा पनि उनी स्वस्थ नै छिन्। एचआइभी र एड्सबारे खुलेर कुरा गर्ने उनी एड्स रोग हो, पाप होइन भन्न कत्ति पनि हिचकिचाउँन्नन्।
१५ वर्ष अगाडि संक्रमणले छुँदा मर्नु न बाँच्नुको स्थितिमा उनी पुगिन्। घरमा थाहा पाएपछि एउटै गुन्द्रीमासमेत बस्न दिँदैनथे। भावुक हुँदै भनिन्, ‘एकातर्फ रोग लाग्दा मरिन्छ कि भन्ने डर थियो अर्कातर्फ घरपरिवार र समाजको अपहेलना। के पाप गरिछु भन्ने हुन्थ्यो, मर्न मन लाग्थ्यो।’ घरपरिवारको अपहेलनापछि केही गर्छु भन्ने उद्देश्यसहित उनी सदरमुकाम झरिन्। ‘एचआइभी लागेको थाहा पाएपछि कोठासम्म कसैले दिएनन्। सबैले एड्स लागेकी केटी आई भन्दै घृणाभावले हेर्ने गर्थे।’
घरपरिवारको डर, सामाजिक अपहेलनाको त्रास, अस्मितमाथि प्रहार हुने भयलगायतका कारण संक्रमित खुल्न चाहँदैनन्। अझै पनि मानसिक रुपमा एचआइभी संक्रमणलाई अन्य रोग सरहकै रोग हो भन्ने स्वीकार गर्ने कम नै छन्।
अर्घाखाँचीमा सन्देश सहयोग समूहले संक्रमितहरूलाई आत्मबल बढाउने, परामर्श दिने, औषधोपचारमा सहयोग गर्ने तथा रोजगारीमा जोड्ने काम गरिरहेको छ। सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन शाह पनि एचआइभी संक्रमित छन्। सुरुसुरुमा धेरै कष्टकर जिवन बिताएपनि अहिले सबैकुरा सहज हुँदै गएको उनले बताए। आफुले भोगेको दुःख अन्यले भोग्न नपरोस् भनेर अहिले संस्थामार्फत काम गरिरहेको उनले बताए।
परीक्षणको दायरामा नपुग्दा एचआईभी एड्स नियन्त्रणमा चुनौति देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एआरटी औषधी सेवन गरिरहेका बिरामी ‘भाइरल लोड’ परीक्षण गर्न नआउँदा बिरामीको अवस्था बारे थाहा हुन नसकेको एआरटी काउन्सलर हरी पाण्डेले बताए।