कामबाट निकालिएपछि डोम समुदायको बिचल्ली
रौतहट : नगरमा सरसफाइको काम गर्दै आएका अतिविपन्न डोम समुदायका व्यक्तिलाई कामबाट निकालिएपछि उनीहरुको बिचल्ली भएको छ।
डोम समुदायका व्यक्तिलाई कटहरिया नगरपालिकाले बिनाकारण कामबाट निकालेको उनीहरुको गुनासो छ। कटहरिया नपामा सरसफाईको काम गर्ने शम्भु मलि डोम, विनोद मलि डोम लगाएत ५ जनाभन्दा बढी डोम समुदायका सरसफाइ गर्ने कर्मचारीलाई मेयर अजय प्रकाश जयसवालले बिना कारण कामबाट निकालेका उनीहरुले बताए।
कामबाट निकालेपछि अन्याय परेको भन्दै पुनः काममा लगाउन डोमहरुले आग्रह गरेका छन्। गएको १४ गते बसेको नगरपालिकाको बोर्डको निर्णय अनुसार उनीहरुलाई हटाइएपछि आफूहरुमाथि अन्याय भएको गुनासो उनीहरुको छ।
सरसफाई कर्मचारी शम्भु मलि डोमले ५ वर्षभन्दा बढी नगरपालिकामा काम गर्दै आएकालाई अहिले बिना कारण हटाएको भन्दै दुखेसो पोखे। आफूहरुको परिवार अहिले बिचल्लीमा परेको शम्मु मलि डोमले बताए।
कटहरीया नगरपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य मनोजकुमार जैसवालले नगरपालिकामाथि आर्थिक भार बढेकाले ६४ जना करारका कर्मचारी हटाइएको बताएका छन्।